निर्माणाधिन गौतमबुद्ध रंगशालाको काम अगाडि बढाउन निर्देशन

-



     सफल आवाज    
     माघ १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ माघ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन् ।

मन्त्री गहतराजले नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मीसहित बिहीबार चितवन पुगेको मन्त्रालयको टिमले रंगशालाको स्थलगत निरीक्षण गरेको हो । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सम्बन्धमा भरतपुर महानगरपालिकाद्वाारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुन चितवन पुगेका मन्त्रीले रंगशालाको निरीक्षण तथा अवलोकन गरेका हुन् ।

रंगशाला निरीक्षण पछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गहतरराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । उक्त रंगशालालाई गौरबको आयोजनामा समेटी यहि आर्थिक वर्षबाट काम सुरु हुनेगरी तयारी थाल्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशनसमेत दिए ।

नेपालकै गौरवको आयोजनाका रुपमा रहेको उक्त परियोजना अलपत्र हुने अवस्था सिर्जना हुनु दुःखद भएको उल्लेख गर्दै मन्त्रीले भरतपुर महानगरपालिका, प्रदेश र केन्द्र सरकारको सहकार्यमै रंगशाला निर्माण कार्य सम्पन्न गरिने बताए । मन्त्री गहतराजले लगानीको स्रोत पहिचान गरेर रंगशाला निर्माणका बाँकी काम पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

रंगशाला निर्माणका क्रममा अहिलेसम्म भएको सम्पूर्ण खर्च विवरण यथासिघ्र सार्वजनिक गर्न मन्त्रीले धुर्मुस-सुन्तली फाउण्डेशनलाई आग्रहसमेत गरेका छन् । रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस–सुन्तली फाउण्डेशनले परियोजनाबाट हात झिकेपछि उक्त परियोजना निर्माणको जिम्मा भरतपुर महानगरपालिकाले लिएको छ । अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल लगायतको सहभागिता रहेको थियो ।