
काठमाडौं, १९ फागुन । सार्वजनिक सेवामा कार्यरत उच्चपदस्थका अधिकारीहरु पदमा बहाल हुँदासम्म सिर्जनात्मक काममा चासो दिदैनन् । राजनीतिक आड र आसिर्वादमा आकर्षिक हुने अधिकांश अधिकारीहरु संवैधानिक आयोगको जिम्मेवारीमा समेत शीर्षस्थ नेतृत्वमा पुग्दछन् ।
प्रायः उच्च पदस्थ प्रशासकहरु जागिरबाट बाहिरिएपछि पनि राजनीतिक आडमा नियुक्तिको आशामा दुई/चार वर्ष चक्कर मार्दछन् र सत्ता, शक्तिमा भएका राजनीतिक दल तथा तिनका नेतृत्वलाई प्रभावित गरी अवसर लिन सकेमा सुशासनको नारा र आफू इमानदार भएको तथा अन्य कुशासनका मतियार भएको नाटकमञ्चन गर्दछन् । तर, केही कुशल अधिकारी भने गैरजिम्मेवार तथा राजनीतिक आडमा काम गर्नेको घोर विरोध गर्छन् । त्यसैमध्येका एक हुन् शिक्षा सेवाका उपसचिव ईश्वरीप्रसाद पोखरेल । शिक्षा सेवामा प्रवेश भएपछि खेताला शिक्षकको बिगविगी अन्त्य गर्न कम्मर कस्दा सरुवाको पुरस्कार पाएका उनै पोखरेलसँग सफल आवाजका आरजु विष्ट सल्यानीले गरेको कुराकानीको सम्पादित अंश ।
जागिरे मानिसका लागि पेसागत जीवनको गति, यति र चरम प्रगति, आनन्द र सन्तुष्टि के हो ?
विष्टजी धन्यवाद, पेसागत काम कारबाहीका लागि । धेरै चरण र उकाली ओरालीका, घाम र छायाका घुम्तिहरुलाई सधै एकनासमा रहेर हतास नभई निरन्तर नैतिकता, कठोर अनुशासन र मान अपमान र बाधाहरुलाई उच्च आत्मबलका साथ सामना गरेर, मेरो कर्म र निष्ठालाई प्रत्यक्ष र अप्रत्यक्ष कुनै न कुनै शक्ति र पवित्र आत्माको साथ छ भन्ने विश्वासमा रहेर निरन्तर मानिसले आफ्नो ब्रह्मले ठहराएको सत्य र तथ्यमा दह्रो गरी टेकेर आफूलाई तोकिएको सार्वजनिक सेवाको जिम्मेवारीमा समर्पित हुन तथा गर्न सकेमा त्योभन्दा आनन्द र सन्तुष्टि केही हुँदो रहेनछ । यसरी जागीरे जीवनका यति, गति र चरम प्रगतिका चरणहरु पार गर्दै पेसागत उपलब्धिमा आनन्द र सन्तुष्टि हरेक मानिसले हासिल गर्न सक्छ भन्ने मलाई लाग्दछ ।
सरकारी जागिरका प्रारम्भिक तथा जिल्लास्तरका पेसागत तितामिठा अनुभव तथा निराशा र उत्साहका क्षणहरु कस्ता छन् ?
