सातामा २ दिन बिदाले कति घट्छ पेट्रोलियम पदार्थको खपत ?

-



     सफल आवाज    
     वैशाख २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ वैशाख । सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिएसँगै पेट्रोलियम पदार्थको खपत १० प्रतिशतले घट्ने नेपाल आयल निगमले जनाएको छ ।

सरकारजे जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने सूचना राजपत्रमा नै प्रकाशन गरिसकेको छ । २ दिने सार्वजनिक बिदाले डिजेल र पेट्रोलको खपत करिब ७ प्रतिशतदेखि १० प्रतिशतसम्म कम हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

दुई दिन सार्वजनिक बिदा भएपछि सवारीसाधन कम चल्ने भएकाले इन्धन खपतमा कमी हुने अनुमान गरिएको हो । वैशाख पहिलो साता प्राप्त भारतीय आयल कर्पोरेसन (आईओसी)को नयाँ बिक्री मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको खरिद लागत मूल्य क्रमशः प्रतिलिटर १८३ रुपैयाँ दुई पैसा र १८३ रुपैयाँ १३ पैसा छ ।

निगमले अहिले प्रतिलिटर १६० रुपैयाँ लिटरमा पेट्रोल र १४३ रुपैयाँमा डिजेल बिक्री गर्दै आएको छ, जसअनुसार निगमलाई पेट्रोलमा लिटरमा २३ रुपैयाँ दुई पैसा र डिजलमा प्रतिलिटर ४० रुपैयाँ १३ पैसा घाटा छ ।