
काठमाडौं, ४ वैशाख । प्रतिनिधि सभामा बजेट अधिवेशन शुरू भएको छ । बजेट अधिवेशन शुरू भएसँगै प्रतिनिधि सभामा आज (बुधवार)बाट प्री बजेट माथिको छलफल शुरू हुँदैछ । संसदमा आज र भोलि प्रिबजेट छलफल हुने कार्यसूची तय गरिएको छ ।
मंगलवार बजेट अधिवेशन शुरू गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । संसदमा अर्थमन्त्री शर्माले उत्पादन वृद्धि र पूर्वाधार विकासलाई बजेटको प्राथमिकता हुने बताएका छन् ।
बजेट पेश गर्नुभन्दा १५ दिन अगावै प्रीबजेट छलफल गर्नुपर्ने व्यवस्था रहे पनि ढिला भएपछि संसद नियमावलीको नियम निलम्बन गरेर छलफल शुरू गरिएको हो ।
आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि संसदबाट प्राप्त हुने सुझावका आधारमा बजेट ल्याउने उनले बताए । सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउँदैछ ।
संसदको संयुक्त सदनमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।
‘जमिन बाँझो राखेर युवापुस्ता विदेशिने अवस्था हटाउने गरी बजेट आउँछ‘
अर्थमन्त्री जनार्दन शर्माले खेतीयोग्य जमिन बाँझो राखेर युवापुस्ता विदेशिने अवस्था हटाउने गरी बजेट ल्याइने बताएका छन् । यसका लागि कृषि उत्पादनमा जोड दिने कार्यक्रमहरू आउने उनको भनाइ छ ।
विनियोजित विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले देशभित्र आन्तरिक उत्पादन नबढ्नु र आयात मात्रै बढ्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको समेत बताए । उनले भने, ‘आयातमा भर पर्नुपर्ने, खेतीयोग्य जमिन बाँझो राखेर युवापुस्ता विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने चुनौती सरकारलाई थपिएको छ ।’
यसले समग्र अर्थतन्त्रको संरचनागत प्रणालीमा असर गर्ने भएकाले आत्मनिर्भर अर्थतन्त्र उन्मुख हुने गरी बजेटका प्राथमिकता तय हुने पनि उनले बताए ।
आगामी आवको बजेटलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने, समाजवाद उन्मुख र आर्थिक रूपान्तरणमा केन्द्रित हुने पनि अर्थमन्त्री शर्माको भनाइ छ । बजेटको सिद्धान्तमा स्थानीय पूर्वाधार निर्माणका लागि अधिक बजेट खर्चिने उल्लेख छ । बजेटले कुल राजस्वमा आन्तरिक राजस्वको हिस्सा बढाउँदै लैजाने पनि शर्माले उल्लेख गरे ।
अर्थमन्त्री शर्माले दिगो विकासको लक्ष्य, १५ औं राष्ट्रिय योजना र सरकार गठन हुँदा तय गरेको न्यूनतम साझा कार्यक्रमलाई मार्गदर्शन मानेर बजेट बजेट ल्याउने बताएका छन् । दुर्गम क्षेत्रका जनताको आवश्यकताका विषयलाई सम्बोधन गरेर बजेट आउने पनि उनले बताएका छन् ।
शर्माले भने, ‘संघीय लोकतान्त्रिक प्रणालीको सुदृढीकरण, समष्टिगत आर्थिक स्थायित्व, जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्न समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने गरी बजेट आउने छ ।’ सन्तुलित र समावेशी आर्थिक विकास गर्दै जाने, आर्थिक वृद्धिको लाभ समाजका सबै वर्ग र तहमा पुर्याउने गरी बजेट आउने छ ।’
आगामी बजेटले ग्रामीण विकासलाई प्राथमिकता दिइने, स्थानीय पूर्वाधार विकासमा लगानी केन्द्रित गर्ने, सभ्य र समतामूलक समाज निर्माण हुने गरी बजेटले प्राथमिकता कार्यक्रम तय गरेको भएको छ । स्वदेशी वस्तुको उत्पादनमा वृद्धि गरी निर्यात बढाउने कार्यक्रम पनि बजेटबाटै ल्याइने भएको छ ।
सम्भाव्य आयोजनमा मात्रै बजेट विनियोजन गर्ने, कर प्रणालीमा सुधार गर्ने तथा करको दायरा बढाउने, सार्वजनिक ऋणलाई राष्ट्रिय प्राथमिकता क्षेत्र तथा उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने कार्यक्रमसहित बजेट आउने पनि उनको भनाइ छ । आगामी आवको बजेटले स्थानीय तहलाई राष्ट्रिय राजमार्गमा जोड्ने कम्तीमा एउटा सडक बाह्रै महिना चल्ने क्षमतामा विकास गर्ने कार्यक्रमलाई पनि पहिलो प्रथामिकता दिने अर्थमन्त्री शर्माले बताए ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




