अमेरिकी कर प्रभावित व्यवसायहरूलाई सहयोग गर्ने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

-



     सफल आवाज    
     चैत्र १९ गते २०८१ मा प्रकाशित



टोकियो, १९ चैत । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले मङ्गलबार अमेरिकी करबाट प्रभावित व्यवसायहरूका लागि करिब एक हजार ‘परामर्श केन्द्र’ स्थापना गर्ने घोषणा गरेका छन् । साथै उनले करहरूबाट छुट पाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता पनि जनाए ।

टोकियो वासिङ्टनको सबैभन्दा नजिकको आर्थिक र रणनीतिक मित्रराष्ट्र हो । यहाँका कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूला लगानीकर्ता हुन् र करिब दश प्रतिशत जापानी रोजगारहरू अटो क्षेत्रसँग जोडिएका छन् ।

ट्रम्पले बुधबार कुन देशमा कुन–कुन कर लगाइने घोषणा गर्ने बताए । र सबै व्यापारिक साझेदारहरू यसको निशानामा रहेको चेतावनी दिए ।

उनले अप्रिल ३ मा संयुक्त राज्य अमेरिकामा निर्माण नभएका सबै अटोमा २५ प्रतिशत कर लगाउने पनि बताए ।

इसिबाले मङ्गलबार अमेरिकी आयातमा प्रतिशोधात्मक भन्सार शुल्क लगाउने बारेमा बोलेनन् तर उनले आफ्नो सत्तारूढ गठबन्धनसँग ‘प्रतिक्रियात्मक उपायहरूको विवरण’ मा छलफल गर्ने बताए।