
काठमाडाैं। सुदूरपश्चिमको पहाडको काखमा रहेको डोटीकाे एउटा गाउँ, जहाँ विकासका पूर्वाधार र अवसरको पहुँच सहज थिएन। त्यही भूगोलमा जन्मेर हुर्किएका डा. गुणाकर भट्ट आज नेपालको आर्थिक नीति र विकास योजनासँग जोडिएको महत्त्वपूर्ण जिम्मेवारीमा छन्। नेपाल राष्ट्र बैंकमा लामो समय आर्थिक अनुसन्धान, मौद्रिक नीति र वित्तीय क्षेत्रको नियमनमा काम गरिसकेका उनी अहिले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष छन्। जाे देशकै बिकास निमार्णकाे याेजनाकाे मार्गचित्र काेरिरहेका छन।
डोटीको गाउँबाट सुरु भएको उनको यात्रा केवल एउटा पदसम्म पुग्ने कथा मात्र होइन। अध्ययन सँगैं अध्यापनलाई निरन्तरता दिने र अर्थतन्त्रका जटिल विषयसँग जोडिँदै सार्वजनिक सेवामा अघि बढ्ने यात्राको कथा पनि हो।
गाउँको परिवेश, पिताकाे प्रेरणा
डा. भट्टको बाल्यकाल डोटीको ग्रामीण परिवेशमा बित्यो। उनका पिता लीलाधर भट्ट शिक्षक थिए। घरमा शिक्षा र देश–विदेशका समाचारप्रति चासो राख्ने वातावरण थियो। पिताबाट प्राप्त प्रेरणा र अध्ययनप्रतिको लगावले उनको शैक्षिक यात्रालाई अघि बढाउन भरपुर सहयोग गर्यो।
गाउँकै केदारेश्वर माध्यमिक विद्यालयबाट एसएलसी पूरा गरेपछि उनले कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गरे। तर उनको जीवन विद्यार्थीको भूमिकामा मात्र सीमित रहेन। अध्ययनलाई निरन्तरता दिँदै उनले शिक्षण पेसालाई पनि आफ्नो यात्राको हिस्सा बनाए।
२०४८ सालतिर, किशोरावस्थामै उनले डोटीको सीमचौरस्थित पोखरी गाउँको अमर प्राथमिक विद्यालयमा अध्यापन सुरु गरेका थिए। त्यसपछि कैलालीमा अध्ययन गर्दै अत्तरियाको पुष्पाञ्जली स्कुल र धनगढीको ग्यालेक्सी स्कुलमा पढाए। काठमाडौंमा उच्च शिक्षा लिँदासमेत उनको शिक्षण यात्रा जारी रह्यो।
पढ्दै पढाउँदै अघि बढेको त्यो समय उनको जीवनको एउटा महत्त्वपूर्ण अध्याय थियो। शिक्षणले उनलाई जीविकोपार्जनको बाटो मात्रै दिएन, ज्ञान र समाजसँग जोडिने अवसर पनि दियो।

शिक्षणबाट बैंकिङ र आर्थिक नीतिको यात्रामा
डा. भट्टको बैंकिङ यात्रा नेपाल राष्ट्र बैंकबाट सुरु हुनुअघि कृषि विकास बैंकसँग जोडिएको थियो। उनी २०५६ सालतिर कृषि विकास बैंकमा अधिकृतका रूपमा प्रवेश गरेका थिए। त्यसपछि नेपाल राष्ट्र बैंकको प्रतिस्पर्धात्मक प्रक्रियामा सहभागी भई २०५७ असार १ गते अधिकृतका रूपमा सेवा प्रवेश गरे।
नेपाल राष्ट्र बैंकमा उनको लामो व्यावसायिक यात्राको सुरुवात आर्थिक अनुसन्धान विभागबाट भयो। त्यहाँबाट सुरु भएको जिम्मेवारी क्रमशः विभिन्न विभाग र नेतृत्व तहसम्म विस्तार हुँदै गयो।
उनले राष्ट्र बैंकको आर्थिक अनुसन्धान, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन, भुक्तानी प्रणाली र मौद्रिक व्यवस्थापनजस्ता क्षेत्रमा काम गरे। २०७५ कात्तिकमा विशिष्ट श्रेणीमा बढुवा भएका उनी कार्यकारी निर्देशक बने। राष्ट्र बैंकको प्रवक्ताका रूपमा पनि उनले जिम्मेवारी निर्वाह गरे।
मौद्रिक नीति निर्माण र आर्थिक अनुसन्धानसँग सम्बन्धित कामले उनलाई नेपालको वित्तीय क्षेत्रका नीतिगत विषयसँग नजिकबाट जोड्यो। राष्ट्र बैंकमा रहँदा हासिल गरेको अनुभव उनको व्यावसायिक परिचयको महत्त्वपूर्ण हिस्सा बन्यो।
आर्थिक नीतिभन्दा पर समाजसँगको सम्बन्ध
डा. भट्टको परिचय बैंकिङ प्रशासन र अर्थशास्त्रमा मात्रै सीमित छैन। उनको साहित्यिक रुचि र सुदूरपश्चिमको साहित्यिक गतिविधिसँगको सम्बन्धलाई पनि उजागर गरेको छ।