पहिलो पदस्थापन अर्घाखाँचीमा भयो । कतै नगए, केही नदेखिने र पत्ता नलाग्ने तर विद्यालयमा पुगे कतै न कतैबाट सूचना चुहुँदो रहेछ । त्यति बेला जिल्लामा खेताला शिक्षकको बिगबिगी पनि रहेछ । शैक्षिक अनुशासनहीनता तथा पेसागत आचरणका पक्षमा चासो राखी विद्यालयभित्र पस्न खोज्दा, जिल्लाको शिक्षा नेतृत्व र सहयात्रीहरुको पर्याप्त साथ पाउन सकिएन । एकातिर खेताला शिक्षक अर्कोतिर निरीक्षण क्षेत्रका केही अपायक शिक्षकका पीडा समाधानमा अडानपूर्वक भूमिका खेल्दा १४ महिनामा सरुवा हुुनुप¥यो । तर, स्रोतसाधन बिहिनको अति छोटो समय १४ महिनामा १६२ विद्यालयको निरीक्षण, अध्ययन, अनुसन्धान, विद्यार्थी, शिक्षक तथा व्यवस्थापकहरुसँग गरिएका अन्तरक्रिया र स्थलगत भ्रमणले धेरै ज्ञान, क्षमता र पेसागत कुरा सिकायो । मुलुकको शिक्षा व्यवस्थापनबारे धेरै जानकारी र निरन्तरको सरोकारवालासँगको निकटता कायम गर्न धेरै सफल हुनुले अति नै उत्साह थप्यो । फेरि पनि आफ्नै नेतृत्व अभिभावक जस्तो र कथनी र करणीमा एकै भावको नहुनाले जेजस्ता पीडा र उपेक्षाभाव व्यहोर्न प¥यो, त्यो जीवनभर अविस्मरणीय तथा दुखदायी हुने गर्दछ ।
दोस्रो अनुभव गुल्मीको शिक्षा क्षेत्रमा प्रवेश हुनासाथ अर्घाखाँचीमा जस्तो खेताला शिक्षकको खोजी, शैक्षिक विकृति र विसंगति जस्ता पक्षमा ध्यान दिनु अर्को जोखिम हुने व्यवहारगत पक्षको गहिरो अनुभव गरियो । फलतः नितान्त प्राज्ञिक, प्राविधिक, पेसागत सहजीकरण र स्थानीय जनता, जनप्रतिनिधि र विद्यालय व्यवस्थापकहरुको पेसागत दायित्व, जिम्मेवारी र भूमिकाका विषयमा नै केन्द्रित भएर ठाउँ ठाउँमा सयौँ पटक विद्यालयका विद्यार्थीहरु, अभिभावकहरु, शिक्षकहरु, व्यवस्थापकहरुसँग दिनभर अन्तरक्रिया गर्ने, सबैको साझा प्रतिनिधित्व हुने सामूहिक गोष्ठी गरी साझा प्रतिवद्धता सार्वजनिक रुपमा जाहेर गर्ने, गराउने कार्यमा आफूलाई समर्पित गर्न थालेँ । यसरी नै सबै विद्यालयमा व्यवस्थापन समिति गठनमा आफू अनिवार्य उपस्थिति हुने र उनीहरुलाई कानूनी सहजीकरण गरी सबलीकरणबाट धेरै धेरै व्यवस्थापकीय सुशासन र शैक्षिक सुधार प्रर्द्धनमा ध्यान दिन थालेँ । प्राय : माद्यमिक विद्यालयहरुलाई केन्द्रित गरी सबै तहका विद्यार्थी तथा विद्यालयहरुको सहभागिता सुनिश्चित गरी सबै विद्यालयहरुमा र स्रोत केन्द्रस्तरमा प्रतिस्पर्धात्मक कार्यको प्रारम्भ गर्न, गराउँन थालेँ । नवीन नवीन सिर्जनात्मक कार्यहरु र शिक्षकको पेसागत क्षमता तथा शिक्षक, प्रधानाध्पाक तथा व्यवस्थापकहरुका लागि सम्मानका कार्यहरु पनि गर्न सकियो ।
निरीक्षण क्षेत्रका अनुभवसहित आफ्नै प्रयास तथा खर्चमा जिल्लास्तरमा आधा दर्जनभन्दा धेरै पटक जिल्लास्तरीय शैक्षिक अन्तरक्रियाका कार्यक्रमहरु सञ्चालन गर्न, गराउन सकेँ । यसरी कार्य गर्दै गर्दा एकपटक आफ्नै प्रस्तावमा निरन्तरको खटाइमा राष्ट्रियस्तरको शैक्षिक संगोष्ठी २०५८ ३ दिनसम्म गुल्मी तम्घासमा सञ्चालन गर्न सफल भइयो । ६ वर्षभन्दा बढी गुल्मीको बसाइ शैक्षिक निरीक्षण, सुपरिवेक्षण, पेसागत कार्यको आधार निर्माण तथा प्राज्ञिक, प्राविधिक र व्यावसायिक पक्षका विषय पहिल्याउन धेरै धेरै फलदायी रह्यो । तैपनि पूर्ण अधिकार प्राप्त शिक्षा अधिकारी नहुनु, भए पनि सिमित गुट, उपगुटको स्वार्थ र दवावमा चल्नु, कतिपय हाकिम भनिनेहरु नेतृत्वको अधिकारको पूर्ण दुरुपयोग गरी आग्रही पूर्वाग्रही तथा अन्यायपूर्ण व्यवहारमा रमाउनु र कुशासन वृद्धिमा लागेर असहयोगी भएको पाउनु, अधितम समयमा १० विद्यालय निरीक्षक ३ शाखा अधिकृत र १६ स्रोतव्यक्ति भएको जिल्लामा कामु शिक्षा अधिकारी हुनु र परालेत्यान्द्रे हैसियतका नेतृत्वलाई शिरमा राखेर सकारात्मक नतिजा खोज्ने मूर्खताबाहेक सबै पक्षमा गुल्मीको बसाइ ज्यादै सफल र उत्साही रह्यो ।
