
पोखरा, २ मंसिर। एभरेस्ट मिडिया हाउसको छैटौँ वार्षिकोत्सवको अवसरमा पोखरामा बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको आयोजनामा आगामी मंसिर १२ गते शनिबार रक्तदान कार्यक्रम हुन लागेको हो ।
‘नियमित रक्तदान गरौँ, जीवन बचाउने अभियानमा सहभागी बनौँ’ भन्ने मूल नाराका साथ पोखरा–५, पस्र्याङस्थित रेडियोको प्राङ्गणमा कार्यक्रम हुनेछ । बिहान ७ बजेदेखि सुरु हुने कार्यक्रम मध्याह्न १२ बजेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक तथा वरिष्ठ समाचारवाचक शिशिर पौडेलले जानकारी दिए ।
एभरेस्ट मिडिया हाउसका अनुसार १७ वर्ष उमेर पूरा भएका, ६५ वर्ष ननाघेका, कम्तीमा ४५ केजी तौल भएका तथा अघिल्लो पटक रक्तदान गरेको ९० दिन पूरा भएका व्यक्तिले रक्तदान गर्न सक्नेछन् । महिलाको हकमा मासिक रक्तस्राव भएको छैटौँ दिनपछि रक्तदान गर्न सकिने जनाइएको छ ।
त्यस्तै, मेजर अपरेसन नगरेका तथा क्यान्सर वा मिर्गौला प्रत्यारोपण नगराएका र रक्तचाप सामान्य भएका व्यक्तिलाई पनि रक्तदानमा सहभागी हुन मिडिया हाउसले आग्रह गरेको छ । रक्तचापको औषधि सेवन गरिरहेका व्यक्तिको रक्तचाप सामान्य अवस्थामा रहेको भए रक्तदान गर्न सकिने जनाइएको छ ।
मिडिया हाउसका सम्पादक दीपेन्द्र श्रेष्ठले रक्तदान आफू स्वस्थ रहेको प्रमाणित गर्ने माध्यम मात्र नभई अरूको जीवन बचाउने सामाजिक अभियानसमेत भएको बताए । शरीरमा पुराना रक्तकोशिका नष्ट हुने र नयाँ बन्ने प्रक्रिया निरन्तर चलिरहने भएकाले रक्तदानबाट खेर जाने रगतको सदुपयोग गर्न सकिने उनको भनाइ छ । एक जनाले गरेको रक्तदानबाट तीन जनासम्मको जीवन बचाउन सहयोग पुग्ने भएकाले रक्तदानको महत्व ठूलो रहेको उनले बताए ।
एभरेस्ट मिडिया हाउसले स्थापना कालदेखि नै वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नियमित रक्तदानको महत्व र फाइदाबारे सचेतना फैलाउँदै आएको छ ।
कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहने आयोजकले जनाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




