काठमाडौँ विश्वविद्यालयको २७औं दीक्षान्त समारोह सम्पन्न, बौद्धिक प्रतिभा पलायनलाई रोक्नुपर्ने प्रधानमन्त्रीको भनाई

-



     सफल आवाज    
     जेठ २० गते २०७९ मा प्रकाशित


प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा काभ्रेपलाञ्चोकको धुलिखेलमा शुक्रबार आयोजना गरिएको काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षान्त समारोह (दोस्रो चरण)को क्रममा विद्यावारिधि गर्नुभएका विद्यार्थीलाई उपाधि प्रदान गर्दै । तस्बीर : पेमा लामा, रासस


धुलिखेल, २० जेठ। प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरुको रुचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई आग्रह गरेका छन ।

काठमाडौँ विश्वविद्यालयको दोस्रो चरणको २७औँ दीक्षान्त समारोहलाई आज काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उहाँले बढ्दो शैक्षिक बेरोजगारी हटाइ बौद्धिक प्रतिभा पलायनलाई नरोक्दासम्म मुलुकमा उज्यालो भविश्य सुनिश्चित गर्न नसकिने बताएका हुन । प्रधानमन्त्री देउवाले शिक्षित युवा जनशक्ति मुलुकको विकास र परिवर्तनका संवाहक भएकाले दीक्षित युवा जनशक्तिलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे । यसका लागि विश्वविद्यालयलाई आवश्यकपर्ने सहयोग र सहजीकरणका लागि सरकार तयार रहेको पनि बताए ।

प्रधानमन्त्री एवम् काठमाडौं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा काभ्रेपलाञ्चोकको धुलिखेलमा शुक्रबार आयोजना गरिएको काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षान्त समारोह (दोस्रो चरण) लाई सम्बोधन गर्दै । तस्बिर : पेमा लामा, रासस

प्रधानमन्त्री देउवाले काठमाडौँ विश्वविद्यालयले शैक्षिक क्षेत्रमा मुलुकको शिक्षा क्षेत्रको प्रतिष्ठा प्रवद्र्धन गरी विश्वमा पु¥याउन सहयोग पुगेको बताउदै विश्वव्यापीरुपमा फैलिएको कोभिड– १९ को महामारीका बीचमा पनि आफ्ना शैक्षिक क्यालेण्डरअनुसार कार्यक्रमलाई निरन्तरता दिएको र बौद्धिक जनशक्तिको पलायनलाई रोक्न सीपयुक्त जनशक्ति उत्पादनमा लागेको भन्दै विश्वविद्यालयको भूमिका प्रशंसनीय रहेको बताएका थिए।

प्रधानमन्त्री देउवाले आगामी दिनमा मुलुकभित्र रहेको खनिज पदार्थ परिचालन, प्रशोधन तथा जलविद्युत् व्यवस्थापन र जलवायु न्यूनीकरण, जैविक वनस्पतीय जडीबुटीको खोज र अनुसन्धान क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक सामाजिक विकासमा थप टेवा पुरयाउन पनि विश्वविद्यालयलाई आग्रह गरे । अन्तर्राष्ट्रियस्तरमा पहुँच पुरयाउने काममा थप अग्रसर हुन पनि विश्वविद्यालयलाई आग्रह गरे ।

२७औँ दीक्षान्त समारोहमा दीक्षित छाेरीसँग पाेखराका व्यवसायी कविराज आचार्यकाे परिवार

समारोहमा यहाँबाट यस अवधिमा विभिन्न कार्यक्रमबाट दीक्षित भएका १ हजार ७१५ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । दीक्षित हुने विदेशी विद्यार्थीमध्ये भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्याण्ड र जर्मनी गरी ९ देशका १५७ जना छन् । सो विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले विश्वविद्यालयबाट ३८ हजार ३३६ जना उत्तीर्ण भएका जानकारी दिएका थिए।