तारा एयरको हराइरहेकाे विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो, दुर्घटनास्थलमा काेही जीवित भेटिएनन्

-



     सफल आवाज    
     जेठ १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ जेठ। हिजोदेखि हराइरहेकाे तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकै पहाडमा ठोक्किएर दुर्घटना भएकाे साे जहाज टुक्रा–टुक्रा भएको अवस्थामा फेला परेको छ ।

दुर्घटनाग्रस्त अवस्थाकाे उक्त जहाज स्थानीयले फेला पारेकाे सेनाका प्रवक्ता सिलवालले बताए । प्रतिकूल मौसम र भूगोलका कारण ठूलो हेलिकोप्टर पुग्न नसक्ने भएकाले सानो हेलिकोप्टर दुर्घटनास्थलमा पठाउने तयारी भइरहेको समेत सिलवालले बताएका छन ।

दुर्घटनास्थल पुगेका नेपाली सेना र स्थानियका अनुसार साे जहाजमा सवार कोही पनि जीवित अवस्थामा छैनन।

हिजाे बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको साे नाइन एन एईटी कल साइन भएको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो । उक्त जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार रहेका थिए । जसमा २ जना जर्मनी, ४ भारतीय र १३ नेपाली यात्रु थिए। जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए।

तस्बिरहरू : नेपाली सेना र सामाजिक संजाल