
‘नचिताएको परिस्थिति कुनै पनि बेला आउन सक्छ, जुन स्वीकार्नुको विकल्प हुदैन । वश एउटा साहस र संकल्पले मनको डरलाई कवच लगाउन सकियो भने ठिक आफ्नै अगाडि उपायको ढोका खुल्छ ।’ शिक्षा क्षेत्रका स्थापित ब्यक्तित्व डीके ढुङ्गानाले बुधबार बिहानै सामाजिक सञ्जालमा यो सन्देश पोष्ट गरे । कोरोना संक्रमण फैलिन नदिन अहिले पनि काठमाडौंमा निषेधाज्ञा जारी छ । लकडाउनकै बीचमा ढुङ्गानाले एउटा नयाँ सोच बनाए – ‘सोच रुपान्तरण अभियान’ शुभारम्भ गर्ने । ढुङ्गानाले यो अभियानलाई लकडाउनकै बीचमा सुचारु गर्ने स्वघोषणा गरेका थिए ।
अभियान सञ्चालन गर्ने योजनापछि उनले अहिले हरेक दिन सकारात्मक सोच हुनुपर्छ भन्ने सन्देश जाने यस्तै सन्देशहरु सामाजिक सन्जालमा पोष्ट गर्छन् । बुधबार सार्वजनिक भएको उनको अभियानको यो ४५ औं श्रृङ्खलाको सन्देश थियाे । शिक्षा क्षेत्रमा चम्किरहेका डीके ढुङ्गानालाई यो अभियान सञ्चालन गर्ने योजना कसरी बन्यो त ? त्यस विषयमा पनि चर्चा हुनेछ । त्योभन्दा अगाडि शिक्षा क्षेत्रमा उनी कसरी उदाए र चम्किए ? उनको जीवनयात्राका विषयमा बुझौँ ।
ढुङ्गानाको जीवनयात्रा
हाल उमेरले ५ दशक नाघिसकेका डीके ढुङ्गाना, इलामको लक्ष्मीपुर गाउँमा २०२७ साल माघमा जन्मिएका हुन । उनले प्राथमिक तहको शिक्षा गाउँमै आर्जन गरेका हुन ।माध्यमिक तहको अध्ययन गर्न भने उनी झापा झरे । झापामा उनको मामाघर थियो । मामाघरमै बसेर पढे । मध्यमवर्गीय परिवारमा जन्मिएका उनको झापा बसाइँ अध्ययनसँगै रमाइलै बित्यो ।
झापा बसेर अध्ययन गर्दागर्दै उनका ठूला बुवा जयनारायण ढुङ्गानाले कन्काई स्कुल स्थापना गरे । जुन अहिले पनि निकै चर्चित छ । उनले माध्यमिक र उच्च माध्यमिक तहको अध्ययन पनि झापामै पूरा गरेका थिए ।ढुङ्गाना कन्काई स्कुलकै सेरोफेरोमा हुर्किए । उनलाई शिक्षक बन्न बाहिर जानुपर्ने आवश्यकता थिएन । तर उनको सोच भने अर्कै थियो । उनी पहिले कलाकार बन्न चाहन्थे । कलाकार बनेर देशविदेशमा चर्चा कमाउने सोचाइ थियो ।
उनी भन्छन-तर मेराे घरमा त्यो वातावरण थिएन । घरको माहोल शिक्षण पेसामै थियो । गाउँमा युवा पुस्ताहरु फौजी जागिर खान रौसिन्थे । तर उनलाई यी दुवैतर्फ ठिक लागेन । उनी शिक्षण पेसामा रमाउन चाहेनन् । उनले काठमाडौं जाने निधो गरे ।
काठमाडौं जानुपर्छ भन्ने प्रेरणा उनले दुई व्यक्तिबाट पाएका थिए । केरला घर भएका जर्ज मेपु नाम गरेका शिक्षक र अर्का रवीन्द्र चक्रवती । मेपुले ढुङ्गानालाई काठमाडौंमा गए अवसर पाइन्छ केही संघर्ष गर भनेर सुझाए । बावु आमाकाे सम्पत्ति छ भनेर ढुक्कले नवसी केही संघर्ष गर्नुपर्ने उनको सुझाव थियो ।
त्यसपछि उनी २०४८ सालमा देशको राजधानी काठमाडौं आए । काठमाडौंमा आएर उनी कान्छो मामाकहाँ बसे । गाउँको जस्तो अवस्था काठमाडौंमा हुँदैन । त्यहीँ भएर उनी सधैँ मामाघरमा बस्न चाहेनन् । अब आफैले केही व्यवस्था गर्नुपर्छ भन्ने सोच उनमा आयो ।
