सरकारको नीतिले स्वदेशी उद्योग मारमा, साढे ६ अर्बको ब्यवसायलाई असर पर्ने

-



     सफल आवाज    
     जेठ २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ जेठ । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बिस्कुट कम्पनीलाई तेल आयात गर्न दिँदा स्वदेशी उद्योगको ६ अर्ब ५० करोड रूपैयाँको व्यवसायमा असर पर्ने बताएको छ ।

नेपाली बिस्कुट कम्‍पनीले स्वदेशमा उत्पादित ६ अर्ब ५० करोड रुपैयाँ बराबरको तेल खरिद गरिरहेको र अब आयात पनि गर्न दिँदा त्यसको असर व्यवसायमा पर्ने व्यवसायीहरूले बताएका छन्  ।

संघका महासचिव अमित मोरलले बिस्कुटलाई तयारी तेल आयात गर्न ५ प्रतिशतको भन्सार महशुल लगाइएको भन्दै सरकारको यो निर्णय उपयुक्त नभएको बताए ।

उनले भने,’ ‘सरकारले तेल बनाउने कच्चापदार्थको भन्सार महशुल १० प्रतिशत बनाएको छ, बिस्कुटलाई तयारी तेल आयात गर्न ५ प्रतिशतको भन्सार महशुल लगाइएको छ। कच्चापदार्थभन्दा अन्तिम उत्पादनको भन्सार महशुल ५ प्रतिशत बढी बनाउने कसरी उपयुक्त हुन्छ ?’

सरकारले तेलको कच्चापदार्थको भन्सार महशुल नघटे सञ्चालनमा रहेका २२ र सञ्चालन हुने क्रममा रहेका ३ उद्योगको १ खर्ब लगानी जोखिममा पर्ने मोरको भनाइ छ।

घ्यू तेल उद्योगमा १५ हजारले प्रत्यक्ष रोजगार पाएकोमा सरकारको नीतिले १५ हजारको रोजगार जोखिममा परेको मोरको दाबी छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कच्चापदार्थमा लगाइएको भन्सार महसुल शून्यमा झार्नुपर्ने बताए ।

‘भन्सार महसुलका कारण हरेक सामग्री महङ्गो पर्दैै गएको अवस्था छ, यसप्रति सरकारले पुनः विचार गर्नुपर्छ,’ उनले भने।

नेपालमा उद्योग सञ्चालनका लागि जग्गा प्राप्तिदेखि अन्य धेरै समस्या रहेको भन्दै उनले सरकारले हाल ल्याएको नयाँ व्यवस्थाले नेपालका उद्योग सङ्कटमा पर्नसक्ने उल्लेख गरे।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले सरकारले घ्यू तेल र बिस्कुट उद्योगलाई बचाउने गरी राज्यले नीति लिनुपर्ने बताए ।

संघले सरकारको नीतिले उद्योग तथा मुलुकमा पर्न जाने प्रभावहरू समेत प्रस्तुत गरेको छ ।

उपभोक्ताहरुलाई प्रत्यक्ष रुपमा राहत दिनका लागी खाने तेलको महशुल दर कम गर्नुको सट्टा केहि उद्योगहरुलाई कम महशुल दरमा पाम र पामोलिन तेलको आयात गर्न दिने नितिले ‘ब्याकवार्ड इन्टिग्रेसन’मा आधारित स्वदेशी उद्योगहरुलाई मर्का पर्न गएको संघले जनाएको छ ।

यस्तै कच्चा पदार्थ भन्दा बढी मूल्यमा तयारी माल सामान आयात हुन्छ जसमा वहुमुल्य बिदेशी मुद्रा वढि मात्रामा विदेशिने संघको भनाइ छ ।

‘कच्चा पदार्थमा तिर्दै आएको १०% भंसार महसूल भन्दा तयारी सामानमा ५% महसूल तिर्दा सरकारको राजश्वमा गम्भिर असर पर्न जान्छ । साथै सरकारको स्थानिय उद्योगलाई वढावा दिने र तयारी वस्तु भन्दा कच्चा पदार्थको भन्सार १ तह कम हुने नितिको विरोधामाष समेत हो,’ संघले भनेको छ ।

संघका अनुसार कच्चा पदार्थ प्रशोधन गर्दा ‘बाइ प्रोडक्ट’को उत्पादन हुन्छ,जुन साबुन उद्योगको कच्चा पदार्थ हो । तयारी सामानको आयातमा बृद्धि हुँदा ‘बाई प्रोडक्ट’को उत्पादन न्यून हुन्छ र साबुन उद्योगले कच्चा पदार्थ आयातमा बृद्धि गर्नु पर्ने हुन्छ । यसबाट अतिरिक्त बहुमुल्य बिदेशी मुद्रा बिदेशीने क्रममा बृद्धि हुन्छ ।

संघले सरकारको नीतिका कारण अर्थतन्त्रमा भ्यालु एडिसन, ब्याकवार्ड इन्टिग्रेसन, रोजगारी, बिद्युत खपत, आयकर जस्ता अन्य सूचकहरुमा प्रत्यक्ष असर पर्न जाने बताएको छ ।