समग्र बैंकिङ क्षेत्र हाक्ने प्रथम महिला

-



     सफल आवाज    
     चैत्र ३० गते २०८१ मा प्रकाशित



काठमाडाैं। नेपालमा संचालित बैंक तथा वित्तीय संस्थाकाे नियामक निकाय नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नर भएर डा. निलम ढुंगाना तिम्सिनाले इतिहास रचेकी छिन् । यतिबेला उनी देशकै समग्र बैंकिङ क्षेत्र हाक्ने प्रथम महिलाका रूपमा चर्चित छिन् । हालसम्म नेपाल राष्ट्र बैंककाे डेपुटी गभर्नर बनेर त्यो तहमा कोहि पनि पुगेका छैनन् । महाप्रसाद अधिकारी गभर्नरको कार्यकाल पूरा गरेर बाहिरिएपछि सरकारले उनलाई कामू गभर्नरका रुपमा काम गर्न नेतृत्व सुम्पेको हो ।

पछिल्लो दशक मुलुकमा थुप्रै आर्थिक सामाजिक परिवर्तनहरु भए । राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारीले मुलुकको नेतृत्व गरिन् । प्रधानन्यायाधीश शुसीला कार्की बनिन् । न्यायालयदेखि संसदसम्म धेरै महिलाहरू नेतृत्वमा पुगे । त्यस्तै अहिले नेपाल राष्ट्र बैंकमा पनि महिलाले नेतृत्व गर्ने अवसर जुर्यो । समयक्रमसगैं वित्तीय क्षेत्रको सबैभन्दा ठूलो पदमा पुग्ने महिला बन्न सफल भइन् नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमल्सिना ।

निलम ढुंंगाना २९ फागुन २०७७ मा केन्द्रीय बैंकको डेपुटी गभर्नर बन्न सफल भएकी थिइन् । निलम भन्दा अघि कुनैपनि महिला यो पदमा पुगेका थिएनन् । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट निलम्बन गर्ने निर्णय गरेपछि निमित्त गभर्नरको रुपमा समेत निलम ढुंगानाले केन्द्रीय बैंकको नेतृत्व गरेकी थिइन् । महिलाका रुपमा वित्तीय क्षेत्रको इतिहासमा नै सबैभन्दा ठूलो पदमा पुग्ने निलम ढुंगाना संघर्षले नै यहाँसम्म पुगेकी हुन् । उनको लगनशीलता र महेनतले नै उनलाई यो पदसम्म पुर्याएको हाे ।

२४ मंसिर २०२५ मा जन्मेकी निलमका बुबा माध्यमिक विद्यालय निरीक्षक र आमा शिक्षिका थिए । माविनि बुबाको जहाँ–जहाँ सरुवा हुन्थ्यो, निलम पनि त्यही क्षेत्रको स्कुल पढ्न जान्थिन् । प्राथमिक तहको अध्ययन पूरा गर्न धेरै स्कुल चाहारेकी उनले झापा दमकको हिमालय माविबाट २०४१ सालमा एसएलसी उतीर्ण गरेकी थिइन ।

उनले दमक क्याम्पसबाट जिल्लाकै उत्कृष्ट नतिजासहित आईकम उतीर्ण गरेकी थिइन। त्यसपछि स्नातक तहको अध्ययनका लागि उनी विराटनगरको महेन्द्र मोरङ क्याम्पस पुगिन । स्नातक तह प्रथम वर्ष अध्ययन गर्दागर्दै विराटनगरमै निलमको विवाह भयो । त्याे समय उनका श्रीमान् पनि शिक्षण पेशामै थिए ।

