राज्यको स्रोतमाथि लुट मच्चाउने र अराजक शैलीमा देश चलाउनेहरु बढेपछि राजनीतिप्रति निराशा बढ्यो

-



     सफल आवाज    
     माघ १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ माघ । नेपाली विशेषता प्रायः सार्वजनिक सेवाका उच्चपदस्थ सरकारी अधिकारीहरु आफू पदमा बहाल हुँदासम्म कुनै सिर्जनात्मक कार्यमा सिन्को भाँच्दैनन् । तर, प्रशासनको अनुभवको कतिपयले राजनीतिक आड र आसिर्वादमा आकर्षक संवैधानिक आयोग तथा भूमिकाको जिम्मेवारी तथा शीर्षस्थ नेतृत्वमा पुग्दछन् । प्रायः उच्च पदस्थ प्रशासकहरु जागिरबाट बाहिरिएपछि पनि राजनीतिक आडमा नियुक्तिको आशामा दुई/चार वर्ष चक्कर मार्दछन् र सत्ता, शक्तिमा भएका राजनीतिक दल तथा तिनका नेतृत्वलाई प्रभावित गरी अवसर लिन सकेमा सुशासनको नारा र आफू इमानदार भएको तथा अन्य कुशासनका मतियार भएको नाटकमञ्चन गर्दछन् ।

के देखिन्छ भने, राज्यमा आकर्षक मौका नपाएपछि मात्रै शासकीय प्रणाली–शासकीय नेतृत्व प्रवृत्तिभित्रका शैलीमा अनेकौँ विकृति विसंगतिका चाङ्ग देख्छन् । पेन्सन पाकेको पट्टा बनाएर बोल्छन् । लेख लेख्छन् । किताब लेख्छन् । तर, सरकारी संयन्त्रमा सबै कर्मचारीहरु यस्तै प्रकृतिका भ्रष्ट तथा अनैतिक एकै चरित्रका हुन्छन् भन्ने गलत सावित गरेका शिक्षा सेवाका उपसचिव हुन् ईश्वरीप्रसाद पोखरेल ।

उनले पेसामा प्रवेश भएपछि खेताला शिक्षकको बिगविगी अन्त्य गर्न कम्मर कस्दा सरुवाको पुरस्कार पाए । आफ्नै प्रयास तथा वैयक्तिक खर्चमा निरीक्षण क्षेत्र तथा सदरमुकाममा समेत दर्जनौँ नवसिर्जनाका शैक्षिक अन्तरक्रियात्मक कार्यक्रमहरु गर्दा हाकिमको आँखाको कसिंगर बनेँ । तर, ३ दिने राष्ट्रियस्तरको शैक्षिक संगोष्ठी २०५८ गुल्मीमा सम्पन्न गरेर जिल्लाबासीको माया र हृदयमा बास पाएँ ।

कपिलवस्तुका ग्रामीण क्षेत्रमा विद्यालय शिक्षाको अभाव, जनस्तरमा रहेका अशिक्षा हटाउन विभिन्न कार्यक्रम र विद्यालय तथा बालविकास केन्द्रहरुको साधनस्रोतको अत्यधिक सदुपयोग र पादर्शिताका लागि अहोरात्र खटे । शैक्षिक सुशासनका पक्षमा जनस्तरमा विविध कार्य गर्दै, दर्जनौं नयाँ विद्यालय स्थापनाका आधार जग तयार पनि पारे । शिक्षक पेसागत क्षमता विकास तथा सहजीकरणका लागि अहोरात्र खटेको अनुभव सुनाउने पोखरेलका विचार नितान्त फरक, सिर्जनात्मक तथा धेरै मननीय हुने गरेका छन् ।

अर्घाखाँची, गुल्मी र कपिलवस्तुका ग्रामीण क्षेत्रका विद्यालय, शिक्षण सिकाइ र शैक्षिक गुणस्तरका जानकारीसहित केन्द्रीय निकायको सेवामा प्रवेश भएका उपसचिव ईश्वरीप्रसाद पोखरेल, करीब ७ वर्षको केन्द्रीय कार्यसम्पादनको अनुभवसहित क्षेत्रीय निकायमा काम गरी पुनः केन्द्रीय निकायमा नै काम गर्न अवसर पाएका निजामती सेवाका कर्मचारी हुन् । कर्मचारी समायोजन २०७५ मा राज्यबाट हिटलरी ग्याँस च्याम्बरको शैलीमा निश्चित सेवालाई मालिक र अन्य सेवालाई दास बनाएको प्रमाणसहित एक्लै संघर्ष गरी सरकारलाई आफ्नो निर्णयबाट पछाडि हट्न बाध्य पार्न सफल योद्धा पनि हुन् ।