कैलालीमा अध्ययन गर्दादेखि नै साहित्यिक गतिविधिमा संलग्न भएका भट्ट सुदूरपश्चिमाञ्चल साहित्य समाजको स्थापनासँग जोडिएका थिए। संस्थाको नामकरणमा उनको प्रस्ताव महत्त्वपूर्ण थियो र उनी संस्थापक सचिवसमेत थिए।
साहित्य र समाजसँगको यो सम्बन्धले उनको जीवनको अर्को पाटो देखाउँछ—आर्थिक तथा प्रशासनिक जिम्मेवारीसँगै भाषा, साहित्य र सांस्कृतिक गतिविधिमा पनि रुचि राख्ने व्यक्तित्वको पाटो।
राष्ट्र बैंकबाट राष्ट्रिय योजना आयोगसम्म
नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष सेवा गरेपछि डा. भट्टले कार्यकारी निर्देशक पदबाट अवकाश पाए। त्यसपछि २०८२ चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गर्यो।
राष्ट्र बैंकमा रहँदा उनको कार्यक्षेत्र मौद्रिक नीति, वित्तीय क्षेत्रको नियमन, अनुसन्धान र बैंकिङ प्रणालीसँग जोडिएको थियो। राष्ट्रिय योजना आयोगको जिम्मेवारी भने मुलुकको समग्र विकास योजना र नीतिगत प्राथमिकतासँग सम्बन्धित छ। यस अर्थमा उनको व्यावसायिक यात्रा वित्तीय क्षेत्रको संस्थागत अनुभवबाट राष्ट्रिय विकास योजनाको जिम्मेवारीसम्म आइपुगेको छ।
स्वर्ण पदकदेखि अमेरिकाको विद्यावारिधिसम्म
डा. भट्टले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) अध्ययन गरे। उनले एमबीएमा सर्वोत्कृष्ट स्थान हासिल गर्दै स्वर्ण पदक प्राप्त गरेका थिए।
त्यसपछि अमेरिकाको म्यासाचुसेट्स राज्यस्थित विलियम्स कलेजमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाए। त्यहाँबाट स्नातकोत्तर अध्ययन पूरा गरी नेपाल फर्किएपछि उनले नेपाल राष्ट्र बैंकमा आफ्नो व्यावसायिक यात्रालाई अघि बढाए।
उच्च अध्ययनको खोज त्यतिमै रोकिएन। पछि उनी अमेरिकाको मिशिगनस्थित वेन स्टेट युनिभर्सिटी पुगे र अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) हासिल गरे। यसरी गाउँको विद्यालयबाट सुरु भएको उनको शैक्षिक यात्रा अन्तर्राष्ट्रिय विश्वविद्यालयसम्म पुग्यो।

गाउँको स्मृतिदेखि विकासको जिम्मेवारीसम्म
कुराकानीका क्रममा डा. भट्टले आफूले एसएलसी दिएको समयको गाउँ र त्यसपछि पनि गाउँमा विकासका पूर्वाधार पर्याप्त रूपमा विस्तार हुन नसकेको विषयलाई स्मरण गरे। पहाडी बस्तीबाट तीव्र बसाइँसराइ, गाउँमा अवसरको कमी र विकासका पूर्वाधार सहरकेन्द्रित हुनुजस्ता विषयप्रति उनले चासो व्यक्त गरेका छन्।
उनको भनाइमा, राज्यका सुविधा बोलिदिने व्यक्ति नभएका सर्वसाधारणसम्म पुग्नुपर्छ। ग्रामीण क्षेत्रका नागरिकको पहुँच र अवसरसँग जोडिएका यस्ता विषयले उनको गाउँसँगको सम्बन्ध र विकासप्रतिको चासोलाई देखाउँछन्।
आज डोटीको गाउँमा हुर्किएका त्यही व्यक्ति राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा छन्। उनको यात्रालाई हेर्दा शिक्षा, अध्ययन, संस्थागत अनुभव र सार्वजनिक सेवाका विभिन्न चरण एकअर्कासँग जोडिएको देखिन्छ।
डा. गुणाकर भट्टको कथा कुनै चमत्कारिक सफलताको दाबी होइन। यो ग्रामीण परिवेशबाट सुरु भएको, अध्ययन र कामको निरन्तरतासँगै अघि बढेको व्यावसायिक यात्रा हो। राष्ट्र बैंकमा बिताएको लामो समय र अहिलेको राष्ट्रिय योजना आयोगको जिम्मेवारीले उनलाई नेपालको आर्थिक तथा विकास नीतिसँग जोडेको छ।
सुदूरपश्चिमले जन्माएको यो शालीन अर्थशास्त्रीको यात्रा अब राष्ट्रिय विकास योजनाको फराकिलो जिम्मेवारीसँग जोडिएको छ। उनको अनुभव र ज्ञानले मुलुकको विकास योजनामा कस्तो योगदान दिन्छ भन्ने कुरा भने आगामी काम र परिणामले देखाउनेछ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




