
बागलुङ, २६ माघ । बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ । उक्त सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको अवस्था छैन । कालोपत्र उप्किएको छ । कतै सडक धुलाम्मे छ ।
बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ । तर बाढी र पहिराले कालोपत्र बगाएको छ । रत्नेचौरबाट बेनीसम्मको छ किलोमिटर सडकको कालोपत्र उप्किएर खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती भएको छ । सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको भए पनि सडकको अवस्थामा खासै सुधार आउन सकेको छैन ।
यस्तै रत्नेचौरबाट खबरासम्मको ४ किलोमिटरमध्ये ३ किलोमिटर सडक २०७६ मा कालोपत्र गरिएको हो । वर्ष दिन नपुग्दै त्यो पनि उप्किएको छ । बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती हुने स्थानीय सुरज सापकोटा बताउँछन् । “गुणस्तरीय काम हुन सकेको छैन”, उनले भने । कुडुँलेमा नाली छ, तर सडक कालोपत्र छैन । रत्नेचौरमा कालोपत्र गरिएको सडकमा नाली मर्मत गर्नुपर्ने अवस्थामा छ ।
बर्सेनि मर्मतसम्भार गर्दैआए पनि पूरै नयाँ बनाउन बजेट अभाव रहेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी कृष्णबहादुर खड्का बताउँछन् । “मर्मतका लागि बर्सेनि न्यून बजेट आउँछ”, उनले भने । रत्नेचौरबाट बेनीसम्मको सडक पूर्वाधार कार्यालयअन्तर्गत रहेको खड्काको भनाइ छ । बाङ्गेचौरबाट रत्नेचौरसम्म सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दै आएको छ ।
“सडक कालोपत्र गर्न बजेट माग गरेका छौँ”, उनले भने । रत्नेचौरबाट बेनीको खबरासम्मको ४ किलोमिटर कालोपत्र गर्ने काम २०७४ देखि थालिएको हो । अझै सो काम सम्पन्न हुन सकेको छैन । १२ करोड १७ लाखको लागतमा कालोपत्रको ठेक्का नागार्जुन देव एण्ड सायर बिएन जेभीले लिएको छ ।
बागलुङका अधिकांश कालोपत्र सडक हस्तान्तरणको प्रक्रियामा छन् । कुँडुलेबाट रत्नेचौरसम्मको सडक २० लाखको लागतमा ठेक्कामार्फत मर्मतसम्भार भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । पछिल्लो समय कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गाबाट पर्वतको जलजला हुँदै बेनी जाने राजमार्ग विस्तार भइरहेकाले ठूला सवारीसाधन वैकल्पिक मार्ग बागलुङ हुँदै रत्नेचौर बेनी पुग्ने गरेका छन् ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




