
काठमाडौं, २३ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
नाडाले बजेटका केही नीतिगत परिवर्तनले गाडीको मूल्य बढ्ने भन्दै चिन्ता जनाएको छ भने सडक पूर्वाधारमा गरिएको भारी लगानीको स्वागत गरेको छ।
कर नीतिले गाडी महँगिने, स्थिर नीतिको माग
नाडाका अनुसार सरकारले विद्युतीय सवारी साधन (EV) मा लाग्दै आएको अन्तःशुल्क हटाएर ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ लगाउने नयाँ व्यवस्था गरेको छ। यो व्यवस्था र अन्य करका दरहरूका कारण विद्युतीय र इन्धन (पेट्रोल/डिजेल) दुवै प्रकारका सवारी साधनको मूल्य बढ्ने नाडाको निष्कर्ष छ।
यसअघि मोटरको पिक पावर (Peak Power) का आधारमा भन्सार महसुल तय हुँदै आएकोमा अबदेखि कारोबार मूल्यको आधारमा कर निर्धारण गर्ने निर्णय सरकारले गरेको छ। नाडाले भने सवारी साधनको मूल्य स्थिर राख्नका लागि नेपाली रुपैयाँमा भन्दा डलरका आधारमा कर निर्धारण गर्नु व्यावहारिक हुने सुझाव दिएको छ।
“नेपाल विश्व व्यापार संगठन (WTO) को सदस्य भएको दुई दशक भइसकेको र विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै गरेको सन्दर्भमा सरकारले थप कर वृद्धि नगर्ने नाडाको अपेक्षा थियो।” — विज्ञप्ति
सडक पूर्वाधार बजेटको स्वागत
सवारी साधनको कर वृद्धिप्रति असन्तुष्टि जनाए पनि नाडाले सडक पूर्वाधारका लागि विनियोजित बजेटको खुलेर प्रशंसा गरेको छ। नेपालको इतिहासमै पहिलोपटक सडक पूर्वाधार निर्माणका लागि झण्डै ३ खर्ब रुपैयाँ विनियोजन हुनु र अधुरा सडकहरू समयमै पूरा गर्ने सरकारको प्रतिबद्धता आउनु सकारात्मक रहेको नाडाले जनाएको छ। द्रुत गतिको सडक पूर्वाधार निर्माणले समग्र अटोमोबाइल व्यवसायलाई नै गतिशील बनाउने व्यवसायीहरूको अपेक्षा छ।
समग्रमा बजेट सन्तुलित
नाडाले आगामी वर्षको बजेट केही महत्त्वाकांक्षी देखिए पनि यसको कार्यान्वयन प्रभावकारी हुन सके देशको अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरेको छ। अटोमोबाइल क्षेत्रका चुनौतीका बाबजुद समग्रमा यो बजेट सन्तुलित र भविष्य निर्माणमुखी रहेको नाडाको ठहर छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