सार्वजनिक सेवामा जी, हजुरी तथा दास मानसिकताले घेरी रहेको बेलामा माइतीघर मण्डलामा राज्य, सरकारसँग न्यायिक आवाज सुन भन्दै अनसन बस्न पुग्ने साहसिक नागरिक सचेतना बहन गर्ने परिचय थपेका छन् उनले । केपी शर्मा ओली नेतृत्वको सरकारमा पक्षपाती निर्णयविरुद्ध माइतीघर मण्डलामा सरकारका सबै निकायलाई लिखित सूचना दिएर अनसन बस्न पुगेका उनलाई प्रहरीले पक्राउ गरेर २ दिनसम्म अनामनगर प्रहरीवृत्तमा राखेको थियो । तर अहिले पनि सार्वजनिक सञ्चार माध्यमहरुमा उनी खुलेरै बोल्छन् ।

जागिरको उत्तरार्द्धमा पुगेकाे बेला नेपालको शासकीय तथा राजनीतिक व्यवस्थाप्रति भ्रष्टाचार, अनैतिकता र कुशासनको मुख्य कारण ट्रेड युनियनवाद र राजनीतिक पार्टी पिच्छेका कर्मचारी संघ संगठन भएको दावी गर्ने पोखरेलसँग सफल आवाजका आरजु विष्ट सल्यानीले गरेको कुराकानीको सम्पादित अंश ।

तपाईंको बाल्यकाल तथा शैक्षिक योग्यता ?

– गुल्मी जिल्लाको तत्कालीन बलिथुम वार्ड –४ सानुलुम्पेकमा २०२१ सालमा जन्म । बुबा प्रधानपञ्च, सानै उमेरमा कचहरी, मुद्दाका बादी प्रतिवादी र पञ्चभेलामा सबैको निर्णयको समीक्षा गर्ने तथा सानै उमेरदेखि फरक विचार, धारणा र अडानी स्वभाव । बहुमत भनिने निर्णयलाई समेत नहुनुपर्ने अनर्थ, अन्याय भन्ने हिम्मत तथा अस्वीकारलाई बुबाहरु मन पार्नुहुँदैनथ्यो । तर स्वभाव यस्तै थियो । यस्तै अवस्थामा २०३३ सालतिर कक्षा ५ मा पढ्ने १२ वर्ष उमेर आसपासमा घर छाडेर एक्लै भागेर सडक बालबालिकाझैँ भौँतारिदैँ नेपाल तथा भारतका विभिन्न स्थानमा चक्कर लगाउँदै ९ महिनामा आसम राज्यको नुनमाटीस्थित फूपू तथा फूपाजुको घरमा पुगेको थिएँ । ९ महिना आसममा बसेपछि घरफिर्दा मेरा साथीहरु कक्षा ७ मा पुगेका रहेछन् । मैले पढाइतिर ध्यान नै दिइनँ । कक्षा बढ्न क्षमता र नियम दुवैले नमिल्ने, त्यतिखेर गाउँका केही दाजुहरु दिल्लीमा संस्कृत पढिरहेको कुरा बुबालाई जानकारी रहेछ । छोरो घरमा यसै बसेमा भविष्य खेरा जाने चिन्ताले होला बुबाले त्यतै पढाइका लागि पठाउनु भएको थियो । यसरी दिल्लीबाट संस्कृत शिक्षामा उत्तरमध्यमा, जनता विद्यापीठ दाङबाट २०४४ सालमा शास्त्री योग्यता प्राप्त गरेँ ।

राजनीतिक तथा सामाजिक चेतना नि ?
–अज्ञानीहरु संस्कृत पढ्नेहरुलाई रुढीवादी र पुरातनी विचारका मान्दछन् । तर आमूल परिवर्तन बाहक चार्वाक सिद्धान्त हो भन्ने ज्ञान नभएकाहरुका लागि संस्कृत शिक्षा राजा, धर्म र रुढीवादमा रुमल्लिएको लाग्दछ होला ? तर संस्कृत अध्ययनबाट नै मलाई पूर्ण नागरिक चेतना र सर्वाङ्गताको सार्वभौमिकताको ज्ञान हासिल भयो । लोभ, मोह, स्वार्थ र अन्याय, अत्याचारबाट आफूलाई अलग गर्दै पूर्ण नैतिकता, सदाचार र सत्यका लागि संघर्ष गर्ने ईश्वर शक्तिको अनुयायीझैँ अटल हुने चेतनाको विकास भयो । फलतः राजतन्त्रका खराब आचरणका विरोधी चेतनाले गणतन्त्रको पक्षधरका बाम राजनीतितिर लस्किएछ ।

राजनीतिक चेतना तथा आस्थाले के दियो के खोस्यो ?

