युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

-



     सफल आवाज    
     मंसिर ४ गते २०८३ मा प्रकाशित



बर्लिन, ४ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले युद्ध अन्त्यपछि युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी दिने प्रस्तावमा रुस सहमत हुन सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बर्लिनमा बिहीबार करिब ४० युरोपेली नेताहरूसँग भएको छलफलमा कुशनरले रुसी पक्षलाई यस्तो सुरक्षा व्यवस्थाप्रति सहज बनाइएको बताउनुभयो । उहाँसँगै उपस्थित अर्का अमेरिकी विशेष दूत स्टिभ विटकफले पनि चीनमा राष्ट्रपति ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको छलफलका विषयमा युरोपेली नेताहरूलाई जानकारी गराउनुभएको थियो ।

कुशनरका अनुसार राष्ट्रपति ट्रम्प युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी दिन सकारात्मक हुनुहुन्छ । तर, यस्तो व्यवस्था अमेरिकी हितअनुकूल र व्यापक सुरक्षा प्याकेजको हिस्सा हुनुपर्ने उहाँको भनाइ छ । कुनै पनि सम्झौता युक्रेन र युरोपसँगको परामर्शमा मात्रै गरिने उहाँले स्पष्ट पार्नुभयो । युक्रेनले भविष्यमा रुसी आक्रमण हुन नदिन भरपर्दो सुरक्षा व्यवस्था माग्दै आएको छ भने रुसले नेटोको सैन्य प्रभाव आफ्नो सीमाबाट टाढा राख्न चाहेको छ ।

नेटोको धारा ५ अनुसार कुनै सदस्य राष्ट्रमाथि भएको आक्रमणलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमण मानिन्छ । यद्यपि, प्रस्तावित सुरक्षा ग्यारेन्टीको स्वरूप र त्यसमा रुस तथा युक्रेनको सहमति हुने विषय अझै स्पष्ट भएको छैन । यसैबीच, युक्रेनले क्रिमियालाई रुसी मुख्य भूमिसँग जोड्ने १९ किलोमिटर लामो केर्च पुलमा गरेको आक्रमणले युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासलाई थप चुनौती दिएको छ ।

आक्रमणबाट पुलको सडक खण्डमा गम्भीर क्षति पुगेको पुटिनले बताउनुभएको छ । उहाँले चीनको सेन्जेनमा पत्रकारहरूसँग कुरा गर्दै आक्रमणको जवाफ दिने चेतावनी दिनुभयो । रुसले सन् २०१४ मा कब्जा गरेको क्रिमियामाथिको नियन्त्रणको प्रतीक मानिने उक्त पुल रुसी सेनाको आपूर्तिका लागि पनि महत्त्वपूर्ण मार्ग हो ।

आक्रमणपछि रातभर रोकिएको रेल सेवा बिहीबार दिउँसो पुनः सञ्चालन गरिएको रुसी समाचार संस्था आरआइए नोभोस्तीले जनाएको छ । युक्रेनको रक्षा मन्त्रालयले आक्रमणले रुसी सेनाको इन्धन र गोलाबारुद आपूर्तिमा अवरोध पुर्‍याउने जनाएको छ ।