कन्या क्याम्पस पोखरामा छन्द विमर्श

-



     सफल आवाज    
     असाेज १४ गते २०८३ मा प्रकाशित



पोखरा, १४ असोज । कन्या क्याम्पस पोखरा, मानविकी सङ्कायको आयोजनामा ‘छन्द विमर्श’ कार्यक्रम सम्पन्न भएको छ ।

‘स्रष्टासँग विद्यार्थी’ शीर्षक कार्यक्रमको दोस्रो शृङ्खलाका रूपमा आयोजित उक्त कार्यक्रमका प्रमुख वक्ता कवि शिव त्रिपाठीले छन्दको व्यापकताका बारेमा चर्चा गर्दै नेपाली कवितामा यसको प्रयोगका रूप र प्रभावबारे आफ्ना धारणा राखेका थिए ।

नेपाली कवितामा शास्त्रीय वार्णिक, मात्रिक, लोक छन्द तथा मुक्त लयको प्रयोग भएको सन्दर्भ जोड्दै छन्दका दृष्टिले मूलतः वार्णिक र लोक छन्दको लोकप्रियता बढी भएको उनले बताएका थिए ।

हिन्दीका सापेक्षमा नेपाली कवितामा धेरै छन्दको प्रयोग भएको तथा वाचनका दृष्टिले पनि नेपाली कविहरू अब्बल रहेको उनको धारणा थियो ।

आफूले वाचन गरेका छन्दका कविता सुनेर एक श्रोता डिप्रेसनबाट मुक्त भएको सुन्न पाउँदा आफूलाई गर्व लागेको अनुभव पनि उनले सुनाएका थिए ।

छन्दका बारेमा धारणासँगै कविता वाचन र केही छन्दको गायनका लागि केही लयढाँचा प्रस्तुत गर्दै सहभागीलाई गाउन लगाएर कार्यक्रमलाई कार्यशालाका रूपमा पनि उनले अघि बढाएका थिए । छन्दका बारेमा विद्यार्थी यशोदा राना, क्याम्पस प्रमुख सुरेसकुमार मानन्धर, शिक्षकहरू पुष्पराज कोइराला, अर्चना यादवलगायतले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा आफ्ना धारणा राख्दै क्याम्पस प्रमुख सुरेसकुमार मानन्धरले कार्यक्रमबाट आफू प्रभावित भएको र छन्दका बारेमा रुचि जागेको बताउँदै यस्तो कार्यक्रम आयोजना गरेकामा मानविकी सङ्कायलाई धन्यवाद ज्ञापन गरेका थिए ।

मानविकी सङ्काय, कन्या क्याम्पस पोखराका संयोजक तथा यस कार्यक्रमका संयोजक डा. भूमिराज बस्ताकोटीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । सङ्कायले पहिलो शृङ्खलामा साहित्यकार सरुभक्तको चुली उपन्यासमाथि विमर्श गरेको थियो ।

कार्यक्रममा शिक्षक तथा विद्यार्थी गरी करिब ८० जनाको उपस्थिति रहेको थियो ।