बेनी हाइड्रोपावरकाे आईपीओ निष्काशन भदौ २२ देखि

-



     सफल आवाज    
     भाद्र ९ गते २०८३ मा प्रकाशित



काठमाडौं,९ भदौ । बेनी हाइड्रोपावर लिमिटेडले आगामी २०८३ भदौ २२ गतेदेखि सर्वसाधारणका लागि ८ लाख ६३ हजार २ सय कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री खुल्ला गर्न लागेको बताइएकाे छ ।

ताेकिएकाे अवधिमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो निष्काशन छिटोमा भदौ २५ गते र ढिलोमा असोज ५ गतेसम्म बन्द हुने तालिका रहेको कम्पनीकाे सुचनामा जनाइएकाे छ ।

आयोजनाको लगानी फिर्ता हुने साधारण अवधि ५.७८ वर्ष रहेको छ । एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको यस आईपीओमा लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ’मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।