एएफसी महिला यु-२० एसियन कप-नेपालले साउदीलाई हरायो

-



     सफल आवाज    
     श्रावण २३ गते २०८२ मा प्रकाशित



काठमाडौं, २३ साउन । नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटमा जित हासिल गरेको छ ।

भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’को दोस्रो खेलमा नेपालले साउदी अरबलाई १–० गोलले हराउँदै जित हासिल गरेको हो ।

योसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो ।

यस जितसँगै नेपालले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी एसियन कपमा छनोट हुने सम्भावनालाई कायमै राखेको छ । त्यस्तै, यस हारसँगै साउदी भने एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालको जितमा सुक्रिया मियाँले गोल गरिन् । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाइन् । अब नेपालले आइतबार उत्तर कोरियासँग खेल्नेछ ।