हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद लम्बियो, मंसिर १० सम्म भर्न पाइने

-



     सफल आवाज    
     कार्तिक २२ गते २०८३ मा प्रकाशित



काठमाडौं, २२ कात्तिक। हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि कात्तिक ११ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने अवधि लम्ब्याएको छ।

अब प्रभावित क्षेत्रका बासिन्दाहरूले आउँदो मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन्। तर, मागभन्दा बढी आवेदन परेमा सोअघि नै जुनसुकै समयमा सूचना जारी गरी बिक्री बन्द गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीले कात्तिक ११ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको थियाे । जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोहीअन्तर्गत प्रथम चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि शेयर खुला गरिएको हो।

स्थानीय र वैदेशिक रोजगारीका लागि कति कित्ता ?

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १६ लाख ९० हजार कित्ता (१६ करोड ९० लाख रुपैयाँ बराबर) साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ। जसमध्ये:

  • अति प्रभावित क्षेत्र: दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाका लागि १० लाख १४ हजार कित्ता।
  • कम प्रभावित क्षेत्र: बिगु र कालिन्चोक गाउँपालिकाका अन्य वडाहरूका स्थायी बासिन्दाका लागि बाँकी ६ लाख ७६ हजार कित्ता।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता (४ करोड २२ लाख ५० हजार रुपैयाँ बराबर) शेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि छुट्याइएको छ।

आवेदन सीमा र म्याद

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

  • वैदेशिक रोजगारीमा रहेका नेपाली: आवेदन दिने अवधि छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म रहेको छ।
  • स्थानीय बासिन्दा: आवेदन दिने अवधि छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गतेसम्म तोकिएको छ।

आयोजना विवरण र वित्तीय स्थिति

कम्पनीले दोलखामा दुईवटा जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ: १. साँगु खोला जलविद्युत् आयोजना (२० मेगावाट): कुल लागत ३ अर्ब ६५ करोड १७ लाख रुपैयाँ (प्रतिमेगावाट लागत १८ करोड २५ लाख रुपैयाँ) रहेको यो आयोजनाले २०८२ असोज २५ गतेदेखि विद्युत् उत्पादन गरिरहेको छ। लगानी फिर्ता हुने अवधि ६.०९ वर्ष (डिस्काउन्टमा ९.०८ वर्ष) रहेको छ।

२. साँगु खोला १ जलविद्युत् आयोजना (५.५ मेगावाट):

कुल लागत १ अर्ब १५ करोड ४ लाख रुपैयाँ (प्रतिमेगावाट लागत २० करोड ९१ लाख रुपैयाँ) रहेको यस आयोजनाले २०८२ साउन ८ गतेदेखि उत्पादन सुरु गरिसकेको छ। लगानी फिर्ता हुने अवधि ६.२९ वर्ष (डिस्काउन्टमा ९.५६ वर्ष) छ।

दुवै आयोजनाको विद्युत् अनुमतिपत्रको अवधि २८ वर्ष बाँकी छ। इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ, जसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको दर्शाउँछ।

आवेदन कसरी दिने ?

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट दरखास्त फाराम (शुल्क रु २) लिएर आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरूका साथै मेरो शेयर अनलाइन प्रणालीमार्फत सजिलै आवेदन दिन सक्नेछन्।