त्यो समय उनले डीएभी स्कुल पनि पढाए । डिएभीमा पढाउदा उनलाई विद्यालयसम्बन्धी धेरै ज्ञान हासिल भयो । संघर्ष गर्ने क्रममा उनले होटलमा सामान्य काम समेत गरे । उनीसँग गैरसरकारी संस्था सञ्चालनदेखि होटल चलाएको र होटलमा काम गरेको सम्मको राम्रै अनुभव छ ।
त्यसबेला ढुङ्गानाले टेकुमा आफैले ट्युसन सेन्टर समेत खोलेका थिए । सोही घरमा बस्ने, त्यहीँ ट्युसन सेन्टर । घरबेटी पनि निकै मज्जाका थिए । उनी अहिले सम्झन्छन् ।
घरबेटीका दुई छोराछोरीलाई पनि उनले पढाइदिए । तर पैसा भने लिएनन् । उनको राम्रो व्यवहारबाट प्रभावित भएका घरेबटीले खाना, खाजाको प्रबन्ध आफै गरिदिन्थे । ‘त्यतिमात्रै होइन घरबेटी आमाले तपाईसँग पैसा लिनु हुँदैन छोराले माग्यो भने यो पैसा दिनुस् भनेर दिनुहुन्थ्यो’ उनी विगत सम्झन्छन्, घरबेटी आमाले दिएको पैसा नै म घरभाडा भन्दै बुझाउँथें ।
जीवनमा संघर्ष गर्नुपर्छ भन्ने कुरामा उनी सानैदेखि दत्तचित्त थिए । आत्मनिर्भर हुनुपर्छ, आफ्ना लागि आफै मेहनत गर्नुपर्छ भन्ने कुरा हजुरबुवाबाट सिकेको उनी बताउँछन् ।
हजुरबुवा र बुवाको प्रेरणाले नै यहाँसम्म आइपुगेको बताउने उनले ट्युसन सेन्टर चलाउदा चलाउदै रेष्टुराँ समेत खोलेका थिए ।
केही साथीहरु मिलेर खोलेको रेष्टुराँमा साँझ बिहान उनी आफू पनि जान्थे । ‘अझ रमाइलो कुरा त दिनभर टाइसुट लगायो, साँझ कहिलेकाहीँ रेष्टुराँमा झुठो भाडा पनि माझ्नु पथ्र्यो’ उनी भन्छन्, ‘काम गर्ने मान्छे नआएपछि आफू साहु भए पनि गर्नै पर्यो नि ।’ उनीसँग खाद्यान्नको होलसेल पसल समेत चलाएको अनुभव छ । तर त्यसबेला होलसेल पसल संचालन क्रममा एकजना भारतीयले ठगेको उनी सुनाउँछन् ।
शिक्षा क्षेत्रमा यसरी उदाए
अर्थशास्त्रमा स्नातक उपाधि हासिल गरेका डीके ढुङ्गानाले राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् । शिक्षा क्षेत्रमा लागेपछि उनले पुनः शिक्षा संकायमा पनि स्नातक गरे । डीके ढुङ्गाना केही साथीहरुसँग मिलेर गैरसरकारी संस्था (एनजीओ) चलाउँथे । एनजीओ चलाउँदै गर्दा अब कर्मचारी र मजदुरका छोराछोरीहरुलाई पढाउन एउटा विद्यालय संचालन गर्नुपर्छ भन्ने उनमा सोच पलायो । उनको त्यो सोचमा सबैले सहमति जनाए ।
शिक्षा क्षेत्रका विषयमा जानकार उनै थिए । त्यहीँ भएर एनजीओका पदाधिकारीहरुले उनलाई नै स्कुलको प्रधानाध्यापक (प्रिन्सिपल) बनाउने निर्णय गरे । यताउता गर्दै यो कुरा धेरै ठाउँ पुगिसकेको थियो । तर अपसोच, स्कुल सञ्चालनमा आएन । ढुङ्गाना प्रस्तावित प्रिन्सिपल भएका कारण स्कुल सञ्चालनमा नआउदा केही अफ्ठ्यारो महसुस गरे।
याे कुरा बाहिर गइसकेको थियो, अब त केही नगरी हुँदैन भन्ने लागेपछि स्कुल आफै खोल्ने सोच आयो’ उनी भन्छन् । स्कुल खोल्ने विषयमा बुझ्दै जिल्ला शिक्षा कार्यालय ललितपुरमा पुगेपछि एक कर्मचारीले एउटा स्कुलको ब्यानर रहेको कुरा सुनाए । त्याे स्कुल सञ्चालनमा थिएन । तर रेडियन्टको ब्यानर थियो । थप ३ जना साथीहरु मिलेर स्कुल सञ्चालन गर्ने योजना बन्यो ।