–जानेर नजानेर लहै लहैमा नेपाल विद्यार्थी संघ र अखिल धारका विद्यार्थीहरुबीचमा हुने विवाद, झडपका शिकार तथा साक्षी पनि निरन्तर भइयो । कम्युनिष्ट राजनीति गछौँ भनिनेहरुबाट बुर्जुवा शिक्षा पद्धति क्रान्तिकारिताको विपरित छ,जीवनमुखी तथा प्रगतिशील शिक्षाको नारा लगाउँदै काल्पनिक सपना देख्ने र देखाउनेहरुको समाजमा ताँती नै हुन्थ्यो । धन्न विद्यार्थीकालमा ती कथनी र करणी फरक भएका, कम्युनिष्टहरुको शब्दजालमा फसेर पढाइ छोडिएनछ, नत्र केही व्यक्ति, परिवार तथा टाठाबाठाहरुको आर्थिक समुन्नतिको भरेङ तयार पार्न आफ्नो जीवन नै समाप्त हुँदो रहेछ । धन्न उनीहरुको झुट्टो प्रभावमा परेर सरकारी जागीर खान हुन्नँ भन्ने आग्रहमा परेर राजाको सिन्दुर के पहिरिनु ? भनी बसेर दांगको बिजौरीमा बस्ने मानिसले पनि तुलसीपुरको लोक सेवा आयोगतिर कुनै मतलब गरिएन । गुमाउन सिकायो, कमाउन र लुटपाट गर्न र आफूलाई समृद्ध पार्नबाट बन्चित गर्‍यो ।

राजनीतिप्रति कतिकाे विश्वास छ ?

–विद्यार्थीकालमा प्रतिबन्धित राजनीतिमा सचेत विद्यार्थीको नाताले गहिरो चासो र सक्दो सक्रियता राखिएका कारण नै दांग प्रशासनबाट २०४४ श्रावणतिर एक वर्षको वारेन्टमा परियो । केही साथीहरुलाई पक्राउ गरी कारागारमा हालिएको समाचार जेलमा परेका साथीहरुबाट नै प्राप्त पत्र मार्फत घरपरिवारमा जानकारी भयो । फलत: घरबाट दशैको दिनमा नै कसैलाई खबर नगरी अचानक पश्चिम लक्षित गन्तव्यमा हिडेँ । आफ्नो सुरक्षा र ग्रामीण जनतामा चेतना फैलाउने अभियानमा सरिक हुने अभिलाषा बोकेर विद्यालयहरुमा कतै जागीरे हुन सकिएला कि भन्दै सुर्खेत पुगेँ । सुर्खेतमा आफूले विश्वास गर्ने राजनीतिक विचारसंगको संलग्नता र सहभागितालाई तीन वर्ष धेरै सहयोग पुग्ने काममा सक्रिय रहेँ । तर उनीहरुसंगको सुमधुर सम्बन्ध तथा विश्वासप्रतिको अन्त २०४८ सालको आम निर्वाचनपछि नै विधिवत भयो ।

राजनीतिबाट कसरी अलग हुनुभयो ?

–राजनीतिक पार्टीहरुका सांसद, राजनीतिक पार्टी र नेताहरुको पूँजीवादी हर्कत, लुटवाद र शोषण पक्षधर संलग्नताबाट हुन पुग्यो । फलत समग्र राजनीतिक पार्टीगत संलग्नताको चेतना, आस्था र विश्वासमा ग्रहण लाग्न थाल्यो । आफूलाई तटस्थ र निरपेक्ष राखेर सबैप्रति आलोचना, समालोचना र टिप्पणी र मुद्दाका आधारमा समर्थन र विरोधी चेतना प्रयोगमा संलग्न हुन थालेको पनि तीन दशक हुन थाल्यो । सत्ता, शक्तिको बलमा राज्यको साधन स्रोतमाथि लुट मच्याउने र अराजक शैलीमा देश चलाउने गतिविधिपछि मनमा सक्रिय राजनीतिप्रति निराशा बढ्यो तथा जे देख्यो, जे अनुभूति भयो त्यही बोल्ने, लेख्ने र ती विचारका पक्षमा वकालत गर्ने तर संलग्नता कसैसँग नगर्ने र भोट पनि मनन गरे हाल्ने दिने स्वतन्त्र नागरिकका रुपमा आफूलाई रुपान्तरण गरेकोले मेरा लागि सबै पुजनीय गौँ माता र सुगुँरझैँ सबै पार्टीमा साधु र दुर्जन चरित्रका नैतिक र अपराधी नेता, कार्यकर्ताहरु छन् भन्ने लाग्दछ । राजनीतिक विचार, दर्शन तथा देश जनता कसैको प्राथमिकतामा छैन, कसरी हुन्छ ? कमाउने र लुट्ने हो ? भन्ने एकसुत्रीय अभियानमा विचौलिया तथा धनवाद, डनवादले राजनीतिक पार्टीहरु कब्जा गरेको अवस्था छ । के को राजनीतिक लगाव, झुकाव र संलग्नताको कुरा ? गरेर अमूल्य समय खेर फाल्नु ? नेपालमा राजनीति होइन, लाजनीतिको कारखाना चलिरहेछ ।

