सवारी साधनबाट कालो सिसा हटाउने विषयमा नाडा र ट्राफिक प्रहरीबीच छलफल

-



     सफल आवाज    
     असार १५ गते २०८३ मा प्रकाशित



काठमाडौं, १५ असार । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सवारी साधनहरूमा प्रयोग भइरहेको कालो सिसा (टिन्टेड ग्लास) हटाउने सम्बन्धमा विस्तृत छलफल भएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेसँग भेट गरी यस विषयमा छलफल गरेको हो।

अपराधिक गतिविधि नियन्त्रणका लागि कालो सिसा हटाउनुपर्ने: ट्राफिक प्रमुख काफ्ले

छलफलका क्रममा ट्राफिक प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासमा समेत नभएका कालो सिसा भएका सवारी साधनहरू विभिन्न आपराधिक क्रियाकलापमा प्रयोग भइरहेको पाइएकाले सवारी व्यवस्थापन ऐन २०४९ को व्यवस्था अनुसार यसलाई हटाउन लागिएको जानकारी दिनुभयो।

उहाँले थप स्पष्ट पार्दै भन्नुभयो:

  • स्टिकर निषेध: सवारी साधनको अगाडिको सिसामा कालो सिसा वा कुनै पनि प्रकारको स्टिकर टाँस्न पाइने छैन।
  • अनिवार्य अनुमति: सवारी साधनमा कालो सिसा प्रयोग गर्नैपर्ने अवस्थामा सरकारको अनिवार्य अनुमति लिनुपर्नेछ।
  • आयातमा रोक: सवारी साधन पैठारीकर्ताहरू (आयातकर्ता) ले आफ्ना उत्पादक कम्पनी (म्यानुफ्याक्चरिङ कम्पनी) बाटै कालो सिसा भएका सवारी साधनहरू आयात नगर्न आग्रह गरिएको छ। साथै, खरिदकर्ताहरूलाई पनि यसबारे पहिल्यै जानकारी गराउन अनुरोध गरिएको छ।

पहिलो चरणमा कालो स्टिकर हटाउन नाडाको सुझाव

छलफलमा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सवारी साधनमा बाहिरबाट कालो स्टिकर (फिल्म) प्रयोग भइरहेको र यसलाई हटाउन प्राविधिक रूपमा खासै समस्या नरहेकाले, पहिलो चरणमा यस्ता स्टिकर हटाउने प्रक्रियामा जानु उपयुक्त हुने सुझाव दिनुभयो।

त्यस्तै, नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले कम्पनीबाटै कालो सिसा जडान भई आएका सवारी साधनहरूको संख्या खासै धेरै नभएकाले, दोस्रो चरणमा त्यस्ता सवारीको संख्या एकिन गरी कालो सिसा हटाउन सकिने बताउनुभयो।

सवारी साधनबाट कालो सिसा हटाउने विषयमा तत्काल छलफल गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई लिखित अनुरोध गरेपछि यो बैठक बसेको हो। उक्त छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योति लगायत अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।