कोरला नाका व्यापार प्रभावित, १५० भन्दा बढी कन्टेनर रोकिए

-



     सफल आवाज    
     असाेज १६ गते २०८३ मा प्रकाशित



मुस्ताङ, १६ असाेज। भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला सडक खण्ड ठाउँ-ठाउँमा अवरुद्ध भएपछि उत्तरी सीमावर्ती कोरला नाकाबाट हुने आयात-निर्यात व्यापार पूर्ण रूपमा ठप्प भएको छ। सडक पहिरोले बिग्रिएपछि चीनबाट आयात गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर र दुई सयभन्दा बढी विद्युतीय सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरलानाकास्थित न्हेचुङ भन्सार यार्डमा रहेका करिब १५० कन्टेनरमध्ये ९० प्रतिशतको भन्सार जाँचपास भइसकेको छ। बाँकी कन्टेनरको जाँचपास पनि दुई दिनभित्र सकिने भए पनि सडक अवरुद्ध भएकाले सामान गन्तव्यतर्फ पठाउन सकिएको छैन।

यसैगरी दसैँलाई लक्षित गरी भित्र्याइएका करिब २०० विद्युतीय सवारीसाधन पनि जोमसोम र आसपासका क्षेत्रमा रोकिएका छन्। तीमध्ये १०० भन्दा बढी सवारीसाधन विगत पाँच दिनदेखि जोमसोमबाट तल झर्न नसकेको भन्सार कार्यालयले जनाएको छ।

तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि व्यापारीहरूले वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गर्दै आएका थिए।

दैनिक ३० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको यो नाकाबाट दसैँ लक्षित लत्ताकपडा, दैनिक उपभोग्य वस्तु, औद्योगिक कच्चापदार्थ, फलफूल र विद्युतीय सामान आयात भइरहेको थियो। सडक अवरुद्ध हुँदा चाडपर्वको मुखमा आपूर्ति प्रणाली र राजस्व संकलन दुवै प्रभावित बनेका छन्।