अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण तीव्र गतिमा, प्रदेश सरकारले दियो ३ करोड अनुदान

-



     सफल आवाज    
     असाेज १ गते २०७७ मा प्रकाशित


क्रिकेट मैदानको डिजाइन । तस्वीरः धुर्मुस–सुन्तली फाउन्डेसन


हेटौडा, १ असोज । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य रफ्तारमा अगाडि बढेको छ । बन्दाबन्दीको कारण केहि प्रभावित बनेको क्रिकेट मैदानको निर्माण तीव्र पारिएको धुर्मुससुन्तली फाउन्डेशनले जानकारी दिएको छ ।

काम रफ्तारमा अघि बढेसँगै वाग्मती प्रदेश सरकारले क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई रु तीन करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७/०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो ।

कोभिड –१९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेकाले काम गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिए ।

बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र सञ्चालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली र प्रदेश पूर्वाधार विकास साझेदारी नियमावलीको दोस्रो संशोधन स्वीकृत गर्ने निर्णय पनि गरेको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले जानकारी दिए ।