तेस्रो कार्य अनुभवको क्षेत्र कपिलवस्तु जिल्ला रह्यो । नेपालको अन्नभण्डार, समथर भूमि, सबै पक्षमा सम्पन्न भएर पनि त्यहाँका दक्षिणी भूभागका जनतामा रहेको गरिबी, विपन्नता, शोषण, अशिक्षा तथा सामाजिक विभेदको साक्षी हुने अवसर पाइयो । राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक पक्षले सिर्जना गरेका जनताका पीडादायी तथा अन्यायपूर्ण पक्षको गहिरो अध्ययन, खोज चिन्तन गर्ने अवसर तथा देश चिन्ने मौका पनि यहीँ मिल्यो । आफ्नो सामथ्र्यअनुसार साइकलमा सवार भएर सीमावर्ती नेपालका धेरै विद्यालय तथा भारततर्फका केही १८ वटा जति गरी सीमा आसपास दुवैतर्फका विद्यालयहरु, शैक्षिक गतिविधि तथा अवस्था, सिकाइ गुणात्मकता, सबलता र कमजोर पक्ष, सिकाइका राम्रा राम्रा पक्षहरु धेरै संग्रह गर्न र व्यवहारगत उपायहरु के के हुन सक्छन् भन्ने खोजीको पक्षमा एकीकृत हुन सकियो ।
फलत, विद्यालय नभएका दर्जनौं स्थानमा बालविकास केन्द्र, वैकल्पिक विद्यालय सिकाइ केन्द्र, औपचारिक विद्यालय स्थापना र स्तरवृद्धिका कार्यमा सहजीकरण, सहभागिता, विद्यालय सञ्चालनमा नियमितता, अनियमितताको विरुद्ध धेरै जागरुकताका काम गर्न मौका पाइयो । २०६३ को नागरिकता टोलीमा सीमावर्ती क्षेत्रमा नागरिकता वितरण गर्दा देश, राष्ट्रियता, जनताको स्तर तथा जनतामाथिका घृणित खेलाडीहरुको चरित्र पनि अनुभव गर्न पाइयो । कपिलवस्तु जिल्ला नै मेरो पेसागत क्षमता अभिवृद्धि र सेवासमूहसंगको परिचय हुने र केन्द्र, क्षेत्र र देशका विभिन्न स्थानमा सहभागी हुने थलो बन्यो । तर दुर्भाग्य शिक्षा अधिकारीको मानसिकता, नैतिकता, सुशासन र कार्यपारदर्शिताको अभावमा कतिपय स्थानमा कालो मुख लगाएर हिड्नुपर्ने तथा लज्जित भएर बस्नुपर्ने तर सुधारको काममा बाधा हुने व्यवहार दर्जनौँ घटनाको सामना गर्न परिरह्यो ।
राजनीतिक, शासकीय विकृति र विसंगतिबाट मुलुकलाई मुक्त गर्ने वैयक्तिक चिन्तनमा आधारित पुस्तकको प्रकाशन कपिलवस्तुबाट ‘नयाँ नेपाल₋लोकतान्त्रिक राज्य संरचनाका आधारभूत सूत्रहरु’ २०६१, २०६३ पुस्तकको सार्वजनिकीकरण तथा प्रकाशनबाट नै आफ्नो सार्वजनिक पहिचान बनाउन पनि सफल भइयो । नेता, नेतृत्व, राजनीति तथा प्रशासक भनेपछि घृणा र अविश्वासको प्रारम्भले कोही कसैसंग श्रद्धा र आस्था मरेको बेला, २०६४ बैशाखमा शिक्षामन्त्री प्रदीप नेपालसहित उहाँका आसेपासे दर्जन केन्द्रीय पदाधिकारी सामू एसएस आरपीका बारेमा मन्त्रीसंग गरिएको संवाद र विवाद, असन्तुष्टिले तेरो भविष्य खतरामा छ भनी डर देखाए तर २०६४ असारको मन्त्रालयको निर्णयबाट उपत्यकामा सरुवा भएछ र केन्द्रीय सेवामा प्रवेश हुने मौका मिल्यो ।
केन्द्रको बसाइ धेरैले मन पराउँदैनन्, आर्थिक रुपले जर्जर बनाउँछ भन्छन् तर, केन्द्रीय सेवामा प्रवेशलाई मौका भन्नुभयो ? सकारात्मक आशा जगाउने केही घटना छन् र ?
