
काठमाडौं, १६ चैत । निराला पब्लिकेसन्सले नेपाली लेखक बीएन जोशीको ‘श्रमाटनः नेपाली आप्रवासी कामदारको सम्झना’ कृति अङ्ग्रेजी भाषामा बजारमा ल्याएको छ । यसमा नेपालीले गर्ने वैदेशिक श्रमको कष्टकर र दुःखपूर्ण संसारको यात्राबारे विवरण प्रस्तुत गरिएको छ ।
साहित्यकार अरुण बुढाथोकीद्वारा अनूदित कृति मूल लेखक जोशीको स्मरण पनि हो । त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्नुभएका लेखकले नियमितरूपमा युवा र श्रम आप्रवासनका विषय उठाइरहेका छन् । उनका नेपालका राष्ट्रिय पत्रपत्रिकामा लेखरचना प्रकाशन भइरहेका छन् ।
जोशी विभिन्न देशमा वैदेशिक रोजगारीको कठोर यथार्थ अनुभव गरेपछि पुस्तक लेख्न प्रेरित भए । निजी व्यापार कम्पनी तमसका कार्यकारी निर्देशक जोशीको यसअघि ‘मोडर्न बेली’ (आधुनिक बेली) शीर्षक उपन्यास प्रकाशन भइसकेको छ । पब्लिकेसन्सका नेपाल प्रतिनिधि युयुत्सु आर डी शर्माले कृति लेखकको उत्तेजनापूर्ण जीवित अनुभव रहेको र यसलाई पढेपछि पाठक पनि राम्रोसँग निदाउन नसक्ने विचार व्यक्त गरे।
उनका अनुसार प्रस्तुत अनूदित कृतिमा मूल कृतिको मौलिकता, जीवन्तता र शक्ति कायमै छ । क्यानडामा बसोबास गर्दै आएका पत्रकार एवं अनुवादक बुढाथोकीका यसअघि ‘एज’(किनारा) र प्रिजनर अफ एन आइप्याड(आइप्याडको बन्दी) शीर्षक कविता सङ्ग्रह र ‘सेकेन्ड इन लभः शर्ट स्टोरिज’ (प्रेममा दोस्रोः कथाहरू’ र ‘गोइङ होम’(घर जाँदै) शीर्षक दुई कथा सङ्ग्रह प्रकाशन भइसकेका छन् ।
विशेषगरी अन्तरराष्ट्रिय पत्रपत्रिकामा लेखरचना प्रकाशन गर्दै आएका बुढाथोकीले अनूदित कृति नेपाली आप्रवासी कामदारहरूको प्रायःउपेक्षित अनुभवहरूलाई प्रकाश पार्ने काम भएको जानकारी दिए। “मैले यो शक्तिशाली पुस्तक महामारीको प्रारम्भिक दिनमा अनुवाद गरेको हुँ, यसमा नेपाली आप्रवासी कामदारहरूले संसारभरि सामना गर्ने अन्याय र चुनौतीका बारेमा विश्वलाई बताउन पाउँदा म खुसी छु ।” पुस्तक अब अमेजन र निराला पब्लिकेसन्समा पेपरब्याक ढाँचामा उपलब्ध रहेको बताइएको छ ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



