महोत्तरीको गौशाला र बाँकेको नरैनापुरमा जसपा विजयी

-



     सफल आवाज    
     जेठ ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ जेठ । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ । आज सम्पन्न मतगणना परिणामअनुसार प्रमुखमा आठ हजार ७९९ मतका साथ डा दीपेन्द्रकुमार सिंह र उपप्रमुखमा आठ हजार ४५५ मत प्राप्त गरी रेणुकुमारी महतो निर्वाचित भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

प्रमुख र उपप्रमुख दुवै पदमा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका थिए । प्रमुखमा विष्णु योञ्जन लामाले पाँच हजार ६२७ र उपप्रमुखमा जनकदुलारी साहले पाँच हजार ४९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले पुष्टि गरे। गौशालासँगै अब परिणाम घोषणा भएका स्थानीयतहको सङ्ख्या जिल्लामा १३ पुगेको छ ।

जिल्लामा अब जलेश्वर र भङ्गाहा नगरपालिकाको मात्र परिणाम घोषणा हुन बाँकी रहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीयतह निर्वाचन भएपछि आज एक सातापछि गौशालाको परिणाम घोषणा भएको हो ।

नरैनापुरमा जसपा विजयी

स्थानीय तह निर्वाचनअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भए । गाउँपालिका अध्यक्षमा जसपाका इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव पुनः दोहोरिए ।

अध्यक्ष पदमा शाहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र मौर्यलाई एक हजार ३५२ मतको अन्तरले पराजित गरे। शाहले पाँच हजार ३७ मत प्राप्त गरी विजय हुँदा निकटम प्रतिस्पर्धी मौर्यले तीन हजार ६८५ मत ल्याए । नेकपा एमालेकी पद्मावती यादवनीले तीन हजार १२२ मत प्राप्त गरेको निर्वाचन अधिकृत रेशम आचार्यले जानकारी दिए। उनका अनुसार, उपाध्यक्षमा श्रीवास्तवले नेपाली कांग्रेसकी अतिकुन निसालाई २०७ मतको अन्तरले पराजित गरिन।

श्रीवास्तवले तीन हजार ८७९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसकी अतिकुनले तीन हजार ६७२ मत ल्याइन । तेस्रो स्थानमा नेकपा एमालेका पञ्चराम यादवले दुई हजार ८०४ मत प्राप्त गरे।

गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका इसाक जोलाह, वडा नम्बर २ मा जसपाका मसुद अहमद शाह, वडा नम्बर ३ मा जसपाका अजयकुमार मिश्र, वडा नम्बर ४ मा कांग्रेसका मनोजकुमार शर्मा, वडा नम्बर ५ मा कांग्रेसका कृष्णचन्द्र मौर्य र वडा नम्बर ६ मा कांग्रेसकै प्रेमचन्द्र मौर्य निर्वाचित भए।