बाढी प्रभावितका लागि नाडाद्वारा १० लाख सहयोग

-



     सफल आवाज    
     भाद्र १८ गते २०८३ मा प्रकाशित



काठमाडौं, १८ भाद्र । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले रसुवा, केरुङ तथा ठिमुरे क्षेत्रका बाढी प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख नगद सहयोग हस्तान्तरण गरेको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी उक्त रकमको चेक हस्तान्तरण गरेको हो।

गत २०८३ भाद्र १० गते केरुङ, रसुवा, ठिमुरेलगायतका क्षेत्रमा आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित भएका नागरिकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग रकम प्रदान गरिएको नाडाले जनाएको छ।

अर्थमन्त्रीसँगको भेटघाट तथा चेक हस्तान्तरण कार्यक्रममा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, उपाध्यक्ष विक्रम सिंघानिया,महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल, सहकोषाध्यक्ष, निलमणि पाठक लगायतको उपस्थिति थियो ।

प्रत्यक्ष राहत सामग्रीसमेत वितरण

नगद सहयोगका साथै नाडाको टोलीले बाढी प्रभावित क्षेत्रमै प्रत्यक्ष रूपमा पुगेर नागरिकहरूको तत्कालीन आवश्यकता पहिचान गर्दै खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीहरू वितरण गरिरहेको छ। विपद्‌को यस कठिन घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै प्रभावित परिवारहरूको पीडामा साथ दिनु संस्थाको कर्तव्य रहेको नाडाको भनाइ छ।