वाणिज्य बैंकहरूको निक्षेप २० अर्ब बढ्यो, कर्जा प्रवाह भने २ अर्बले घट्याे

-



     सफल आवाज    
     जेठ २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ जेठ । वाणिज्य बैंकहरूमा जेठ तेस्रो सातासम्ममा २० अर्ब रुपैयाँले निक्षेप बढेको छ । यस्तै कर्जा प्रवाह भने ५ अर्ब रुपैयाँ मात्रैले बढेको नेपाल बैंकर्स एसोसियसनले जनाएको छ ।

वैशाख मसान्तमा वाणिज्य बैंकहरुमा ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा जेठ २० सम्ममा ४३ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा वाणिज्य बैंकहरुले प्रवाह गरेको कर्जा ४१ खर्ब ९० अर्ब रूपैयाँबाट ४१ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकहरुमा जेठ लागेसँगै निक्षेप बढ्न थालेको देखिएको भएपनि पछिल्लो एक सातामा कर्जा प्रवाह भने घटेको छ ।१३ जेठदेखि २० जेठसम्मको अवधिमा वाणिज्य बैंकहरुले ७ अर्बले निक्षेप बढाउँदा कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले घटेको छ ।

वाणिज्य बैंकहरुले यो अवधिमा ४३ खर्ब ८३ अर्बबाट निक्षेप बढाएर ४३ खर्ब ९० अर्ब रुपैयाँ पुर्याएका छन् । एसोसिएसनका अनुसार बैंकहरूको गत सातासम्म निक्षेप कर्जा अनुपात (सीडी रेसियो) ९० दशमलव ३२ प्रतिशत भएको छ । गत सातासम्ममा बैंकहरूको कर्जा घटेपछि यस्तो भएको हो ।

गत साता बैंकहरूको कर्जा वितरण ४१ खर्ब ९६ अर्ब मात्र रहेको छ । अघिल्लो साता बैंकहरूबाट वितरण भएको कर्जा ४१ खर्ब ९८ अर्ब थियो । बैंकहरूले असारसम्ममा निक्षेप कर्जा अनुपता ९० प्रतिशतमा झार्नुपर्ने निर्देशन राष्ट्र बैंकले दिइसकेको छ ।

नेपाल राष्ट्र बैंकले भने सोमबारसम्ममा निक्षेप कर्जा अनुपात ९० प्रतिशतभन्दा कम रहेको तथ्यांक प्रस्तुत गरेको छ । आइतबार ८९ दशमलव ९९ प्रतिशत सीडी रेसियो रहेकोमा सोमबार ८९ दशमलव ९४ प्रतिशतमा झरेको छ ।

राष्ट्र बैंकले आइतबारको तुलनामा सोमबार ६ अर्ब रुपैयाँ वाणिज्य बैंकहरूमा निक्षेप थपेको उल्लेख गरेको छ । आइतबार ४३ खर्ब ८७ अर्ब निक्षेप रहेकोमा सोमबार ४३ खर्ब ९३ अर्ब पुगेको छ ।

राष्ट्र बैंकका अनुसार सोमबार सबैजसो वित्तीय संस्थाहरूमा भने कुल निक्षेप ४९ खर्ब ७३ अर्ब पुगेको छ । आइतबारसम्म ४९ खर्ब ६७ अर्ब निक्षेप पुगेको थियो । अरू वित्तीय संस्थाहरूमा ५ खर्ब ८० अर्ब निक्षेप पुगेको छ ।

कर्जा पनि आइतबारभन्दा सोमबार ४ अर्ब बढेको छ । कर्जा ४७ खर्ब २० अर्बबाट ४७ खर्ब २४ अर्ब पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार सोमबारसम्ममा वाणिज्य बैंकहरूबाट ४१ खर्ब ९२ अर्ब कर्जा वितरण भइसकेको छ । आइतबारसम्म ४१ खर्ब ८९ अर्ब थियो ।