राजनीतिमा प्रवेश नगरी जागिरमा कसरी प्रवेश गर्नुभयो ?

–राज्यबाट वारेन्टेड मानिसका जागीरका पनि धेरै कथा व्यथा हुन्छन् । सोझो र देखाइएको बाटोमा एकहोरो हिडेको मानिस पूर्ण हुँदो रहेनछ । घरायसी आर्थिक अवस्था तथा विविध स्वभावका कारण पूर्ण राजनीतिक प्राणी भएर जीवन चलाउने हैसियत मेरो थिएन वा राजनीतिक संघर्षमा अन्यौलता थियो । अतः राजनीतिक चेतना विस्तारको मुख्य आधार शिक्षण पेसा ठिक लाग्यो । यसैले माध्यमिक तहको विद्यालय शिक्षकमा २०४४ असौजदेखि अस्थायी तथा २०४६ बैशाखदेखि स्थायी सेवामा प्रवेश नहुँदै मुलुकमा बहुदलीय पद्धतिले राजनीतिक मान्यता पायो । तर, पार्टीगत कुसंस्कार तथा अदुरदर्शी नेतृत्वका कारण एक दुई वर्षमा नै पञ्चायती व्यवस्थाका तमाम अपराध भुलाउने राजनीतिक तथा प्रशासनिक विकृति र विसंगतिका हरकत, अन्याय, अत्याचार र ठूला ठूला भ्रष्टाचारका काण्डहरु मुलुकमा हुन थाले । काँग्रेस, कम्युनिष्ट सबै पार्टीका विचार दर्शनमा खिया लागे । भीड जम्मा गर्ने संस्कारमा जबर्जस्ती तानातान र आतंकको कारण देशलाई समर्थक र विरोधीको कित्तामा विभाजन गर्न थालियो । सत्ताको पक्षमा सहमतिमा नआउनेहरुलाई महिना दुई महिनामा सरुवा र खेदुवाको पिडा शिक्षण पेसा आफैले सामना गर्न प¥यो । फलत ः कर्मचारी भनेका राजाका मानिस हुन् भन्ने पुरानो विकृत मानसिकताको मुर्खताप्रति ठूलो पछुतो मान्दै निजामती सेवातर्फ शिक्षा सेवाको विद्यालय निरीक्षक पदमा २०५३ कार्तिक ३० देखि प्रवेश गरेको हुँ ।

राजनीति शासन पद्धतिको आस्थाले कहिल्यै नमिठो धक्का महशुस गर्नुभयो ?
जीवनका सच्चाइ तथा वास्तविकतामाथि सही विश्लेषण गरी शायद पञ्चायती व्यवस्थाप्रति त्यतिधेरै पूर्वाग्रही वा मूर्खता नगरेको भए हुन्थ्यो भन्ने पछुतो लाग्दछ । सार्वजनिक सेवामा ०४३/४४ सालतिर नै निजामती सेवामा प्रवेश गरेर वृत्ति विकास गर्दै, मन्त्रालयहरुमा विशिष्ट श्रेणीको जिम्मेवारी सम्हालेर आज निवृत्त जीवनमा पुगिन्थ्यो वा मुख्य सचिवको पदमा पुगेर अरु अरुले झैँ म पनि राज्यका लाभका पदमा पो हुन्थे कि ? भन्ने अपूर्ण सपना उठ्ने गर्दछ । मनका लड्डु घ्यूसित खा भन्ने कल्पना सजाउनु बाहेक जीवनमा अरु के नै रह्यो र ?

आस्था नै डगमगाएको पेशामा कसरी निरन्तरता दिइरहनुभएको छ ?

