सर्वोच्च अदालतको फैसला अनुसार काँग्रेस अघि बढ्छ : देउवा

-



     सफल आवाज    
     फागुन ६ गते २०७७ मा प्रकाशित



पोखरा, ६ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला अनुरुप नै कांग्रेस अगाडि बढ्ने बताएका छन् । उनले भने, ‘अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गर्छौं, चुनाव गर भन्यो भने पनि स्वीकार गर्छौं ।’

पोखरामा विहीबार नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनमा बोल्दै नेता देउवाले अदालतलाई जुलुस, ¥याली गरेर दबाब नदिने बताए । हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको देउवाको ठहर छ ।

देउवाले संसद विघटनको निर्णयबारे सर्वोच्च अदालतलाई दवाव दिन नमिल्ने बताएका छन् । उनले अदालतलाई यसो र उसो गर भन्न नमिल्ने र नपाइने बताए ।

दिनहुँ सडकमा प्रदर्शन गरेर अदालतलाई दवाव दिन नहुने उनले बताए । नेकपाका दुवै समुहले दिनहुँजसो भेला र प्रदर्शन गरिरहेको अवस्थामा दुवैतिर कार्यकर्ता देखिएको बताउँदै देउवाले भने, ‘नेकपाका दुवै गुटमा उत्तिकै मान्छे छन् । हामी भने अदालतलाई दबाब दिन्नौं ।’

उनले ओली र प्रचण्डले जस्तो पैसा खर्च गरेर ठुला ठुला सभा गर्ने सोचमा काँग्रेस नरहेको समेत स्पष्ट पारे । उनले भने, ‘काँग्रेस लोकतन्त्रका लागि लडेको हो । कसैलाई पैसा खर्च गरेर ठुलो मास देखाउनु काँग्रेसका लागि आवश्यक छैन ।’

पार्टीभित्र पुनस्र्थापना कि चुनाव भन्ने विषयमा बहस र छलफल भइरहेको उल्लेख गर्दै उनले अदालतले गर्ने फैसलाबाट नै पार्टी अगाडि बढ्ने उनले बताए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही आधारमा फैसला गर्नुपर्नेमा जोड दिए । नेता पौडेलले पार्टी सभापतिप्रति इंगित पार्टीका नेताले जनतालाई कम्फ्युजमा पार्दै बोल्ने हिड्ने गरेको बताए । उनले पार्टीका ठालुहरुले जनताप्रति जिम्मेवारी नभएको आरोप समेत लगाए ।

संविधान रक्षाका लागि निर्वाचन नभै संसदको पुनस्र्थापना नभएको उनको जोड थियो । लोकतन्त्र रह्यो भनेमात्र निर्वाचनको अर्थ छ, निर्वाचन त पञ्चायतको पालाको जस्तो हुने उनको ठहर छ । वरिष्ठ नेता पौडेलले यदि संसद पुनस्र्थापना नभए देश गृहयुद्धमा जाने खतरा औल्याए ।

कार्यक्रममा काँग्रेसका नेता गोपालमान श्रेष्ठले ओलीले संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धलेको आरोप लगाए ।