विष्ट जी, आर्थिक सबलीकरणका दृष्टिले केन्द्रीय बसाइ उपयुक्त हुँदैन र धेरैले बस्न मन पराउँदैनन्, यो कुरा सत्य हो । म आफूले कुनै पनि सम्पत्ति जोडेको तथा कमाएको छैन । नेतृत्वको कोर समूहमा आफूलाई समावेश गरेको छैन । जी हजुरी र दासतासाथ आफ्नो इमान, जमान र स्वकीय अस्तित्वलाई भ्रष्ट तथा कुशासित नेतृत्वलाई समर्पित नगर्दा कुनै आकर्षक जिम्मेवारी तथा कामको अवसर तथा लाभकारी भूमिका मेरो भागमा परेन । काठमाडौं बसाइ धेरै महँगो छ, घरभाडा र छोराछोरीको पढाइका साथै अन्य घरखर्च चलाउन जग्गा जमिन बेचेर पनि वैयक्तिक खानपिन र घर भाडा आदि खर्च चलाउन बाध्य भएँ । २०७४ सालमा कर्मचारी सञ्चयकोषबाट १० लाख ऋण लिएको फिर्ता गर्न नसक्दा १७ लाख कटेको अवस्था छ, शायद निवृत्त हुँदा खाली हात भइने होला ?
तर, पनि काठमाडौं किन बसेको, कर्मचारी समायोजनमा सरकारको कानूनलाई चुनौती नदिएर जहाँ खटायो, त्यहाँ किन नगएको भन्ने प्रश्न धेरै गरिन्छ ? म आफू राजकीय शक्ति तथा सत्ताका अधिकार एवं त्यसका चालक कर्मचारीहरु पूर्ण विकेन्द्रीकरणमा जानुपर्दछ भन्ने मान्यता राख्ने मानिस हुँ । खुशी भएर देश, जनताको सेवा गर्न पेसागत न्याय र मर्यादा हुनुपर्नेमा हिटलरी शैलीमा कसैलाई मालिक र कसैलाई दास बनाएर सबै अधिकार केन्द्रमा सिमित गरी गरिएको कुसमायोजनलाई एक्लै संघर्ष गरेर अस्वीकार गरेको हुँ । देशको राज्यसत्ता, सरकार तथा नेतृत्व वर्ग झुक्यो तर म झुकिनँ । यही अडान, सत्य निष्ठा र नैतिकता नै केन्द्रमा मैले कमाएको महत्वपूर्ण सम्पत्ति हो ।
केन्द्रको जागिरमा बसाइका अरु पनि केही फाइदा छन् कि ?
