महासंघको कार्यकाल २ वर्ष बनाऔं: वरिष्ठ उपाध्यक्ष ढकाल

-



     सफल आवाज    
     चैत्र १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ चैैत। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अागामी कार्यकालका तीनै जना वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू सक्षम रहेको बताएका छन ।

नेपाल उद्योग वाणिज्य महासंघको मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदवारलाइ सबै प्रदेशको सहमतिको सन्देश बुझ्न आग्रह गरेका थिए ।

‘बरु ३ वर्षबाट २ वर्ष कार्यकाल बनाऔं’, उनले भने, ‘तपाईहरु तीनै जना नेतृत्वमा पुग्न सक्नु हुन्छ तर यहि अबस्थामा अघि बढ्दा २ जना सक्षम व्यक्ति बाहिरिनुपर्ने निश्चित छ ।’

वरिष्ठ उपाध्यक्ष ढकालले आफ्नो कार्यकालमा सम्भव भएसम्म महासंघको प्रत्येक बैठक फरक फरक प्रदेशमा राख्ने जानकारी दिए। सरकार र नेपाल राष्ट्र बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने समेत बताए ।

‘यो समयमा हामी अत्यन्त संकटमा छौं। आर्थिक संकट केही हाम्रा सरकारी नीति, कोभिड र अन्तर्राष्ट्रिय घटनाक्रमका कारण उत्पन्न भएको हो ।’ उनले भने, ‘तर, पछिल्ला केही समय रेमिटेन्स र पर्यटकको संख्या बढेको छ। यो समयमा सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ ।’

यो समय एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने होइन हातेमालो गरेर संकटबाट पार लगाउने ढकालले बताए । वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए ।

‘पछिल्ला दिनमा केही परिमार्जन त भएको छ । रोजगारी सिर्जना गर्ने अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख एक शक्तिलाई नाफाखोरका रूपमा बुझ्नु गलत हो।’ मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू उपस्थित कार्यक्रममा ढकालले भने, ‘नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार छ तपाईंहरूले वातावरण बनाउनुस्।’