सर्वाेच्चकाे निर्णय विपरीत अर्थमन्त्रीले भने : निजगढ विमानस्थल यसै वर्षबाट बन्छ

-



     सफल आवाज    
     जेठ २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ जेठ । अर्थमन्त्री जनार्दन शर्मा पौडेलले निजगढको अन्तराष्ट्रिय विमानस्थल यसै बर्षभित्र निर्माण शुरू गर्ने बताएका छन्।

वीरगन्ज उद्योग वाणिज्य संघको ४६ औँ बार्षिक साधारण सभालाई शनिबार वीरगन्जमा सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन्।

यसअघि सर्वोच्च अदालतले निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने आदेश जारी गरेको थियो।
अर्थमन्त्री शर्माले सो आदेश विपरित वक्तव्य दिएका हुन् ।

निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भनेर आफूले गएको १५ जेठमा प्रस्तुत गरेको बजेटमा पनि उल्लेख गरिएको तर्क गर्दै मन्त्री शर्माले भने,’यो विमानस्थल बन्छ, बनाउनै पर्छ ।’

उनले त्रिभुवन विमानस्थलको वैकल्पिक रुपमा मात्र नभएर मधेश र मुलुककै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ विमानस्थल चाहिएको बताए।

अर्थमन्त्री शर्माले निजगढ विमानस्थल र काठमाडौं–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको उल्लेख गरे।

‘मधेसलाई काठमाडौंसँग छोटो दुरीमा जोड्ने द्रुत मार्ग बनिरहेको छ। यसमा केवल गाडी मात्र कुदाउने होइन, सो द्रुत मार्गमा राष्ट्रिय–अन्तरराष्ट्रिय यात्रुहरुलाई पनि आवतजावत गराउने हो,’ उनले भने।

वीरगन्जका उद्योगी व्यवसायीहरुले निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल बन्नेमा शंका व्यक्त गरेपछि उनले आफ्नो सम्बोधनका क्रममा यस्तो बताएका हुन्।