सही प्रश्न गर्नुभयो । प्रत्यक्ष रुपमा कुनै आर्थिक आम्दानी र लाभ तत्काल नहुने भएपनि नेपालको कर्मचारी प्रणालीमा कुनै शासकीय पद्धति छैन । नेताको आदेश, निर्णय र मनोमानीको बोलबाला छ । जीहजुरी तथा चाकरी चाप्लुसी र चम्चागिरीमा वृत्तिविकास, अवसर र लाभका पद हत्याउने र देशभर पुग्ने क्षमता विकास गर्न पनि केन्द्र नै फलिफाप हुने गरेको छ । नेपालको शासन पद्धति तथा नेतृत्व वर्गले दुरदराजको काम र क्षमता चिन्दैन । आफ्ना सेवाका आफ्ना सहयोगी कर्मचारी र पेसागत उपलब्धिका कार्यहरु चिन्दैन । कर्मचारीको कामको सही मूल्याङ्कन कहिल्यै गर्दैन । मन्त्री, सचिव, सहसचिवको निकटमा पुगेर दिनहुँ जी हजुरी र नमस्कार तथा अगाडि, पछाडि गर्ने तथा दुरदराजमा भए पनि बेलामौकामा कोसेली पठाउने र मनग्य सहयोग गर्न जायज, नाजायज काम गर्न वचनवद्धता भएका भरौटेहरुलाई मात्र चिन्दछ भन्ने बजार हल्ला पनि प्रशस्त सुनिन्छन् ।
देश, जनता र पेसागत आचरणभन्दा शक्ति, सत्ता र नेतृत्वलाई रिझाउनेहरु मात्र पुरस्कृत हुन्छन्, लाभका पद, वृत्ति विकास तथा देश विदेशको तालिम, अध्ययन भ्रमणको सुविधा पाउँछन् भन्ने भनाइमा धेरै सत्यता छ, मेरो पनि भोगाइ रहेको छ । कुनै कुनै व्यक्ति यस्ता पनि पाइन्छन्, जसले बारम्बार पुरस्कार पाउँछन्, अवसर पनि दोहोरो, तेहरो मात्र होइन उनीहरुले नचाहेमा मात्र अन्य पदाधिकारीमा पुग्छ । यस्तो कुशासन अभिवृद्धिमा केन्द्र र दुर्गम जहाँ बसे पनि साधारण तथा स्वाभीमानी कर्मचारीका लागि एउटै व्यवहार हो भन्ने मलाई लाग्दछ,। नेपालको सार्वजनिक प्रशासन, शिक्षा क्षेत्रका विकृति र विसंगतिका बारेमा पुस्तकमा धेरै कुरा सार्वजनिक रुपमा लेखिसकेको छु । यी पुस्तकहरु :
१) नेपालको शैक्षिक व्यवस्थापन, संगति विसंगति
२) नेपाली शैक्षिक प्रणालीका स्वरुपहरु व्यवहारिक विश्लेषण
३) शिक्षण पेसा र निरीक्षण व्यवस्थापनका चुनौतीहरु
४) शिक्षा दर्शन र सामाजिक रुपान्तरणका मुद्दा
५) नेपालको सार्वजनिक प्रशासन व्यवहारिक विश्लेषण, मा प्रमाणसहित विवरणहरु पस्किएको छु ।
कुशासनको नियतिमा फसेको सार्वजनिक प्रशासनमा केन्द्रको लाभ तपाईले पनि पाउनु भयो कि ?
विष्ट जी, म दावीसाथ भन्छु, मैले जिल्लामा बस्दा जति प्राज्ञिक, प्राविधिक, व्यावसायिक, पेसागत निष्ठासाथ जे जति काम र प्रगतिका खाका कोर्ने सहास र नेतृत्वदायी भूमिका निर्वाह गरेँ त्यति मेरो सेवामा रहेका वा अन्य सेवामा रहेका जो कसैले गरेको प्रमाण दिन्छ भने जीवनभर नतमस्तक भएर दासता स्वीकार्ने छु । तर सरकार, राज्य र नेतृत्वबाट मलाई कुनै प्रोत्साहन, धन्यवाद र सकारात्मक उत्प्रेरणा दिएको थाह छैन । केन्द्रमा सरुवा भएर आएपछि चाहिँ कुनै कार्यक्रममा सहभागी हुन मौका मिलेमा बस्यो, कुरा सुन्यो, धेरै थोरै भए पनि भत्ता बुझ्यो र खाजा खायो । मन्त्री, सचिव तथा सहसचिवहरुसँग प्रायः भेटघाट प्रत्यक्ष नभए पनि अप्रत्यक्ष हुने र कुनै कुनै कार्यक्रममा जम्काभेट पनि हुने भएपछि, कतै केही बोलिहालेमा नेतृत्वको सकारात्मक तथा नकारात्मक प्रभावसाथ आँखामा प¥यो । जीवनमा म आफूले आफ्ना लागि कुनै लाभकारी स्वार्थपूर्ण माग वा मानवीय चरित्रका ससाना पारिवारिक हित तथा वृत्तिविकास वा सरुवा, बढुवा तथा यो पद, यो ठाउँ, यो शाखा र जिम्मेवारी पाउँ भनी अनुरोध गरेको छैन ।
जहाँ पठायो, जहाँ जिम्मेवारी दियो, त्यही रमाएर आफ्नो बुद्धि विवेकले भ्याएसम्म इमानदारिता र निष्ठापूर्वक काम गर्ने गरेको छु । नेतृत्वले मेरो कार्यलाई सकारात्मक वा नकारात्मक जे जस्तो दृष्टिले हेरेको होस् तर ठूलो समूहमा पारेर सरकारी पासपोर्ट बनाएर दुईचार दिन नै सही चीन र थाइल्याण्ड जस्ता विदेशमा जाने दुई, तीन पटक अवसर पनि पाइयो । शायद जिल्लामा नै भएको भए, पासपोर्ट बन्थ्यो होला र ? आफैलाई प्रश्न गर्दछु । साथै, देशका २०/३० जिल्लामा पुगेर सबै भूगोल र क्षेत्रका जनताका जीवन, शिक्षास्तर तथा आयार्जन र हाम्रो शिक्षा प्रणालीको खोतलखातल गर्ने मौकाले देहायका पुस्तक पनि केन्द्रमा नै सिर्जना गर्न सकियो, यसरी सयौं लेखहरु लेखियो, दर्जनौं जर्नल र स्मारिका सम्पादन गरियो । तालिम प्याकेज र स्रोत सामग्री विकास र पेसागत सम्बद्ध सयौँ प्रशिक्षक, प्रशिक्षणमा सहभागी र सहजीकरणका अवसर पाइयो । अनि केन्दीय मोहलाई अवसर नभन्ने त ?
