भूकम्पले ४ घाइते, दर्जन घरमा क्षति (घाइतेको विवरणसहित)

-



     सफल आवाज    
     जेठ ५ गते २०७८ मा प्रकाशित



लमजुङ, ५ जेठ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका ४ घाइते भएका छन् ।

घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा ११ चितीका ८३ वर्षीया खकाकुमारी पाण्डे, वडा ८ का २९ वर्षीया खुशीमाया गुरुङ र मस्र्याङ्दी गाउँपालिका–६ ठुलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार उनीहरुमध्ये खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका थिए ।

घाइतेको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । उनीहरुको टाउको, हातखुट्टा लगायत शरीरमा चोट लागेको छ ।

घाइते उमा घरमै सुतिरहेको अवस्थामा भूकम्प जाँदा घर भत्किएर शरीरको आधा भाग नै पुरिएको थियो । त्यसपश्चात स्थानीयवासीले उद्धार गरेर एम्बुलेन्समार्फत अस्पताल लगेका हुन् ।

उमासहित उनकी छोरी श्रृती गुरुङ पनि सोही स्थानमा सुतिरहे पनि उनी भने मर्निङवाक जाने भनेर हिँडेको १ मिनेटमै भूकम्प गएको थियो । श्रृती मर्निङवाक जाने भनेर घरबाट हिँडेकाले घाइतेबाट जोगिएको उनले बताइन् ।

उनले भनिन्, ‘घरमा ममी र म मात्र थियौँ, बाबा कामको सिलसिलामा मनाङमा हुनुहुन्छ, अब घर भत्कियो कता कसरी बस्ने भइहेको छ ।’

घाइते उनीहरुको घरसहित बेँसीशहर–१ का शम्शेर परियार, वडा ३ रानीकुवाका दीपक बराल, नवीन बराल, गोरे क्षेत्री, वडा ६ मकैडाँडाका लक्ष्मी अधिकारी, तुलबहादुर अधिकारी, टेकबहादुर अधिकारी, मस्र्याङ्दी–३ तरापुका बासुदेव खत्रीको घरमा क्षति पुगेको छ ।

त्यस्तै मध्यनेपाल नगरपालिका–७ का तीर्थराज घिमिरे, बेँसीशहर–६ कै धीरबहादुर रिमाल, बुद्धिबहादुर रिमालको घरमा क्षति पुगेको छ । यी अधिकांश घर ढुङ्गामाटा र जस्तापाताको छानोबाट बनेका हुन् ।

लमजुङसहित छिमेकी जिल्ला मनाङ, कास्की, गोरखा लगायतका जिल्लामा समेत धक्का पुगेको थियो । यो २०७२ सालको भूकम्पको परकम्प हो।