
भरतपुर, २५ जेठ । दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुरको चम्पानगरमा साइलेज उद्योग सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–१३ चम्पानगरमा रहेको उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले पशु आहारा साइलेज उत्पादन गर्न सुरु गरेको हो ।
दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर बनाइने दानालाई साइलेज भनिन्छ । पोषणतत्व कायमै रहने गरी बनाइने साइलेज गाईबस्तुका लागि निकै लाभदायिक मानिन्छ । साइलेजलाई मेसिन (साइलेज ब्यालर)ले नै प्लाष्टिकमा प्याकिङ गर्छ । गाई भैँसीका लागि साइलेज पौष्टिक आहार हो ।
उद्योगमा भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखा र उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाको ५०÷५० प्रतिशत लगानी छ । कूल रु ४२ लाख ३५ हजार लागतमा स्थापना भएको उद्योगको बुधबार भरतपुर–१३ का वडाध्यक्ष प्रकाश दवाडीले उद्घाटन गरे। उनले साइलेज उद्योग स्थापनाले यस क्षेत्रका किसानले लाभ प्राप्त गर्ने बताए।
गुणस्तरीय दूध उत्पादनसँग गाई भैसी पनि स्वस्थ्य रहने भएकाले साइलेजको प्रयोग गर्न किसानलाई प्रोत्साहित गर्ने उनको भनाइ छ । सुक्खा याममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष होमनाथ सुवेदीले बताए। उनले महँगो मूल्यमा पराल किनेर खुवाउने बाध्यता किसानलाई उद्योग स्थापनापश्चात् राहत हुने विश्वास व्यक्त गरे।
यहाँका किसानले अहिले पनि विभिन्न ठाउँबाट साइलेज दाना ल्याउने गरेका छन् । “अब स्थानीयस्तरमै उत्पादन हुदा यसले यहाँका किसानलाई लाभ मिल्ने छ । अहिले पशुपालनमा दाना, आहाराको लागत बढ्दा उत्पादन लागत पनि बढेको छ । हामी प्रतिकेजी साढे ११ रुपैयाँको दरले वितरण गर्ने छौँ जुन बजार मूल्यभन्दा सस्तो हो”, उनले भने।
विसं २०४२ देखि दुग्ध सङ्कलनसँगै पशुपालक किसानका लागि काम गर्दै आएको यो सहकारीले साइलेजको विस्तारका लागि मकै खेतीमा समेत किसानलाई सहयोग गर्ने कार्यक्रमको समेत तयारी गरेको छ । चितवन जिल्ला दूधमा आत्मनिर्भर छ ।
यहाँका सहकारीले पछिल्लो दिनमा व्यावसायिकरुपमा किसानको क्षमता बढाउन काम गर्दै आएका छन् । यहाँबाट काठमाडौँ, पोखरालगायतका सहरमा दूध निर्यात हुने गरेको छ । भरतपुर महानगरपालिकाले पनि आफ्नो बजेटबाट प्रतिलिटर रु तीन अनुदान दिने गरेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




