
नारायणगढ (चितवन), १ असोज। चितवनको नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजनाले बर्खायाममा पश्चिम चितवनका किसानलाई २४सै घण्टा नारायणी नदीबाट पानी तानेर सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ । आयोजनाका पम्प २४सै घण्टा सञ्चालन गर्दा मासिक रु ४२ लाखसम्म विद्युत् खर्च हुने गरेको छ ।
बर्खायाममा पश्चिम चितवनका चार हजार ७०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन नारायणी नदीबाट दुई वटा पम्पमार्फत निरन्तर पानी तान्ने गरिएको आयोजनाले जनाएको छ । नारायणी लिफ्ट–खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख कुलराज चालिसेका अनुसार आयोजनाअन्तर्गत खगेरी सिँचाइ प्रणाली र नारायणी लिफ्ट सिँचाइ प्रणाली सञ्चालनमा छन् ।
नारायणी नदीबाट पम्पमार्फत पानी तानेर पश्चिम चितवनतर्फको नहरमा पठाइने तथा पूर्वी चितवनको खगेरी खोलामा रत्ननगर–९ टिकौलीको कपरखोरी नजिक बाँध बाँधेर ल्याइएको खगेरी नहरमार्फत पनि सिँचाइ सुविधा उपलब्ध गराइएको उहाँले बताउनुभयो । उहाँका अनुसार खगेरी नहरमा बाँध बाँधेर पानी ल्याइने भएकाले नहर मर्मत तथा झारपात सफा गर्नेबाहेक ठूलो खर्च हुँदैन । तर नारायणी लिफ्टबाट पानी तान्दा विद्युत्मा ठूलो खर्च हुने गर्दछ ।
दुवै पम्प निरन्तर सञ्चालन गर्दा प्रतिमहिना करिब रु ४२ लाखसम्म विद्युत् महसुल लाग्ने उहाँले बताउनुभयो । चालिसेका अनुसार बर्खायाममा असार १२ गतेदेखि असोज ३० गतेसम्म पानीको आवश्यकता रहेमा नहर निरन्तर सञ्चालन गरिन्छ । उहाँले भन्नुभयो, “सिँचाइको मागअनुसार नहर चलाउँदै आएका छौँ । पानी परेका बेला पम्प सञ्चालन गर्नुपर्दैन । तर पानी नपरेर खेतमा सिँचाइ आवश्यक भए निरन्तर पानी छाड्छौँ ।” उहाँले हिउँदमा पनि गहुँ, मकैलगायत बालीमा सिँचाइ आवश्यक परे मागअनुसार नहर सञ्चालन गरिने जानकारी दिनुभयो ।
वार्षिक रूपमा विद्युत् महसुलमा करिब रु दुई करोड खर्च हुने उहाँले बताउनुभयो । उहाँका अनुसार नारायणी लिफ्ट र खगेरी सिँचाइ प्रणालीबाट भरतपुर महानगरपालिकाको गीतानगर, पटिहानी, जगतपुर, पार्वतीपुर, मङ्गलपुर, गुञ्जनगर र शारदानगरलगायत पश्चिम चितवनका क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । नहरमा पानी छाडेपछि पश्चिम चितवनका पोखरी, इनार र धारामा पानी आउने गर्दछ ।
यही पानीको सहायताले पश्चिम चितवनका किसानले धान रोपाइँ गर्दै आएका छन् । चालिसेका अनुसार जग्गा प्लटिङ र सहरीकरण बढ्दै जाँदा कतिपय स्थानमा नहर अतिक्रमण भएको छ । भरतपुर महानगरपालिकाको सहरी क्षेत्र भएर बग्ने नहरको जग्गा विभिन्न व्यक्ति, सङ्घसंस्था, समूह तथा सरकारी निकायले वर्षौँदेखि अतिक्रमण गर्दै आएको उहाँले बताउनुभयो । खगेरी सिँचाइ प्रणालीबाट तीन हजार ९०० हेक्टर र नारायणी लिफ्ट सिँचाइ प्रणालीबाट चार हजार ७०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।
आयोजनाअन्तर्गत ‘बी’ मूल नहर २२ किलोमिटर, ‘सी’ नहर १४ किलोमिटर र लिङ्क नहर ५०० मिटर लम्बाइको रहेको छ । खेतीयोग्य जमिन प्लटिङ हुँदै जाँदा नहरबाट सिँचाइ हुने क्षेत्रसमेत घट्दै गएको उहाँले बताउनुभयो । आयोजनाको नारायणी लिफ्टमा विसं २०७९ मा नयाँ पम्प जडान गरिएको हो ।
पम्प सञ्चालन तथा नियन्त्रणका लागि कम्प्युटर प्रणाली प्रयोगमा रहेको छ । कन्ट्रोल रुमबाट कम्प्युटर प्रणालीमार्फत तथा आवश्यकताअनुसार म्यानुअल रूपमा पनि पम्प सञ्चालन गर्न सकिने व्यवस्था रहेको चालिसेले जानकारी दिनुभयो । यस वर्ष आएको बाढीले पम्प सञ्चालनमा कुनै असर नपारेको आयोजनाले जनाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




