
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई चिनियाँ र एक पाकिस्तानीसहित तीन सदस्यीय चालकदल बोकेको शेन्झाउ–२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ । यसलाई चीन–पाकिस्तान अन्तरिक्ष सहकार्यको ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ ।
पाकिस्तानी अन्तरिक्ष यात्री ४० वर्षीय मुहम्मद जिशान अली तथा चिनियाँ अन्तरिक्ष यात्री ५१ वर्षीय ताङ होङ्बो र ३९ वर्षीय वु यी उत्तरपश्चिमी चीनको जियुक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ प्रस्थान गर्नुभएको हो । अन्तरिक्षयान रकेटबाट अलग भई निर्धारित कक्षमा प्रवेश गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन् । यस अभियानले चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत पहिलो पटक विदेशी र चिनियाँ अन्तरिक्ष यात्री सम्मिलित संयुक्त उडानको इतिहास बनाएको छ ।
पाकिस्तानमा प्रक्षेपणको खुसीयालीमा सर्वसाधारणले ‘पाकिस्तान–चीन मित्रता दीर्घायु होस्’ भन्दै उत्सव मनाएका थिए । पाकिस्तानका योजना, विकास तथा विशेष पहलमन्त्री अहसान इकबालले यस अभियानले भविष्यमा दुई देशबीच अन्तरिक्ष क्षेत्रमा अझ व्यापक सहकार्यको बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पाकिस्तानी अन्तरिक्ष यात्रीले आफ्नो देशको झण्डासँगै जनताको आशा र प्राविधिक आकांक्षा अन्तरिक्षमा पुर्याएको बताउनुभयो ।
यो संयुक्त अभियान सन् २०२५ फेब्रुअरीमा भएको चीन–पाकिस्तान सम्झौताको हिस्सा हो । चालकदलले अभियानका क्रममा ९० भन्दा बढी वैज्ञानिक प्रयोग तथा प्रविधि परीक्षण गर्नेछ । अलीले अन्तरिक्षमा प्रकाश संश्लेषण गर्ने साइनोब्याक्टेरियासम्बन्धी प्रयोग गर्नुहुनेछ र शेन्झाउ–२३ मार्फत पृथ्वी फर्कनुहुनेछ । अली र वुका लागि यो पहिलो अन्तरिक्ष यात्रा हो भने ताङ यसअघि दुई पटक अन्तरिक्षमा पुगिसक्नुभएको छ ।
चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानव अवतरण गराउने लक्ष्य राखेको छ । अमेरिकाको नासाले भने सन् २०२८ मा चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने योजना बनाएको छ ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित… 



