बुटवल उपमहानगरकाे प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल विजयी

-



     सफल आवाज    
     जेठ ७ गते २०७९ मा प्रकाशित



लुम्बिनी, ७ जेठ । स्थानयि तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे विजयी भएका हुन् ।

मतगणना आज भर्खरै सकिए पनि एकीकृत गर्ने काम नसकिएकाले घोषणा गर्न अझै केही बेर लाग्ने प्रमुख निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए। “गणना भएका सबै मतको एकीकृत गर्ने काम भइरहेको छ, अन्तिम आधिकारिक घोषणा गर्न अझै केही समय लाग्नेछ”, प्रमुख निर्वाचन अधिकृत पौडेलले भने।

स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा नेकपा (एमाले)का तर्फबाट नगरप्रमुख निर्वाचित भएका निवर्तमान नगरप्रमुख शिवराज सुवेदीसँग करिब दुई हजार ३०० मतले पराजित भएका पाण्डेलाई अहिले एमालेकै उम्मेदवारलाई सात हजारभन्दा बढी मतान्तरले पराजित गरेर विजयी भए।

उपप्रमुखमा भने एमालेकी उम्मेदवार सावित्रा अर्याल विजयी भएकी छन् । उनी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार चीनबहादुर गुरुङलाई झण्डै सात हजारभन्दा बढी मतान्तरले पछि पार्दै विजयी भएकी हुन्। बुटवलमा १९ वडा रहेकामा कांग्रेसले १२ वडामा जित हासिल गरेको छ । एमालेले पाँच वडामा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले एक र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।