
काठमाडौं, ४ मंसिर। रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा भएको उच्च वृद्धिका कारण चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको बाह्य क्षेत्रका सूचकहरू निकै सबल देखिएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
गत असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको कुल सञ्चिति तीन महिनामा ६.८ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९ करोड पुगेको छ, जुन १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।
रेमिट्यान्स र शोधनान्तर बचतमा सुधार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.२ प्रतिशतले बढेर ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ भने अमेरिकी डलरमा विप्रेषण १६.७ प्रतिशतले बढेर ४ अर्ब ६० करोड पुगेको छ। यस अवधिमा वैदेशिक रोजगारीका लागि १ लाख २१ हजार ८७९ जनाले अन्तिम श्रम स्वीकृति र ८२ हजार ३६९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
रेमिट्यान्सको उच्च आप्रवाह, पर्यटन आयमा सुधार र वैदेशिक शिक्षामा बाहिरिने रकम घटेका कारण शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँले बचतमा रहेको छ। गत वर्ष सोही अवधिमा शोधनान्तर बचत २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँ थियो। त्यस्तै, चालु खाता पनि २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँ बचतमा छ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा पर्यटन आय ३२.७ प्रतिशतले बढेर २५ अर्ब ५२ करोड पुगेको छ भने भ्रमण व्यय १५.७ प्रतिशतले घटेर ५४ अर्ब ४६ करोडमा झरेको छ। वैदेशिक अध्ययनका लागि बाहिरिने रकम १४.७ प्रतिशतले घटेर ३६ अर्ब ६५ करोड कायम भएको छ। यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १३७.६ प्रतिशतले बढेर ४ अर्ब १४ करोड रुपैयाँ भित्रिएको छ।
निर्यात बढे पनि व्यापार घाटा ५ खर्ब ३३ अर्ब पुग्यो बाह्य सूचक सकारात्मक रहे पनि वैदेशिक व्यापारको असन्तुलन भने कायमै छ। तीन महिनामा कुल वस्तु निर्यात ५७ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। चीनतर्फको निर्यात २५९.७ प्रतिशत, भारततर्फ ६१.७ प्रतिशत र अन्य मुलुकतर्फ ३३.८ प्रतिशतले बढेको छ। विशेषगरी भटमासको तेल, पोलिष्टर धागो, पार्टिकल बोर्ड, जिंक सिट र पाम तेलको निर्यात उच्च छ।
यद्यपि, आयातको आकार ठूलो हुँदा व्यापार घाटा ३४.७ प्रतिशतले बढेर ५ खर्ब ३३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कुल वस्तु आयात ३८.२ प्रतिशतले बढेर ६ खर्ब ४७ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो। पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपुर्जा, रासायनिक मल, कच्चा भटमासको तेल र मेसिनरीको आयात बढ्दा भारतबाट ४१.७ प्रतिशत, चीनबाट २८ प्रतिशत र अन्य मुलुकबाट ३९.७ प्रतिशतले आयात वृद्धि भएको छ। निर्यात–आयात अनुपात भने १५.५ प्रतिशतबाट सुधार भई १७.६ प्रतिशत पुगेको छ।
मुख्य आर्थिक सूचकहरू (असोज मसान्तसम्म)
| सूचक | रकम / अवस्था | वृद्धिदर / परिवर्तन |
| कुल विदेशी विनिमय सञ्चिति | ४१ खर्ब ६१ अर्ब १४ करोड | ६.८% वृद्धि |
| रेमिट्यान्स आप्रवाह | ७ खर्ब ३ अर्ब ७० करोड | २७.२% वृद्धि |
| शोधनान्तर स्थिति | ३ खर्ब ३ अर्ब ७९ करोड बचत | गत वर्ष २ खर्ब ६४ अर्ब बचत |
| चालु खाता स्थिति | २ खर्ब ७९ अर्ब ११ करोड बचत | गत वर्ष २ खर्ब २८ अर्ब बचत |
| कुल वस्तु निर्यात | १ खर्ब १४ अर्ब २९ करोड | ५७.०% वृद्धि |
| कुल वस्तु आयात | ६ खर्ब ४७ अर्ब ७८ करोड | ३८.२% वृद्धि |
| कुल व्यापार घाटा | ५ खर्ब ३३ अर्ब ४९ करोड | ३४.७% वृद्धि |
कमजोर व्यापार संरचना र चुनौती नेपालको वैदेशिक व्यापार अझै पनि उपभोग्य वस्तुमै निर्भर देखिएको छ। निर्यातको एकाइ मूल्य सूचकाङ्क ७.२ प्रतिशतले बढ्दा आयात मूल्य सूचकाङ्क १९.८ प्रतिशतले बढेका कारण देशको व्यापारको सर्त १०.५ प्रतिशतले घटेको छ।
कुल निर्यातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ७१ प्रतिशत र मध्यवर्ती वस्तुको हिस्सा २८.९ प्रतिशत रहँदा पुँजीगत वस्तुको हिस्सा ०.१ प्रतिशत मात्र छ। आयाततर्फ मध्यवर्ती वस्तुको हिस्सा ४९.९ प्रतिशत, अन्तिम उपभोग्य वस्तुको ४१.१ प्रतिशत र औद्योगिक क्षमता विस्तारसँग जोडिने पुँजीगत वस्तुको हिस्सा ९ प्रतिशत मात्र रहेको छ।
रेमिट्यान्सले तत्कालका लागि बाह्य क्षेत्र सुरक्षित राखे पनि आयातमा उच्च निर्भरता, बढ्दो व्यापार घाटा र कमजोर उत्पादनमूलक आयातले दीर्घकालीन आर्थिक स्थायित्वमा चुनौती कायमै रहेको प्रतिवेदनले औँल्याएको छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




