यात्री पी १ को २०२३ संस्करण आउँदै: रेन्ज बढ्ने, मूल्य नबढ्ने

-



     सफल आवाज    
     फागुन १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ फागुन । नेपाली विद्युतीय मोटरसाइकल ब्राण्ड यात्रीले आफ्नो पी-१ मोडलको २०२३ संस्करण ल्याउने भएको छ । कम्पनीले यो मोटरसाइकला २०२१ को अन्तिम तिर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

अब भने कम्पनीले सोही पी-१ मोडललाई केही फिचर अपग्रेड गरेर बजारमा ल्याउने भएको हो । यसको मुख्य अपग्रेड एक पटकको चार्जमा यसले दिने रेन्जमा हुन लागेको बताइएको छ । यसअघि यो मोटरसाइकलले एक पटकको चार्जमा ११० किलोमिटर रेन्ज दिने गरेकोमा अब यसलाई बढाएर २०० किमि रेन्ज दिनेगरी ल्याउन लागिएको कम्पनीको भनाइ छ ।

यात्रीले सुरुमा केही थान मोटरसाइकल बेचेकोमा यसको अत्यधिक माग बढेपछि केही समयअघि कर्मचारी सङ्ख्या बढाएर उत्पादन बढाउन थालेको छ । माग अनुसार कम्पनीले आपूर्ति गर्न सकेको छैन । अझै पनि ६ महिनाअघि प्रि बुकिङ गरेर ६ महिनापछि मोटरसाइकल हात पर्ने स्थिति छ ।

नेपालको बाटो सुहाउँदो र नेपालमै बनेकोले पनि यसप्रति युवावर्गको आकर्षण बढ्दो रहेको छ । कम्पनीले अहिले सडकमा गुडिरहेका आफ्न १ सयभन्दा धेरै ग्राहकबाट मोटरसाइकको पर्फर्मेन्स र गर्नुपर्ने सुधारबारे सुझाव लिएर त्यसै अनुसार अपग्रेड गर्न लागेको जनाएको छ ।

अन्य विदेशी मोटरसाइयकलको तलनामा सुरुवाती मूल्य अलि बढी भएको भन्ने प्रतिक्रिया आइरहेका बेला अब भने कम्पनीले फिचर र रेन्ज अपग्रेड गर्ने तर मूल्य नबढाउने रणनीति लिएको छ । यस हिसाबले हेर्दा यो मोटरसाइकलप्रति मानिसको धारणा अझै सकारात्मक बन्ने देखिन्छ ।

यसबाहेक कम्पनी इलेक्ट्रिक स्कूटर निर्माणमा पनि लागेको छ । अबको ४ महिना भित्रमा कम्पनीले यात्री पी-२ नामक इलेक्ट्रिक स्कूटर सार्वजनिक गर्ने गरी तयारी गरिरहेको बुझिएको छ ।