मनसुन पुनः सक्रिय हुँदा ५ दिन देशभर वर्षा

-



     सफल आवाज    
     असाेज ७ गते २०७७ मा प्रकाशित



काठमाडौँ, ७ असोज । नेपालमा अझै ५ दिन वर्षा हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले ५ दिनसम्म देशभर बदलीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा ५ दिन नेपालको धेरै स्थानमा वर्षा हुनाका साथै तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गका अनुसार मनसुन अन्त्य हुने औसत समय सेप्टेम्बर २३ भए पनि उक्त प्रणालीको प्रभावले अबको केही समय पुनः मनसुन सक्रिय हुने भएको हो ।

वर्षा र बदली गराउने न्यूनचापीय प्रणाली नेपालमा अझै ४/५ दिन रहने भएकाले मनसुन पनि ढिलो बाहिरिने मौसमविद्को अनुमान छ ।

त्यस्तै बढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन असोज १० गतेसम्म देशभरका नदीमा बहाव उच्च हुने पूर्वानुमान गरेको छ ।

वाग्मती र प्रदेश नं ५ का केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र गण्डकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानीको सतह सतर्कताको चिह्नभन्दा तलै हुने भए पनि सामान्यावस्थाबाट एक्कासि बढ्ने सम्भावना रहेकाले सम्भावित क्षतिबाट जोगिन असोज ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा गर्नुपरेमा उच्च सतर्कतासाथ गर्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।