पहिलो सन्तानको रुपमा छोरी जन्मिएपछि पारिवारिक जिम्मेवारी पनि उनकै काँधमा थपियाे । उनको करियरमा असर नपरोस् भनेर श्रीमानले पढाइलाई निरन्तरता दिन प्राेत्साहन गरे । निलम सानै हुँदा माविनि बुबालाई भेट्न उनको घरमा मानिसहरुको आउजाउ हुन्थ्यो । आउनेमध्ये अधिकांशले जागिर मिलाइदिन अनुरोध गर्थे । यो सब देखेर हुर्केकी निलमलाई लाग्यो, बुबाले पक्कै मलाई पनि जागिर मिलाइ दिनुहुन्छ । एसएलसीपछि बुबालाई भनेर जागिर खाने सोच मनमनै बनाएकी थिइन् ।

२०५२ साल तिरको कुरा हो । निलमका श्रीमानले पढाउने विद्यार्थीहरूले नेपाल राष्ट्र बैंकमा जागिर खुलेको सूचना देखाए । सडकपेटीको पुस्तकको थुप्रोमा राष्ट्र बैंक प्रवेशका लागि तयारी गर्न सहयोग गर्ने एउटा ‘गाइड’ पनि थियो । सडकपेटीमा किनेको त्यही ‘गाइड’ पछि गएर आफ्नो जीवनकै ‘गाइड’ बनेको उनले बताउने गरेकी छिन् ।

२०५४ सालमा राष्ट्र बैंकमा खुलेको सहायक निर्देशकको परीक्षा उनले पहिलो पटकमै उत्तीर्ण गरिन् । सहायक निर्देशकको जिम्मेवारी विदेशी विनिमय विभागबाट सुरु भयाे । त्यहाँ एक वर्ष काम गरिन् । त्यसपछि उनको विराटनगर सरुवा भयो । विराटनगरबाट फेरि काठमाडौं सरुवा भयो । त्यसपछि सपरिवार काठमाडौं आइन् । केही वर्ष बैंक सुपरिवेक्षण विभागमा पनि काम गरिन् ।

२०५९ सालमा राष्ट्र बैंकबाटै उनलाइ अध्ययनका लागि अष्ट्रेलिया जाने अवसर जुर्यो । अध्ययन पूरा गरेर आएपछि उपनिर्देशकमा बढुवा खुल्यो । उनले त्यहा नाम निकालिन् । ४ वर्ष अनुसन्धान विभागमा काम गरेकी निलमको २०६६ सालमा निर्देशकमा बढुवा भयो । निर्देशक भएपछि पनि उनले बैंक सुपरिवेक्षण विभाग र अनुसन्धान विभागमा कार्य गरिन ।

२०७१ सालमा राष्ट्र बैंक उच्च व्यवस्थापनमा नेपाल राष्ट्र बैंकको पोखरा निर्देशकमा महिलालाई पठाउने कुरा उठ्यो । कसलाई पठाउने भन्ने विषय टुंगो लागेकै थिएन । उनले आफैले रोजेर पोखरा पुगिन् । निलम क्षेत्रीय कार्यालयको नेतृत्व गर्ने पहिलो व्यवस्थापक महिला समेत बनिन् ।

१४ महिना पोखरा कार्यालयमा काम गर्दा धेरै कुरा सिकेको उनको अनुभव छ । राष्ट्र बैंक प्रवेश गरेको २० वर्षपछि अर्थात् २०७४ सालमा उनलाई राष्ट्र बैंकले कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दियो । त्यही वर्ष उनी कार्यकारी निर्देशक भइन् ।

आन्तरिक लेखा परीक्षण विभाग, राष्ट्र ऋण व्यवस्थापन विभागमा रहेर उनले लामै समय काम गरिन् । राष्ट्र ऋण व्यवस्थापन विभागको कार्यकारी निर्देशक रहेकै बेला उनले प्रथम महिला डेपुटी गभर्नर बनेर इतिहास रच्न सफल भएकी भइन् । राष्ट्र बैंककाे गभर्नर बन्ने भनिएका आधा दर्जन ब्यक्तिहरूकाे सुचीमा ब्यवस्थापनमा बिज्ञ मानिएकी हालका कायममुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाकाे नाम पनि अग्रस्थानमा छ ।