त्यसपछि ३ जना मिलेर २०५५ सालमा स्कुलको ब्यानर किनेर २०५६ साल वैशाखदेखि रेडियन्ट रिडर्स एकेडेमी नामको स्कुल चलाउन सुरु भयो । सुरुमा जम्मा १९ जना विद्यार्थीमात्रै जम्मा भएको ढुङ्गाना सुनाउँछन् । तर उनमा हजुरबुवाको शिक्षा थियो । त्यसैले दृढ संकल्पित थिए । कहिल्यै आत्तिएनन् , कहिल्यै मात्तिएनन् । शैक्षिक सत्रको अन्त्यसम्म विद्यार्थीको संख्या ५६ पुग्यो । समयक्रम अघि बढ्दै गयो । देशमा माओवादी युद्ध दिनप्रतिदिन चर्किरहेको थियो । गाउँ समाज आतंकित थियो । तर आफ्नो योजनाबाट कहिल्यै पछि हटेनन डीके ढुङ्गाना ।
समयक्रमसँगै उनको टिममा केही खटपट सुरु हुने संकेत देखियो । राम्रो शिक्षा दिने, शुल्क पनि राम्रै लिने ढुङ्गानाको योजनामा साथीहरुले विमति जनाए । शुल्क कम भए धेरै विद्यार्थी आउँछन् भन्ने साथीहरुको तर्क थियो । साथीहरुको तर्कमा उनले पनि सहमति जनाए । २०५७ मा स्कुलकाे शुल्क घट्यो । विद्यार्थीको संख्या पनि त्यसबेला १ सय ५६ पुगिसकेको थियो । तर अझै स्कुलमा सोचे जस्तो भएको थिएन ।
अघिल्लो वर्ष देखिएको खटपट संकेत खुला रुपमा प्रष्टै भयो । साथीहरुले अब स्कुल चलाउन नसक्ने धारणा राखे । तर ढुंगानाले ब्याक नहुने बताए । त्यसपछि हाम्रो लगानी फिर्ता दिनुस्’ भन्ने साथीहरुको माग आयो । उनले निकै मेहनत गरेर भक्तपुरमा एक रोपनी जग्गा जोडेका थिए । सो जग्गा बेचेर साथीहरुको लगानी फिर्ता दिए र रेडियन्ट रिडर्स एकेडेमीलाई निजी लगानीको बनाए । जुन अहिले पनि काठमाडौं उपत्यकाकै चर्चित र राम्रो स्कुलमा गनिन्छ ।
‘अब मेरो जीवन स्कुलमै बिताउँछु भन्ने सोचेँ । त्यसैले साथीहरु बिदा भएपछि झन् धेरै मेहनत गरेँ’ ढुङ्गाना सम्झिन्छन् । उनको मेहनतको फल पनि देखियो । २०५८ सालमा विद्यार्थी संख्या ३ सय ५० पुग्यो । उनी दैनिक १६ देखि १९ घण्टासम्म स्कुलमा खटेको सुनाउँछन् । उनको मेहनतले अहिले रेडियन्ट रिडर्स एकेडेमी चर्चित स्कुलमा गनिन्छ ।
स्कुलबाट १८ औं ब्याच एलएलसी -एसइई पनि सकिएको छ । नतिजा पनि राम्रै आएको छ । उनको अर्को अक्सव्रिज इन्टरनेशनल कलेज पनि जावलाखेलमा (साझेदारीमा) सञ्चालित छ । १९ जना विद्यार्थीबाट सुरु भएको ढुङ्गानाको स्कुल र कलेजमा अहिले २ हजार हाराहारीमा विद्यार्थी छन् । २ सय हाराहारीमा शिक्षक कर्मचारी नै कार्यरत छन् ।
प्याब्सन र लायन्सकाे यात्रा
२०५७ सालमा उनी ललितपुर प्याब्सनको महाधिवेशन प्रतिनिधि चयन भए । त्यहाँबाट सुरु भयो उनको प्याब्सन यात्रा । २०५९ सालमा ललितपुर प्याब्सनको जिल्ला सदस्य चयन भए ।
२०६६ सालमा ललितपुर प्याब्सनको अध्यक्षमा निर्वाचन लडे । तर झिनो मतान्तरले पराजय बेहोरे । त्यसबेला आफ्नै साथीहरुले धोका दिएकाले थोरै मतले पराजय बेहोर्नुपरेको उनलाई लागेको थियो ।
जिल्ला समितिमा निर्वाचन हारे पनि केन्द्रमा उठ्न पाउने व्यवस्था भएका कारण उनले राष्ट्रिय महासचिवमा उठ्ने योजना बनाए । उनलाई सचिव सर्वसम्मत नै मिलेपछि चुनाव लड्नु परेन ।
