फलामको कच्चा पदार्थकाे आयातकर बढेपछि उद्योग मन्त्रालयले पठायाे अर्थलाई पत्र

-



     सफल आवाज    
     जेठ १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ जेठ । उद्योग मन्त्रालयले कर्कटपाता, पाइप, जीआई वायर लगायतका फलामे सामग्रीको कच्चा पदार्थ महँगो भएका विषयमा अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ। उद्योगले बिहीबार अर्थलाई पत्राचार गर्दै तयारी वस्तुको महसुल बढाएर नेपालका उद्योगको संरक्षण गर्न अनुरोध गरेको हो।

उद्योग सचिव अर्जुन पोखरेलका अनुसार बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले फलाम उद्योगको संरक्षणका लागि राजस्व संरचनामा सुधार गर्न आग्रह गरेको थियो।

भारतले गत शनिबार मात्र फलामजन्य कच्चा पदार्थको निर्यातमा १५ प्रतिशतसम्म निकासी कर बढाएको थियो। यसअघि शून्य रहेको फलामजन्य कच्चा पदार्थहरूको निकासी शुल्क भारत सरकारले १५ प्रतिशतसम्म पुर्याएको छ ।

भारतले फलामजन्य तयारी वस्तुको शुल्क भने बढाएको छैन । यसले गर्दा नेपालमा कच्चापदार्थ ल्याएर सामान उत्पादन गर्ने नेपाली उद्योगहरू समस्यामा पर्ने उद्योगी व्यवसायीको भनाइ छ ।

भारतले यस्ता पदार्थहरूको निकासी शुल्क वृद्धि गरेपछि नेपालमा फलामजन्य सामाग्रीहरू,वायर रड तथा फलामे पाइपहरूको मूल्य बढ्ने उद्योगी व्यवसायीहरूले बताएका छन् ।

उद्योगी व्यवसायीहरूले आगामी आर्थिक वर्ष २०७९-८० को बजेटमा सरकारले फलामजन्य उद्योगहरूलाई सुरक्षित गर्ने नीति लिन आग्रह समेत गरेका छन् । फलामजन्य पदार्थको तयारी वस्तुमा १५ देखि २० प्रतिशतसम्म शुल्क बढाएर भएपनि नेपाली उद्योगलाई सुरक्षित गर्न उद्योगी व्यवसायीको आग्रह रहेकाे छ ।