
सर्लाही, ११ फागुन । सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको ७ महिनामा १ अर्ब बढीको तरकारी निकासी गरेको छ ।
लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट १ अर्ब ६६ लाख ६३ हजार ३ सय ५० रुपैयाँ आर्जन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए ।
उनका अनुसार आव २०७९-०८० को साउनमा २० करोड २ लाख, भदौमा १८ करोड ८५ लाख ५२ हजार, असोजमा २७ करोड ८० लाख ८३ हजार, कात्तिकमा ९ करोड ६३ लाख ७८ हजार, मङ्सिरमा ७ करोड १० लाख ६८ हजार, पुसमा १७ करोड १५ लाख ८८ हजार र माघमा २० करोड ९४ लाख ३७ हजार हाराहारी रकम सङ्कलन भएको थियो ।
चालु आवको ७ महिनामा १ अर्ब ६६ लाख ६३ हजार ३ सय ५० रकम सङ्कलन भएको समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए । जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने समितिले जनाएको छ ।
अध्यक्ष मगरका अनुसार सिन्धुली, रामेछाप, काठमाडौं, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुन्छ ।
लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फूलकोभी, बन्दा कोभी, घिरौँला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाँजर, भिन्डी, परबल, रुख कटहर, फर्सी, धनियाँको पात, कागती, मटरकोसा, प्याज र भेँडेखुर्सानीलगायतका तरकारी निकासी हुन्छ ।
त्यस्तै, सङ्घीय सरकार मातहत रहेको थोक तरकारी बजारको ६ कोठे भवन निर्माणका लागि शिलान्यास गरिएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको ५० लाख ७७ हजार मा सो भवन निर्माण हुनेछ ।
चालु आवको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी समितिले नै भवन निर्माणको काम थालेको अध्यक्ष मगरले जानकारी दिए । लालबन्दी बजारसहित सङ्घ सरकार मातहत ११ वटा बजार रहेका छन् ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