२०६८ सालमा उनले चुनाव लडेरै राष्ट्रिय महासचिवमा चयन भए । दोस्रो कार्यकाल पनि उनी महासचिवमा दोहोरिए । तर दोस्रो पटक भने सर्वसम्मत नै महासचिव चयन भए । त्यसपछि वरिष्ठ उपाध्यक्ष हुँदै अहिले सहअध्यक्ष निर्वाचित भएका हुन् । हाल विद्यालय र कलेज सञ्चालन गरिरहेका ढुंगाना निजी क्षेत्रका विद्यालय सञ्चालकहरुको छाता संस्था प्याब्सनका सहअध्यक्ष हुन् । सहअध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार प्याब्सनको आगामी नेतृत्व ढुंगानाकै काँधमा आउँदैछ ।
लायन्सतिरको यात्रा उनको सन् २००२ बाट सुरु भयो । उनी २००२ मा सदस्य बने । २००८ मा उनी लायन्स क्लबको प्रेसिडेन्टमा चयन भए । विभिन्न जिम्मेवारी लिँदै उनी २०१३ मा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि २ को द्वितीय भाइस गभर्नर बने । सन् २०१५-१६ मा भने उनी डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भए । लायन्स अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख समेत भइसकेका ढुंगानाले ४० भन्दा धेरै देशहरुको भ्रमण गरिसकेका छन् ।
अबको लगानी कृषि र पर्यटन
शिक्षा क्षेत्रमा जमेका डीके ढुङ्गाना अब नयाँ क्षेत्रमा लगानी गर्ने योजनामा छन । उनको रोजाइमा अहिले २ क्षेत्रहरु छन् । एउटा कृषि र अर्को पर्यटन ।
कृषिप्रधान देश नेपाल अनि पर्यटनको पनि धेरै राम्रो सम्भावना भएको देश । यही भएर उनी यी दुई क्षेत्रमा लोभिएका छन् । कोभिड–१९ का कारण अहिले पर्यटन क्षेत्र धराशयी बनेको छ । कोरोना महामारी सकिएपछि भने यो क्षेत्र राम्रै फस्टाउने सम्भावना उनले देखेका छन् ।
कृषिमा पनि परम्परागत ढंगले होइन, नयाँ तरिकाले कृषि गर्ने उनको योजना छ । अब प्रविधिमैत्री कृषि गर्ने योजना उनले सुनाए । ‘अब भनेको अत्याधुनिक कृषि कर्म गर्ने हो । कृषिमा धेरै राम्रो सम्भावना छ,’ उनले भने, ‘मसँग धेरै विज्ञ साथीहरु हुनुहुन्छ, वहाँहरुको सल्लाह सुझाव लिएर कृषिमा लाग्ने सोच बनाएको छु ।’
सोच परिवर्तन गर्ने योजना
उनमा रातो गेरुबस्त्र होइन, टाईसुट लगाएको साँधु बन्ने चाहाना छ। युवापुस्ताहरुको सोचमा परिवर्तन ल्याउने गरी उनले याे अभियान चलाउँदैछन् । ढुंगानाले आफ्नो आगामी योजनाबारे स्पष्ट पार्दै भने ‘म आफुमात्रै बनेर हुँदैन, मेरो कारणले समाज बन्नुपर्छ, देश बन्नुपर्छ,’ उनी भन्छन्, ‘युवापुस्ताहरुमा अब नयाँ किसिमको सोच आउनुपर्छ, त्यसैले मैले याे सोच रुपान्तरण अभियान चलाउँदैछु ।’
नेपाली घरपरिवारहरुमा विवाह गरेपछि छुट्टाछुट्टै बस्ने चलन छ । सबै ढिलोचाँडो दाजुभाइहरु छुटिन्छन् नै । तर ढुङ्गाना परिवारको फरक छ । उनका ७ जना दाजुभाई र २ दिदीबहिनी छन् । उनका मात्रै २ छोरीहरु छन् ।
७ जना दाजुभाइहरुको बसोवास अहिले पनि सँगोलमै छ । संयुक्त परिवारमा रमाएका डीके ढुङ्गाना अब भने १० देखि ४ बजेसम्मको काम नगर्ने सोचमा छन् । आध्यात्मतिर झुकाव भएका उनले सोच रुपान्तरण अभियान नै घोषणा गरिसकेका छन् ।









नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




