कोरला नाका बन्दै नेपाल-चीन व्यापारको मुख्य आधार(आलेख)

- राजस्व सङ्कलनमा व्यापक उछाल

-



     सुन्दरकुमार थकाली/रासस    
     भाद्र २५ गते २०८३ मा प्रकाशित



मुस्ताङ, २५ भदौ । उत्तरी छिमेकी मुलुक चीनसँगको व्यापारिक गतिविधिमा नेपाल–चीन उत्तरी कोरला नाका यतिबेला मुख्य र भरपर्दो विकल्पका रूपमा उक्लिएको छ। लगातारको बाढीपहिराका कारण तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा ठप्प बनेपछि उत्तरी सीमाका अन्य नाकाको भारसमेत सम्हाल्दै कोरला नाका व्यापक चलायमान बनेको छ।

केही वर्ष अघिसम्म उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्र सीमित रहेको यो नाकामा अहिले सडकमार्ग ढाक्ने गरी मालवाहक कन्टेनर र विद्युतीय सवारी साधन (इभी) को बाक्लो उपस्थिति छ। चाडपर्व नजिकिँदै गर्दा चीनबाट आयात हुने सामग्रीको प्रमुख मार्ग नै कोरला बनेपछि मुस्ताङ भन्सार कार्यालय परिसर यतिबेला निकै गुल्जार र व्यस्त बनेको छ।

कोभिडको बन्ददेखि मुख्य नाकासम्मको यात्रा

कोभिड महामारीअघि असार र भदौ महिनामा सञ्चालन हुने अल्पकालीन व्यापार मेलामा मात्र सीमित कोरला नाका महामारीका कारण लगातार चार वर्ष पूर्ण रूपमा बन्द भएको थियो। २०८० कात्तिक २७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणपश्चात् उपल्लो मुस्ताङीका लागि बाह्रै महिना खुला गरिएको थियो। पछि तल्लो मुस्ताङका बासिन्दालाई पनि सीमापार पास (नेचुङ–लिजी) उपलब्ध गराई आउजाउ सहज बनाइयो।

सुरुवाती दिनमा घरायसी प्रयोजनका सामग्री खरिदमा सीमित रहेको र वार्षिक रू. १० देखि १५ करोड मात्र राजस्व उठ्ने कोरला नाकाले वि.सं. २०८२ भदौ ३१ पछि भने नयाँ मोड लियो। तातोपानी र रसुवागढीमा पहिरो र बाढीले असर गरेपछि कोरलालाई वैकल्पिक मार्गका रूपमा पूर्ण सञ्चालनमा ल्याइयो। त्यसयता भन्सारमा कर्मचारी थपिनुका साथै पूर्वाधार र व्यापारिक गतिविधिले तीव्रता पाएका हुन्।

रसुवागढीको बाढी र कोरलातर्फ ‘डाइभर्ट’

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी नाका ठप्प भएपछि चिनियाँ भूमि केरुङमा रोकिएका १७६ भन्दा बढी मालवस्तुका कन्टेनरहरू कोरला नाकातर्फ ‘डाइभर्ट’ भएका छन्।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार डाइभर्ट गरिएका कन्टेनरहरू कोरला आइपुग्ने क्रम जारी छ। “अहिले भन्सारको सडक किनारमा २०० भन्दा बढी कन्टेनर र भन्सार यार्डमा लोड गरिएका १५० भन्दा बढी मालवाहक गाडी खडा छन्,” चुडालले भन्नुभयो, “आगामी दसैँ–तिहारलाई लक्षित गरी तयारी लत्ताकपडा, शृङ्गारका सामग्री, औद्योगिक कच्चा पदार्थ, फलफूल तथा खाद्य पदार्थ बोकेका कन्टेनरहरू कोरला हुँदै नेपाल भित्रिरहेका छन्।”

अहिले मालसामान लिनका लागि चीनको लिजी हाटबजार प्रवेश गर्न दैनिक ५० भन्दा बढी कन्टेनरहरू सीमा पार गर्ने गरेका छन्।

राजस्व सङ्कलनमा व्यापक उछाल

व्यापारिक चाप बढेसँगै मुस्ताङ भन्सारको राजस्व सङ्कलनमा निकै ठूलो कायापलट भएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २० गतेसम्मको अल्पकालीन अवधिमै कुल रू. ७८ करोडभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ।

भदौ १० गते रसुवागढी नाका बन्द हुनुअघिका ४० दिनमा रू. ५२ करोड ८० लाख राजस्व उठेकामा त्यसपछिको १० दिनमै थप रू. २६ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ।

  • कारोबार र राजस्वको तुलनात्मक चित्र:
    • राजस्व सङ्कलन: भदौ १० अघि दैनिक औसत रू. १ करोड ३० लाख राजस्व सङ्कलन हुने गरेकामा भदौ १० पछिका दिनमा दैनिक औसत रू. २ करोड ८८ लाखभन्दा बढी सङ्कलन भइरहेको छ।
    • इभी (विद्युतीय गाडी) जाँचपास: अघिल्लो ४० दिनमा १६३ वटा (दैनिक ४-५ वटा) इभी जाँचपास भएकामा पछिल्लो १० दिनमै १३० वटा (दैनिक औसत १५ वटा) इभी भन्सार जाँचपास भएका छन्।
    • कन्टेनर जाँचपास: अघिल्लो ४० दिनमा १३३ कन्टेनर जाँचपास भएकामा पछिल्लो १० दिनको अवधिमै ८८ वटा कन्टेनरको भन्सार जाँचपास भइसकेको छ।

वार्षिक लक्ष्य नाघ्ने अनुमान गत आर्थिक वर्ष २०८२/८३ मा कोरला नाका हुँदै रू. १४ अर्ब ४० करोडको मालवस्तु आयात र रू. २० करोड ५० लाखको सामग्री चीनतर्फ निर्यात भएको थियो। सो अवधिमा ३,२२३ वटा विद्युतीय गाडी र १,८७३ वटा कन्टेनरको जाँचपास हुँदा रू. ६ अर्ब ९२ करोड राजस्व सङ्कलन भएको थियो।

चालु आर्थिक वर्षमा सामान्य अवस्थामा रू. ९ अर्ब राजस्व उठाउने लक्ष्य राखिएकामा रसुवा र तातोपानी नाकाको व्यापार समेत कोरलातर्फ मोडिएपछि उक्त लक्ष्य सहजै नाघ्ने भन्सार प्रशासनको आकलन छ। कुनै समय शून्यप्रायः रहने उपल्लो मुस्ताङको कोरला नाका यतिबेला रोजगारी, व्यापार र राष्ट्रिय राजस्व सङ्कलनका दृष्टिले मुलुककै प्रमुख व्यापारिक नाकाका रूपमा स्थापित भइरहेको छ।