अटोमोवाइल क्षेत्रका समस्या हटाउन प्रधानमन्त्री ओली सकारात्मक

-



     सफल आवाज    
     श्रावण ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ साउन । प्रधानमन्त्री ओलीले अटोमोवाइल क्षेत्रका समस्या समाधानका लागि सकारात्मक भएकाे बताएका छन् ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलसंगकाे भेटमा प्रधानमन्त्री ओलीले साे कुरा बताएका नाडाले जानकारी दिएकाे छ ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त रुपमा चर्चा गरे । उनले सरकारका बिभिन्न कार्यबिधीहरुको कारण अटोमोवाइल ब्यवसायीहरु आफनो व्यवसाय सञ्चालन गर्न निरुत्साहित हुदै गएकोले नेपालको अटोमोवाइल व्यवसायलाई माथी उठाउन आवश्यक नीतिगत सुझावहरु पेश गरेको बताए ।

छलफलमा अध्यक्ष चौधरीले विशेषगरी अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन बैकहरुबाट निजी सवारी साधनको Hire Purchase Loan प्रवाह गर्ने प्रकियामाLoan to Value Ratio को हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने बताए ।

चालु पुँजी कर्जा मार्ग दर्शन २०७९ लागु भएपछि लागु भएको मितिभन्दा अगाडी कर्जा लिएकाहरुलाई त्यो व्यवस्था लागु नहुने तर यो लागु भएको मितिपछी कर्जा लिएकाहरुलाई मात्रै चालुपुजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने बताए ।

अध्यक्ष चाैधरीले नेपालमा विद्युतिय सवारी साधनहरुको आयात बढ्दै गएको भएपनि सोही अनुरुप राजमार्ग तथा सहरहरुमा चार्जिङ्ग स्टेशनहरुको निर्माण हुन नसकेको भन्दै नेपालमा विद्युतिय सवारी साधनहरुका सम्बन्धमा सरकारले स्थायी प्रकृतीको नीति नियम ल्याउनु पर्ने जिकिर गरे ।

दुई पाँग्रे सवारी साधनहरुको सन्दर्भमा पनि पैठारीकर्ताले डिलरलाई विल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई विल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्थाका लागिसमेत आग्रह गरे । 

नेपालमा आयात भईरहेका दुई पाङग्रे सवारी साधनहरु मध्ये करिब ९८५ भन्दा बढि आयात भारतमा निर्मित दुई पाङग्रे सवारी साधनहरु भएको तर हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज संग भारतमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज अनुसार नभई फरक साइजको भएको बताए ।

यसले सवारी संचालनको क्रममा अगाडीको सकरमा ठोकिने भएको कारणले चालकको सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको हुँदा इम्बोस्ड नम्बर प्रयोगको हकमा भारतमा लागु भएको साइजको इम्बोस्ड नम्बर प्लेट वा हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेट मध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गरि दिन समेत अनुरोध गरे । 

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोवाइल उद्योगहरुको समस्या र चुनौतीहरु बारे जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री ओलीले सवारी साधन, टायरट्यूव, व्याट्री तथा लुव्रिकेण्टस उद्योगहरुको बर्तमान अवस्थाका सम्बन्धमा विशेष चासो र जिज्ञासा राख्दै प्रस्तुत समस्याहरुको समाधानका लागि आवश्यक पहलकदमी लिइने आश्वासन दिए ।

उक्त छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।