इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

-



     सफल आवाज    
     मंसिर ४ गते २०८३ मा प्रकाशित



तेहरान, ४ मङ्सिर । इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानले युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पार्दै कुनै पनि नयाँ आक्रमणको कडा प्रतिकार गर्ने जनाएको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेबीले बिहीबार इरान सबै सम्भावित सैन्य परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ । उहाँले पछिल्लो द्वन्द्वपछि इरानको सैन्य क्षमता विस्तार भएको र अमेरिकी सेनाका गतिविधिमाथि निरन्तर निगरानी भइरहेको दाबी गर्नुभयो ।

“हामी न युद्धको अवस्था स्वीकार गर्छौं, न त युद्ध र शान्तिबीचको अनिश्चित अवस्था । युद्धको विषय एक पटक र सधैँका लागि टुङ्ग्याउनेछौँ । यसको निर्णय युद्धमैदानबाट हुनेछ वा अमेरिकाले इरानका सर्त स्वीकार गर्नुपर्नेछ”, उहाँले भन्नुभयो । बाह्र दिने युद्धपछि इरानले हवाई प्रतिरक्षा प्रणालीलाई बलियो बनाएको र स्वदेशमै कम्तीमा तीनवटा नयाँ प्रणाली विकास गरेको उहाँले जानकारी दिनुभयो ।

ती प्रणाली घरेलु आवश्यकताका लागि पर्याप्त हुनुका साथै निर्यातसमेत भइरहेको उहाँको दाबी छ । इरानले चार हजार ५०० किलोमिटरसम्मको क्षेप्यास्त्र पहुँच प्रदर्शन गरिसकेको उल्लेख गर्दै उहाँले अमेरिकी सैन्य अखडालाई आवश्यक परे लक्षित गर्न सक्ने बताउनुभयो ।