केही समय क्षेत्रीय शिक्षा निर्देशनालय पोखरामा सेवारत रह्नुभयो, त्यहाँका सिर्जनात्मक तथा स्मरणीय कार्यहरु केही छन् ?
मेरो पोखराको बसाइ २७ महिना मात्र हो, आफूले आफैलाई पेसागत कार्यमा क्रियाशील बनाउन पर्दछ भन्ने मन लाग्यो । प्रश्न बनाएर शिक्षा क्षेत्रका विभिन्न विषयमा सरोकारवालाका धारणा संकलन गर्न विद्यालय, विद्यालय, जिल्ला जिल्ला पुगेँ अनि २४सै घण्टा एक्लै खटेर भए पनि निर्देशनालयको नाममा प्रकाशन खर्च जुटाएर शैक्षिक जर्नल २०७१ तथा २०७२ गरी २ वटा वार्षिक अंक, शिक्षा निर्देशनालय पोखराबाट जर्नल प्रकाशित गर्न, गराउन पूर्ण सफल पनि भएँ ।
सरकारी निकायबाट यस किसिमको जर्नल त्यस पूर्व र पछि पनि बिरलै निस्कने गर्दछ । सरकारी कार्यालयबाट जन आवाज तथा जनपक्षीय विचारको संग्रहित संगालो निकाल्न सकेकोमा र परम्परा तोड्दै नयाँ धारबाट जर्नल निकालिएकोमा आफूलाई धेरै सफल भएको ठानेको छु । जर्नल तत्कालीन पश्चिमाञ्चलको विकास र समृद्धिका सपना र तथ्याङ्कका लागि अति संग्रहणीय हुने गरी विकास गर्न सक्नु ठूलो सिर्जना हो भन्ने लाग्दछ ।
पोखरामा बस्दा महाभूकम्प २०७२ गयो, बालबालिकाको फोटो खिचेर सहयोगका नाममा १० रुपैयाँ खर्च गरेर फेसबुकमा पोष्ट गर्ने र बालमस्तिष्कमा आघात गर्ने अपराध हुन थालेकोमा असहमति जनाउँदै वैयक्तिक रुपमा सरकारलाई आफुले पाउने एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गरेर छुट्टै बालबालिका शैक्षिक तथा स्वास्थ्य परामर्श र सहायता कोष राज्यले स्थापना गर्न आवश्यक छ भन्दै लाखौँ खर्च गरेर पोखरा, बुटवल, काठमाण्डौँ रिपोटर्स क्लबजस्ता स्थानमा आधा दर्जन कार्यक्रम चलाउन तथा अभियानको मार्ग पहिल्याउन सकेँ । तर नेपालको शैक्षिक अवस्थामा अग्रणी रहेको तत्कालीन पश्चिमाञ्चल क्षेत्रको शैक्षिक प्रगतिको बाधक नवलपरासी, रुपन्देही र कपिलवस्तुका दक्षिणी भाग र पहाडी जिल्लाका निश्चित समुदाय र भेग केन्द्रित कार्यक्रम चलाउन सकेमा देशको पहिलो हुन्छ भन्ने सल्लाह र मागमा नेतृत्वलाई कहिल्यै सहमत गराउँन र संवेदनशील तुल्याउन सकिनँ । यो गर्न नसकेकोमा पछुतो लागिरहन्छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




