प्रहरी महानिरीक्षकमा बसन्त कुँवरकाे बढुवा

-



     सफल आवाज    
     चैत्र १० गते २०७९ मा प्रकाशित



काठमाडाैं, १० चैत । नेपाल सरकार, मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले कुँवरलाई आइजिपीमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए ।

यही चैत ६ गतेको निर्णयले उनी एआइजीमा बढुवा भएका थिए । सरकारले उनलाई एआइजीको फूली लगाएको दुई दिनमै आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी महानिरीक्षकका लागि कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए । कुँवर अङ्क तालिकामा १ नम्बरमा थिए ।

यसपटक भने महानिरीक्षकको नियुक्ति निर्विवाद रूपमा भएको छ । हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकास हसदैछन ।

सक्षम, कमाण्ड गर्न सक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले जो कोहीलाई पनि आइजिपी बनाउन सक्ने ब्यबस्था छ । अब कुँवरको कार्यकाल आगामी २०८१ चैतसम्म हुनेछ ।