‘अघोषित लोडशेडिङ’को मारमा परे उद्योगी, प्राधिकरण भन्छ : धैर्य गरौं

-



     सफल आवाज    
     वैशाख १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ वैशाख । पछिल्लो समय उद्योगी व्यवसायीहरू ‘अघोषित लोडशेडिङ’को मारमा परेका छन् । नेपाल विद्युत प्राधिकरणले उद्योग व्यवसायमा विद्युत कटौती गर्दा उद्योगीहरू मारमा परेका हुन् ।

कोरोना महामारीपछि तंग्रिदै गएको उद्योग व्यवसाय पछिल्ला दिनहरूमा ‘अघोषित लोडशेडिङ’को मार खेप्नुपर्दा बन्द गर्नुपर्ने अवस्था आएको गोल्यान समूहका अध्यक्ष पवन गोल्यान बताउँछन् । उनका अनुसार, अघोषित रूपमा विद्युत कटौती हुँदा रिलायन्स मिलमा मात्रै एक जनालाई एकदिनमा ५० लाख रुपैयाँको घाटा भइरहेको छ ।

‘निरन्तरको लोडशेडिङले उद्योग सञ्चालन गर्न सक्ने अवस्था नै छैन, कसरी उद्योग खोल्नु ? ५ दिन भयो बिजुली नआएको,’ गोल्यानले भने । अध्यक्ष गोल्यानले सरकारले निर्यातमुखी उद्योगलाई प्रोत्साहन गर्नुको साटो विद्युत कटौती गर्दा समस्या भएको गुनासो गरे ।

एउटा उद्योगमा करिब ४ हजारभन्दा बढीले रोजगार पाएको उल्लेख गर्दै उनले लोडशेडिङकै कारण उनीहरूको व्यवस्थापन तथा औद्योगिक खर्च धान्न नसक्ने अवस्थामा पुगेको बताए । ‘एकातिर सरकारले निर्यात बढाउने कुरा गरिरहेको छ, अर्कातिर उद्योग बन्द गर्न बाध्य पार्दैछ ? कहाँ तालमेल मिलेको छ ? मुखले भनेर मात्रै निर्यात त बढ्दैन,’ उनले भने ।

उनका अनुसार, अन्य उर्जाले उद्योग चलाउँदा एक दिनमा ६० लाखभन्दा बढी अतिरिक्त खर्च लाग्छ । अध्यक्ष गोल्यानमात्रै हैन, अहिले अधिकांश उद्योगधन्दामा विजुली नपुग्दा उद्योग व्यवसायीहरू मारमा छन् ।

आइतवार नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति जारी गर्दै चर्को लोडसेडिङका कारण पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेको महासंघले जनाएको छ ।

मुलुकका प्रमुख औद्योगिक करिडोरहरूका सयौं उद्योगहरू दैनिक बिना कुनै पूर्व सूचना १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थलापर्ने अवस्थामा पुगेको महासंघले विज्ञप्तिमा जनाएको छ ।

‘लोडसेडिङका कारण उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी तथा उत्पादकत्वमा प्रतिकूल असर पर्नुका साथै मुलुुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित भएको छ,’ महासंघले भनेको छ ।

महासंघले लामो समय विद्युत कटौती, ट्रिप्लिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपरझट विद्युत आपूर्ति बन्द हुँदा करोडौं पर्ने मेसिनहरूमा क्षति पुुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हुँदा सामान डेलिभरी, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र सावाँ भुक्तानी लगायतमा गम्भीर समस्या परेको गुनासो गरेको छ ।

यस्तै पूर्वका उद्योगीहरूले पनि पत्रकार सम्मेलन गर्दै दुई वर्षदेखि कोभिडको महामारीबाट थला परेका उद्योग व्यवसाय क्षेत्रले केही महिनायता भोग्नु परेको वित्तीय संकट तथा बढदो ब्याजदरले मरणासन्न पुर्‍याएको अवस्थामा बिना सूचना नै विद्युत आपूर्ति रोक्दा उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको बताएको छ ।

लोडशेडिङ तालिका माग
निरन्तरको अघोषित लोडशेडिङको मारमा परेपछि उद्योगी व्यापारीहरूले विद्युत प्राधिकरणले लोडशेडिङ तालिका नै माग गरेका छन् । पूर्वका विभिन्न संगठनहरू मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश १ विद्युत प्राधिकरणलाई लोडशेडिङको तालिका नै माग गरेका हुन् ।

पूर्व सूचनाबिना पटक पटक विद्युत आपूर्ति रोकिँदा उद्योगको उत्पादन प्रक्रियामा अवरोध हुनुका सार्थ कच्चा पदार्थ तथा मिल र मेसिनहरूमा क्षति पुग्ने भन्दै उनीहरूले लोडशेडिङ तालिका नै माग्नुपरेको बताएका छन् ।

आन्दोलनको घोषणा
उद्योगी व्यवसायीहरूले मंगलवारसम्ममा आफूहरूको माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम नै घोषणा गर्ने चेतावनी समेत विद्युत प्राधिकरणलाई दिएका छन् । मंगलवारसम्ममा माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरूले बताएका हुन् ।

उनीहरूले लोडसेडिङको तालिका सार्वजनिक गर्नुपर्ने, स्वदेशी विद्युत उत्पादन क्षमताको अधिकतम उपयोग गर्नुपर्ने, विद्युतको न्यायोचित वितरण गर्नुपर्ने, विद्युतको डिमान्ड शुल्कको खारेजी तथा कूटनीतिक पहलबाट विद्युत आपूर्तिमा आएको समस्याको समाधान खोज्नुपर्ने जस्ताा माग राखेका छन् ।

के भन्छ विद्युत प्राधिकरण ?
उद्योगहरूमा विद्युत अभावको मुल कारण उर्जा संकट रहेको बताउँदै यसको व्यवस्थापनका लागि प्रयासरत रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणका प्रवक्ता सुरेश कुमार भट्टराईले उर्जा संकटका कारण अहिले नेपालमा पनि समस्या भएको बताए ।

उनले भारतबाट बिजुली आयात हुन नसके उद्योगहमा विजुली दिन नै नसकिने अवस्था आउने समेत बताए । भारतबाट बिजुली आयात हुन नसके ठूला उद्योगमा विजुली नै दिन नसकिने बताए ।

‘भारतका १४ भन्दा बढी राज्यमा लोडसेडिङ सुरु भएको छ । महँगो मूल्यमा विजुली खरिद गर्छौँ भन्दा समेत पाउन सकेका छैनौँ,’ उनले भने,‘अबको केही दिन धैर्य गर्न सक्यौँ भने आफ्नै उत्पादनले पुग्छ ।’

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कोइलाको अभाव भएको छ । जसका कारण भारतमा विजुली उत्पादन घटेको समेत उनले जानकारी दिए ।

उनले प्राधिकरण लोडशेडिङ तालिका प्रकाशन गर्ने तयारीमा रहेको समेत बताए । ‘आज तालिका प्रकाशन गरेर के गर्नु, भोलि किन्न खोज्दा सहजै पाउन पनि सकिन्छ भन्ने आशा हुन्छ,’ उनले भने,‘अहिले लोडशेडिङ तालिका प्रकाशन गर्नेतर्फ सोचेका छैनौँ ।’