पोखराबाट मुक्तिनाथसम्म केवलकार, डीपीआरका विषयमा लगानी बोर्डले थप अध्ययन गर्दै

-



     सफल आवाज    
     पौष ३ गते २०७७ मा प्रकाशित


प्रतिकात्मक तस्वीर


काठमाडौं, ३ पुस । पोखराबाट मुक्तिनाथसम्म केवलकार बनाउनका लागि तयार भएको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) माथि लगानी बोर्डले छलफल शुरु गरेको छ । कामलाई गति दिन डीपीआर माथि थप अध्ययन गर्न थालिएको बोर्ड श्रोतले बताएको छ ।

लगानी बोर्डको सहजीकरणमा नेपालको निजी क्षेत्र र विदेशी लगानीकर्ताको पहलमा विश्वकै लामो केबलकारका रूपमा मुक्तिनाथ केबलकार आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार पारिएको थियो ।

मुक्तिनाथ दर्शन प्रालिले केबलकार कसरी र कस्तो बनाउने भन्ने पूर्ण विवरण समेटेको डीपीआर बुझएको हो । उक्त डीपीआरमाथि अहिले लगानी बोर्ड र सरोकारवाला निकायका प्राविधिक तथा पदाधिकारी सम्मिलित टोलीले अध्ययन गर्दैछन् ।

बोर्ड श्रोतले दिएको जानकारी अनुसार डीपीआर अनुसार कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म ८०.१५ किलोमिटर लामो केबलकार बन्नेछ । प्रतिसेकेन्ड सात मिटरको गतिमा हुइँकिने केबलकारका डिब्बाले मुक्तिनाथसम्म पुग्न केबल तीन घण्टा ३६ मिनेट लगाउने छ ।

समुद्र सतहदेखि करिब एक हजार मिटरको उचाइबाट सुरु हुने केबलकार तीन हजार सात सय मिटरको उचाइसम्म पुग्नेछ । यसमा १७ वटा खण्ड बनाइने छ भने १९ वटा स्टेसन हुनेछन् । तयार पारिएको डीपीआरमा बोर्डका विज्ञहरुले केहि संशोधन गर्न सक्ने बताइएको छ ।