
काठमाडौँ, १६ साउन । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रालयमा कुरा गर्दै अर्थमन्त्री पौडेलले यसको निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका हुन ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिँहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग उनले भने – घरेलु तथा साना उद्योगको महत्व भनेकै देशका सबै जिल्ला, सबै पालिकामा यसको विस्तार हुनु हो। याे क्षेत्रले ठूलो संख्यामा रोजगारी दिएको छ । यसलाई अझै विस्तार गर्न सक्ने सम्भावना छ । यो क्षेत्र स्वरोजगारीका लागि पनि महत्वपूर्ण माध्यम हो । त्यसैले घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने सरकारको स्पष्ट नीति छ । त्यसकारण यो क्षेत्रसँग सम्बन्धित कानुन, नियम, निर्देशिकामा के कस्ता व्यवस्था गर्नुपर्छ त्यसमा सरकारले ध्यान दिन्छ ।
सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताउँदै उनले भने – “अहिले हामीले उत्पादनको अवस्था के छ, रोजगारीको अवस्था के छ, समस्याहरु के छ एकपछि अर्को जानकारी लिने र छलफल गर्ने काम भइरहेको छ । हाम्रो कोशिस भनेकै तपाइहरुलाई आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्न सक्ने परिस्थिति निर्माण गर्ने कुरामा हाम्रो ध्यान केन्द्रित छ । त्यसमा हामी केही न केही गर्छौं ।”
सरकारको ध्यान सबैलाई उत्साहकासाथ आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्नमा रहेको भन्दै उहाँले “तपाइहरुको विश्वासको जरामा पानी हाल्ने काम सरकारको हो । घरेलु तथा साना उद्योग व्यवसायीहरुले ऐन, कानुनमा सुधार गर्न चाहेको बुँदाहरुको सम्बन्धमा तथा औद्योगिक व्यवसाय ऐनमा के कस्ता परिमार्जन गर्ने लिखित रुपमा सुझाव दिनुहोला ।”
औद्योगिक तथा लगानी प्रवद्र्धन कोष सञ्चालन कार्यविधिलाई छिटो अगाडि बढाइने आश्वासन दिंदै अर्थमन्त्री पौडेलले भने – “अन्तराष्ट्रिय प्रदर्शनी, निर्यात गृह सञ्चालन गर्ने कुरामा व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने छलफल गरौं ।”
महासंघका अध्यक्ष उमेश प्रसाद सिँहले मुलुकको अर्थतन्त्रको संवाहकका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योगहरु विभिन्न कालखण्डमा विभिन्न समस्याहरुबाट प्रताडित हुँदै आएको बताउँदै पछिल्लो कालखण्डमा २०७२ को विनासकारी भूकम्प, २०७६ देखि कोरोना महामारी आदिका कारण यस्ता उद्योगहरु धरापमा परेकोतर्फ ध्यानाकर्षण गराए ।

लघु, घरेलु तथा साना उद्योगहरुमा पर्ने यसको असरले समग्र देशको अर्थतन्त्रलाई नै प्रभाव पार्ने, रोजगारी सिर्जनामा गतिरोध उत्पन्न हुने, मुलुकको राजश्वमा कमी आउने तथा उद्यमी स्वयंलाई चाहि बैंकको ब्याज भुक्तानीमा प्रत्यक्ष असर पु-याउने गरेको उनले बताए।
अहिलेको मुख्य समस्या नै साना उद्योगीको ऋण भएकाले विगतमा सरकारले साना तथा महिला उद्यमीलाई लक्षित गरी ल्याइएको सहुलियतपूर्ण र पुनरकर्जाको व्यवस्थालाई यथावत कायम राख्न महासंघका अध्यक्ष सिंहले अनुरोध गरेका थिए ।
विगतको कोभिड काल देखि नै लघु, घरेलु, साना तथा महिला उद्यमीहरुको प्रवद्र्धनात्मक कार्यक्रमहरु पर्याप्त मात्रामा हुन नसकेकोले उद्यमीहरुमा निराशा छाएकोले विभिन्न कोषहरुलाई एकिकृत गरी तयार पारिएको औद्योगिक तथा लगानी प्रवद्र्धन कोष सञ्चालन कार्यविधिलाई तत्काल अन्तिम रुप प्रदान गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनेतर्फ उनले ध्यानाकर्षण गराए ।
महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले कोरोनापछि अहिले देखिएको आर्थिक मन्दी र लामो समयदेखि साना उद्योगमैत्री कार्यक्रमहरुका साथै नीति र ऐन आएर लागु हुन नसक्दा लघु घरेलु तथा साना उद्योगीहरु धेरै नै विस्थापित भएको बताए ।
उद्योगीहरु छरपस्ट अवस्थामा सबै ठाउँमा रहेको भन्दै उहाँले भन्नुभयो “पालिकामा घरेलु उद्योग ग्राम बनाउने भनेर अर्थमन्त्रालयले बजेट पनि विनियोजन ग-यो तर कार्यान्वयन हुन सकेको छैन । त्यसलाई गति दिनुपर्ने अवस्था छ ।”
सो भेटमा महासंघका सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरु शोभा गुरुङ, राजेन्द्रमान श्रेष्ठ, हरिहर थापा, महासचिव डम्बर प्रसाद रेग्मी, महासंघ बागमती प्रदेशका अध्यक्ष तारानाथ चौलागाई, काठमाडौं जिल्ला अध्यक्ष सीता कार्की, महासंघका कार्यकारिणी सदस्य विनोददेव पन्त, नारायण कार्की लगायतको सहभागिता रहेको थियो ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




