ट्रेजरी बिलमार्फत् १५ अर्ब बढी आन्तरिक ऋण उठाउँदै सरकार

-



     सफल आवाज    
     फागुन २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ फागुन । सरकारले १५ अर्ब ४ करोड ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । ट्रेजरी बिलमार्फत् पुरानो ३ अर्ब ४ करोड ५० लाख नवीकरणसहित बाँकी नयाँ गरी १५ अर्ब ४ करोड ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकमार्फत सरकारले १२ अर्ब रुपैयाँ नयाँ ऋण र बाँकीलाई नवीकरण गरी आन्तरिक ऋण उठाउने भएको हो ।

यसका लागि राष्ट्र बैंकले सरकारका लागि २८ दिने ट्रेजरी बिल मार्फत २ अर्ब र ९१ दिनको ट्रेजरी बिलमार्फत १ अर्ब ४ करोड ५० लाख रुपैयाँ ऋण उठाइदिनेछ । यो यसअघि उठाइसकिको ऋणलाई नवीकरण गरिने हो ।

यसबाहेक केन्द्रीय बैंकले ९१ दिने नयाँ ऋण उठाउने छ । उक्त ऋण ५ अर्ब रुपैयाँको हुने र यसको अवधि ९१ दिने ट्रेजरी बिल जारी गरिने बताइएको छ । यसबाहेक १८२ दिन अवधि भएको अर्को ट्रेजरी बिल जारी गरी थप ७ अर्ब बराबरको नयाँ ऋण पनि उठाइने भएको छ ।