भाडा समायोजन नगरे चैतको तेश्रो हप्ताबाट सवारी साधन नचलाउने महासंघको चेतावनी

-



     सफल आवाज    
     चैत्र ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, चैत ६ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चैतको तेश्रो हप्तासम्म सार्वजनिक यातायातको भाडा समायोजन नगरे सवारी साधन नचलाउने चेतावनी दिएको छ ।

महासंघले भाडा समायोजनको लागि सार्वजनिक यातायातको भाडा बढाउन माग गरेर बिहीबार सरकारलाई ज्ञापन पत्र बुझाउँदै उक्त चेतावनी दिएको हो । पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिको आधारमा सार्वजनिक यातायातको भाडा समायोजन गर्न माग गर्दै महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई ज्ञापन पत्र बुझाएको हो ।

महासंघले विकल्पको व्यवस्था नहुँदासम्मको लागि संचालनको २० वर्ष पुगेका र संचालनमा रहेका सवारी साधनको प्राविधिक जाँच गरेर म्याद थप गरी संचालन गर्न दिन माग गरेको छ । यस्तै २० वर्षे पुराना सवारी साधनलाई विस्थापन गर्ने हो भने नयाँ सवारी साधनको आयातमा भन्सार छुट सतप्रतिशत गर्न महासंघले माग गरेको महासंघका महासचिव सरोज सिटौलाले बताएका छन् ।

महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्वाङले यातायात व्यवसायीले राखेका मागहरुको बारेमा पहिले यातायात व्यवस्था विभागसंग छलफल गर्ने र आवश्यक निर्णय लिईने बताए ।