तिहारको सांस्कृतिक महत्व उजागर हुन नसकेको संस्कृतिविद्हरुको भनाइ

-



     सफल आवाज    
     कार्तिक २२ गते २०८३ मा प्रकाशित



काठमाडौं, २२ कात्तिक । सबै पशुलाई सम्मान गर्ने तिहारको सांस्कृतिक महत्व अझै पनि सही रुपमा जनसमक्ष उजागर हुन नसकेकाले यसको अध्ययन गरी प्रचारप्रसार गर्न संस्कृतिविद्हरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् ।

नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यम पञ्चकका अवसरमा धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले आयोजना गरेको तिहार र देउसी, भैलोको सांस्कृतिक महत्व विषयक अन्तरक्रिया कार्यक्रममा गुठी संस्थानका अध्यक्ष एवं संस्कृतिविद् डा गोविन्द टण्डनले काग, कुकुर, गाई, गोरु, हलि, बलि राजा, यमराज, यमुना, दाजुभाइ, दिदीबहिनीको पूजा हुने चाडपर्वको सांस्कृतिक महत्व अहिलेका नवपुस्तामा आउन नसकेको बताउनुभयो ।

यस्ता पक्षको अध्ययन गरी जनसमक्ष प्रस्तुत गर्न सञ्चारजगत्ले काम गर्नुपर्ने उहाँको भनाइ थियो । अहिलेजस्तो सञ्चारको विकास नभएको प्राचीन युगमा कागको बोलीकै आधारमा शुभ, अशुभ खबर थाहा पाउने विद्या अहिले लोपोन्मुख अवस्थामा पुगेको पनि संस्कृतिविद् टण्डनले सुनाउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा डा नवराज कट्टेलले साधना र प्रकृतिको उचारचढाव एवं सबै प्राणीलाई मानवीय व्यवहार गरी सम्मान गर्नुपर्छ भन्ने भाव बोकेका पर्वको मर्म नयाँ पुस्तालाई दिने गरी पत्रकारिता क्षेत्रबाट सन्देश प्रवाह हुनुपर्ने बताउनुभयो । यस्ता पर्वले नेपालीका बीच सामाजिक एवं पारिवारिक सम्बन्धको सुधारमा पनि काम गरेकाले यसको प्रवद्र्धनमा सरोकार भएका सबैले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

पूर्वमन्त्री एवं संस्कृतिविद् डा कान्ता भट्टराईले काग, कुकुर र गाई, गोरुको महत्व पनि अहिलेको पुस्ताले बिर्सँदै जान थालेकाले यसको सही सन्देश दिनुपर्नेमा जोड दिनुभयो । कागको नरम र कर्कश आवाजकै आधारमा के सन्देश दिन खोजेको हो भनी जान्ने पुस्ताको पनि कमी हुँदै गएको उहाँले सुनाउनुभयो ।

संस्कृतिविद् प्रा डा ध्रुवप्रसाद भट्टराइले काग नैतिक शिक्षा सिकाउने पंक्षी भएपनि त्यस आधारमा अझै चर्चा हुन नसकेको बताउनुभयो । काग न्याय गर्ने पंक्षीका रुपमा रहेकाले काग न्याय भनी प्राचीनकालदेखि नै चर्चा हुँदै आएको पनि उहाँले सुनाउनुभयो । तिहार शब्द निर्माणका विभिन्न मतमध्ये तिथि र बार मिलेर तिहार भएको विषय बढी सान्दर्भिक हो कि भन्ने आफ्नो मत पनि संस्कृतिविद् भट्टराईले सुनाउनुभयो ।

सांस्कृतिक अभियानकर्मी कल्पना मगरले नेपाली मौलिक संस्कृति वैज्ञानिक दृष्टिमा अनुसरणयोग्य भएपनि पछिल्लो पुस्तामा त्यसको महत्वका बारेमा जानकारी नहुने अवस्था रहेकाले सरोकार भएका निकाय र अधिकारीको यसतर्फ ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

रेक्जोनका अध्यक्ष पूर्णप्रसाद मिश्रले विगत वर्षदेखि नै यमपञ्चक अर्थात् र देउसी, भैलो संस्कृतिका विषयमा संस्कृतिविद्, धर्मशास्त्रविद् आदिलाई बोलाएर बहस चलाउन सुरु गरेको र यसपटक दोस्रो वर्ष यसलाई निरन्तरता दिएको बताउनुभयो । आगामी वर्षदेखि अझै बृहत् रुपमा कार्यक्रम गर्ने उहाँको प्रतिबद्धता छ ।

कार्यक्रममा प्रणवानन्द आश्रमका स्वामी रुद्रानन्द, रेक्जोनका कार्यवाहक महासचिव जयराम सापकोटालगायतले तिहारको महत्वका विषयमा आगामी वर्ष अझै धेरै विषय प्रकाश पारिने प्रतिबद्धता जनाउनुभएको थियो ।

रेक्जोनले आजैदेखि धार्मिक, सांस्कृतिक पत्रकारिताको संस्थागत विकास गर्न पुस्तकालय एवं स्रोत केन्द्र स्थापनाका लागि देउसी, भैलो कार्यक्रम सुरु गरेको उपाध्यक्ष एवं कार्यक्रम संयोजक डा अलका लम्साल रेग्मीले जानकारी दिनुभयो