–सबै किसिमका वैयक्तिक जीवनका योजना तथा कार्यक्रमहरुलाई तिलाञ्जली दिएर सार्वजनिक सेवालाई तथा पेसागत उत्तरदायित्वलाई उच्च प्राथमिकता दिएर काम गरियो । निर्धारित तलबभत्तामा आधारित भई लोभ र दरिद्रताको जन्मनै मनमा उब्जिन नदिएर बाल्यकालमा नै खचाखच भरिएको आध्यात्मिक चरित्रको धार्मिक उदारता तथा निस्वार्थ त्यागको चेतनामा जागीरमा प्रवेश तथा २५ वर्षसम्म अटल भइयो । यसो हुनुमा एकहोरो अपारदर्शी जनवादी बाम राजनीतिक अमूर्त नैतिकता र निष्ठाको पाठ तथा आदर्शको मोहले पनि काम गरेको हुन सक्छ । बहुदल, लोकतन्त्रकाल र गणतन्त्रकालमा प्रवेश गर्दासमेत आफ्नो वैयक्तिक हकमा सबै प्रगतिका मार्गहरुलाई सपना बनाएर राखियो । कथनी र करणीका फरक नमूनाका उत्कृष्ट पात्रहरु राजनीति तथा प्रशासनका घृणित व्यवहारमा के के भएनन् ? सबैको मुक दर्शक भइयो ।

कालकुट सर्पको विष पिएर अमृतको खोजी गरेझैँ नेपाली जनता र देशप्रति राजनीतिक तथा प्रशासनिक नेतृत्वले गद्दारी गरेको टुलुटुल हेरियो । यसैले नेपालको प्रशासन तथा शासन व्यवस्था हेर्दा राजनीतिक कि लाजनीति भन्ने अन्यौलता सिर्जना भएको अनुभव हुन्छ । मुलुकमा राज्य, सरकार तथा नेतृत्व नै छ र ? भन्ने निचोड ९ वर्षको शिक्षण तथा २५ वर्षको सरकारी जागीरको निचोड हुनु कति पिडादायी होला आफैँ अनुमान गुर्नहोस् । त्यहीँ पिडाको अनुभूति र विकृतिका पक्षको संगालो स्थानीय गाउँ गाउँ, जिल्ला, क्षेत्रीय हुँदैँ, केन्द्रीय अड्डामा भोग्दै, नेपाल सरकारको प्रशासनिक निकाय सिंहदरवारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेर कुशासनको अन्तिम भोगाइको बिट मार्न लागिपरेको छु । सार्वजनिक जागीरको अन्त सुखद, दुखद तथा परिणाममुखी वा नतिजाहीन कसरी हुन्छ ? भविष्यको घटना हेर्न बाँकी नै छ ।

भावी जीवन कसरी बिताउने सोच्दै हुनुहुन्छ ?

–गणतन्त्रकालीन राजनीतिमा पनि नेतृत्वको पद्धतिगत, नीतिगत भ्रष्टताबाट सिर्जित मुलुकको कुराजनीति तथा प्रशासनले देशको सार्वभौमिकता नै संकटमा छ । असक्षम नेतृत्व तथा चौतर्फी संकटबाट देशलाई कसरी बाहिर निकाल्ने र नीतिहरुको नीति राजनीतिलाई सुराजनीतिमा कसरी विकास गर्ने ? यही चिन्तन र विचारमा आफूलाई निरन्तर संलग्न गर्नु र हुनु नै मुख्य नागरिक कर्तव्य हो भन्ने ठान्दै आएको छु । यसरी नै विगत तीस वर्षदेखि राजनीतिक चेतनाको प्रयोग र विद्यमान नेतृत्वको घृणित वितृष्णा दुवैको सामना गर्दै मुलुकको लाजनीति तथा कुशासनको एक मतियार पात्र भएर सार्वजनिक सेवामा आफ्नो जीवनलाई लास सरह दासको रुपमा घिसारिरहेको छु, सम्भवत : सार्वजनिक सेवामा रह्दाका विगत ३० वर्षका सुखद, दुखद अनुभूतिहरुको समीक्षा गर्दै, सफलता र असफलतामा आफू कहाँ कहाँ के कति जिम्मेवार तथा जवाफदेही छु, ती सबै पक्षमा बहस गर्दै आफ्नातर्फबाट भएका अनजानका गल्तीप्रति जनतासंग आम रुपमा माफी माग्दै मुलुकको शैक्षिक, सामाजिक तथा आर्थिक विकासका लागि राज्यको नेतृत्व शैलीमा आमूल परिवर्तनका आधार तथा विकल्पात्मक पक्षमा विशेष ध्यान दिन तथा लाग्न आग्रहसमेत गर्न, गराउन जीवन समर्पित गर्न लाग्ने अठोट गरेको छु । हेराै‌ ईश्वरकाे कृपा कस्तो हुन्छ ?